ओमानमा नेपाली दुतावास भवन निर्माण हुने «

ओमानमा नेपाली दुतावास भवन निर्माण हुने

नेपाली राजदुतावास र कर्मचारीका लागि आवासीय भवन निर्माण गर्ने सन्दर्भमा नेपाल र ओमान सरकारबीच जग्गा प्राप्ति सम्झौतामा हस्ताक्षर भएको छ ।
ओमानको परराष्ट्र मन्त्रालयमा मगलबार एक हस्ताक्षर कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो । नेपाली दुतावास भएका देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दुतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको हो । ओमानका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव एवम प्रशासन तथा लेखा प्रमुख मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबी र नेपालका तर्फबाट ओमानका लागि नेपाली राजदुत सर्मिला पराजुली ढकालले गरेका छन् । उक्त सम्झौता अनुरूप ओमानको कुटनीतिक हाताभित्र ४ हजार १०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ ।
हस्ताक्षर कार्यक्रम पश्चात् भएको भेटमा मोहम्मद विन नासिरले नेपाललगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताएका छन् ।
भेटमा ओमानको तर्फबाट नेपाल र ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानु पर्ने धारणा राखेका थिए । खाडी क्षेत्रमा ओमानको आफ्नै छुट्टै पहिचान र अस्तित्व रहँदै आएको छ । क्षेत्रीय शान्ति र विकासमा ओमानको भूमिकाको विश्वले सराहना गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्