महिला हिंसाविरुद्ध जागे महिला

कालिञ्चोक गाउँपालिका–१ बेगुम्पाकी बुधमाया थामी उमेरले ४५ पुगिन् । तर उनको अनुहार र ज्यान हेर्दा ६० वर्षकी जस्ती देखिन्छिन् । ४५ को उमेरमा उनका ७ वटा छोराछोरी छन् ।उनका छोराछोरी मध्ये ४ जना भारी बोकेरै ज्यान पाल्छन् । साना ३ वटा स्कुल जान्छन् । परिवार नियोजन गर्दा देउता रिसाउँछन् भन्दा आफ्ना यति धेरै सन्तान भएको उनले बताइन् । “हाम्रो गाउँमा त ७-८ जना सन्तान नभएको त परिवार नै हुँदैनन्,” उनले भनिन्, “परिवार नियोजनका कुरा गर्दा पुरुष मान्दैनन् महिलाले मात्र नहुँदो रहेछ ।”सन्तान पनि लालनपालन गर्न सक्ने मात्र जन्माउनु पर्छ भन्ने बल्ल बुझ्न थालेको स्थानीय महिलाहरू बताउँछन् । आफूले त दुःख पनि पाइयो, अबका नव जोडीहरूलाई परिवार नियोजनका साधनका बारेमा स्वास्थ्य चौकीमा पठाउन थालेको सोही ठाउँकी अर्की महिला सावित्री थामीले बताइन् ।
संसारभर १६ दिने महिला हिंसाविरुद्धको अभियान चलिरहेको बेला कालिञ्चोकमा पनि यसपालि महिलाहरू भेला भएर दिवस मनाए । स्थानीय आमा समूह र महिला समूहको आयोजनामा गाउँभरिका महिलाहरू भेला भए । “महिलाहरूमा शारीरिक याताना, गाली गलौजले पनि हिंसा हुँदो रहेछ,” बेगुम्पाकै सर्किनी थामीले भनिन्, “अब हाम्रो गाउँमा यस्ता हिंसाबाट टाढा रहने कोसिस गर्छाैं ।”
१६ दिने महिला हिंसाविरुद्धको अभियान बनाउँदा कालिञ्चोकमा लोक दोहोरी, नाटक, र्यालीसमेत गरेर मनाए । “सहरतिर यस्ता दिवस मनाउँथे होलान् हाम्रो दुर्गममा पनि मनाउँ भनेर मनाएका हौं,” उनले भनिन् ।
कालिञ्चोक गाउँपालिका–१ का वडा अध्यक्ष बाबुलाल थामीले महिला हिंसा आफ्नो वडाभित्र हुन नदिने प्रतिबद्धता गरे । “विगतमा जानी नजानी यहाँ हिंसा हुन्थ्यो,” उनले भने, “अब यहाँका मान्छे पनि कुरा बुझ्न थालेका छन्, महिलाको सम्मान हुन्छ ।” गाउँका बालबालिका सबै विद्यालय पठाउन र बीचैमा विद्यालय छाड्ने प्रवृत्तिको आफूले अन्त्य गर्ने बताए ।
महिला बालबालिका र पुनर्निर्माणको क्षेत्रमा कालिञ्चोकमा बसेर २ वर्षदेखि काम गर्दै आएका नाम्सालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक राजन केसीले विगतमा भन्दा अहिले परिवर्तन देखेको बताए । सरसफाइ, चेतनास्तरमा कालिञ्चोकमा विगतभन्दा अहिले बढ्दो अवस्थामा रहेको उनको बुझाइ छ ।
८० प्रतिशतभन्दा बढी थामी जातिको बसोबास रहेको कालिञ्चोकमा हरेक सामाजिक काममा एक जुट हुने र सहयोगी भावना रहेको उनले बताए । एक जुट हुने र खबर गरेका बेला समयमै उपस्थित हुने हुँदा आफूलाई यहाँ काम गर्न पनि सजिलो भएको उनले बताए ।
कालिञ्चोक गाउँ प्रसिद्ध कालिञ्चोक मन्दिरको नामबाट नामकरण गरे तापनि मन्दिरभन्दा तल रहेको गाउँ भने जिल्लाकै दुर्गम गाउँमा पर्दछ । सदरमुकाम चरिकोटबाट मन्दिर पुग्न गाडीमा एक घण्टा लाग्छ भने गाउँ पुग्न ४ घण्टाभन्दा बढी लाग्छ । महिला सशक्तीकरणका लागि समेत स्थानीयस्तरमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न काम भइरहेका छन् ।
महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय अभियान मनाउँदै कालिञ्चोकका महिला ।
दिलबहादुर केसी