४ हजारको जग्गा पास गर्न २ हजार राजस्व «

४ हजारको जग्गा पास गर्न २ हजार राजस्व

इलामको माई नगरपालिकाले ४ हजारको जग्गा पास गर्न २ हजार राजस्व लिएको पुष्टि भएको छ । नगरपालिका वडा नम्वर ९ को कार्यालयले चार आना एक पैसा तीन दाम जग्गा खरिद बिक्री गर्नका लागि २ हजार राजस्व लिएको पुष्टि भएको हो । माई नगरपलिका वडा नम्वर ३ का दिलबहादुर राईसँग रजिष्ट्रेशन पासका लागि नगरपालिकाले घरबाटो सिफारिसका लागि भन्दै सो रकम असुलेको हो ।
यता प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइँको नेतृत्वमा रहेको जग्गा न्यूनतम मूल्यांकन पुस्तिकामा सो स्थानको जग्गाको मूल्य नै १६ हजार पाँच सय तोकिएको छ । तर दिलबहादुरले ४ आना जग्गाकै खरिद बिक्री बापत २ हजार राजस्व तिर्नु परेपछि स्थानीय तहले जनताबाट पूरा सम्पतिको आधा रकम त करकै रुपमा उठाउने गरेको प्रमाण बाहिर आएको छ ।
माई नगरपालिका ९ मा रहेको जग्गाको किसिम (पाखातर्फ) भएको उल्लेख गरिएको छ । त्यति मात्र नभइ नगरपालिकाले मालपोत कर भनेर छुट्टै समेत रकम उठाएको छ । वडा नम्वर ९ कै कार्यालयले चालु मालपोत र जरिमानासहित ३ सय ७० समेत उठाएको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकले तोकेबमोजिम काम नभएपछि स्थानीय असन्तुष्ट भएका छन् । सरकारी निर्णयको धज्जी उडाउँदै सो नगरपालिकाले नगरबासीसँग बढी रकम असुलेको पाइएको छ । यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिननाथ लम्सालले भने यस्तो हुन नसक्ने बताए । उनले माई नगरपालिकाले जग्गा खरिद बिक्रीका लागि यसरी बिल काट्न नमिल्ने बताए । नौ नम्वर वडाका वडाध्यक्ष लिलाकुमार राईले नगरसभाले पास गरेर वडाले लिएको बताए । उनले नगरसभामा आफू जान नसकेका कारण धेरै कुरा बुझ्न बाँकी रहेको बताए । उनले अर्कै शिर्षकमा काट्नु पर्ने बिल फरक शिर्षकमा काटिएको हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्