जाडो मौसममा पर्यटन गतिविधि

जाडो मौसममा पर्यटक आगमन विगतमा ठप्प हुने गरेको थियो । पछिल्लो समय भने विदेशी पर्यटक आउने क्रममा केही सुधार आउनुका साथै आन्तरिक पर्यटकले जाडो याममा पर्यटन गन्तव्यहरूमा रौनक बढाइरहेका छन् ।
पर्यटन मेला तथा गतिविधिले पनि जाडो मौसममा पर्यटनका सम्भावना जोड्दै लगेको पाइन्छ । जाडो पर्यटनमा सेवाको विशिष्टता र गुणस्तरा बढेसँगै विविधता थपिँदै गएको पाइन्छ । जाडो मौसमलाई विगतका वर्षमा जस्तो पर्यटनको बेमौसम भन्ने परम्परा पछिल्लो समय विस्तारै तोडिँदै गएको छ ।
प्राकृतिक सौन्दर्यमा रमाउने, सांस्कृतिक अनुभव सँगाल्ने र साहसिक गतिविधिमा संलग्न हुने सीमितताबाट पर्यटन र पर्यटकीय गतिविधि धेरै फराकिलो भएको छ । सम्भावना देखेर नै हुनसक्छ, पछिल्लो सयम पर्यटन व्यवसायीदेखि सरकारी संस्थाहरूले जाडो मौसमलाई केन्द्रित विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएका छन ।
नेपालको पर्यटन खासगरी असोज, कात्तिक र मंसिर तथा मध्य फागुन चैत, वैशाख र जेठमा हुने गतिविधिले धान्दै आएको छ । पछिल्लो समयको चर्चा गर्दा जाडो याम पनि विशेष पर्यटन मौसम बन्दै गएको छ । “नेपालको पर्यटनमा अब समय परिवर्तन भएको छ, प्रवद्र्धन गर्न सकेमा पर्यटन मौसम भनेर कुर्नु पर्दैन,” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी भने ।
पर्यटनमा संलग्न हुने धेरैजसो खर्चयोग्य आम्दानी र घुम्न समय भएकाहरू नै हुन् । त्यसभित्र सरकारी, गैरसरकारी, वित्तीय, व्यापारिक तथा अन्य संस्थामा कार्यरत कर्मचारी, उद्योगी, व्यवसायी, व्यापारी र पेसाकर्मी पर्दछन् ।
विशेषतः जाडो मौसम व्यापार व्यवसायका हिसाबले सुस्त समय हो । त्यसो हुँदा स्वभावैले ती संस्थामा कार्यरत कर्मचारीमाथि चाप कम हुन जान्छ । त्यसैले यस क्षेत्रका सम्बन्धितलाई घुम्न जाने समय मिल्छ । जाडोको समय राजधानीलगायत चिसो पहाडी ठाउँका स्कुले बच्चादेखि कलेजका विद्यार्थीसम्म र शिक्षक–शिक्षिकादेखि प्राध्यापकसम्मले लामो समय जाडो बिदा पाउँछन् ।
विद्यार्थीहरू समूह बनाई घुमघाममा निस्कन्छन् । बच्चाबच्ची बाबु–आमालाई घुमाउन जोड गर्छन् । धेरैजसो सरकारी र ‘क’ वर्गका वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई सरकारले ‘पे लिभ’को व्यवस्था गरेकाले सपरिवार घुम्न जान जाडो मौसमले प्राथमिकता पाउँछ । जाडोको समयमा मास प्याकेज दिएर आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई नेपालका विभिन्न गन्तव्यमा लैजान सकिने जोशी बताउँछन् । युरोप र अमेरिकी देशमा यो समय अत्यन्त जाडो हुने, घरबाट हिउँले सेताम्मे हुने, घाम महिनौ नदेखिने र जीवन कष्टकर हुने हुन्छ । त्यसैले त्यता बसोबास गरिरहेका गैरआवासीय नेपाली पनि त्यहाँको जाडो छल्न नेपाल आउँछन् । उनीहरू परिवार वा साथीको समूह बनाई घुम्न निस्कन्छन् ।
“नेपाल खासमा पर्यटन सिजन भन्ने नै नहनुपर्ने हो, तर प्रवद्र्धन गर्नमा हामी चुकेकाले समस्या भएको हो,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यले भने । जाडोमा सोही अनुसार, गर्मीमा सोही अनुसारका प्रवद्र्धनमा जोड दिन सकेमा नेपालमा सदाबहार मौसम पर्यटन हुने आचार्यको बुझाइ छ ।
जाडोमा संसारभर भव्य रूपमा मनाइने क्रिसमस र अंग्रेजी नयाँ वर्ष पर्छन् । नेपालमा पनि अचेल भव्य रूपमा मनाइन्छ । सांस्कृतिक विविधताले भरिएको नेपालमा थारु समुदायको नयाँ वर्ष माघी, हिन्दूको माघे संक्रान्ति, शेर्पाको सोनम ल्होसारजस्ता चाड जाडो मौसममा मनाइन्छ । माघी महोत्सव तराईका थारु बस्तीमा मनाइन्छ । चितवन र बर्दिया उत्कृष्ट गन्तव्य हुन सक्छन् जाडोमा घुम्न । अंग्रेजी नयाँ वर्ष आगमनका बेला पोखरामा हुने सडक महोत्सव नेपालमा हुने सबैभन्दा भव्य महोत्सव हो, यस मौसमको । त्यसैगरी बर्दियामा हुने हात्ती पोलो र सौराहामा हुने हात्ती महोत्सव अर्को विशिष्ट पर्यटकीय गतिविधि हो । जाडोमा पसिना नआउने भएकाले साइक्लिङ पनि नयाँ र विशिष्ट गतिविधि हो, स्वास्थ्य र पर्यटन दुवैका हिसाबले । काठमाडौं उपत्यका वरपर शिवपुरी, कीर्तिपुर, चोभार, दक्षिणकाली, साँखु, नगरकोट, चाँगु, लाकुरी भञ्ज्याङ, हात्तीवन, पोखरा वरपर र धुलिखेलजस्ता ठाउँमा साइक्लिङ गर्न सकिन्छ ।
अचेल होमस्टे (घरबास) पर्यटनमा पनि चहलपहल हुन थालेको छ । होमस्टे नयाँ संस्कृति, नयाँ घरबास, नयाँ खानपिन, नयाँ पारिवारिक वातावरण अनुभव गर्न पाइने उत्कृष्ट र ज्ञानवद्र्धक पर्यटकीय गतिविधि हो । मंसिरमा ठड्याइएका परालका थाकमा खेल्न, आगोमा भुटेको मकै र पोलेको आलु र शखरखण्ड खान बालबालिका धेरै रमाउँछन् । तराईमा शीतलहर सुरु हुने, घाम नदेखिने र चिसो बढ्ने हुँदा पारिलो घामको मज्जा लिँदै आराम गर्न र रमाउन सकिन्छ मध्य पहाडी क्षेत्रमा ।
डडेल्धुरा, सुर्खेत, दाङ, पाल्पा, पोखरा, बन्दीपुर, गोर्खा, काठमाडौं, दोलखा, जिरी, सिन्धुली, धरान, धनकुटा, इलाम आदि क्षेत्रमा जाडो मौसममा पनि पारिलो घामको मज्जा लिन सकिन्छ । सनबास्किङका रूपमा पश्चिमाले गर्ने एक मुख्य पर्यटकीय गतिविधि हो घाम ताप्दै आराम गर्नु ।
जाडोमा हिउँमा खेल्न पाइन्छ । अलिअलि पानी पर्दा उच्च पहाडी क्षेत्रमा सेता हिउँका डल्ला खेल्दै रमाउन सकिन्छ । डडेल्धुरा, खप्तड, रारा, डोल्पा, मुस्ताङ, मनाङ, लमजुङ, माथिल्लो गोर्खा, दामन, रसुवा, फुल्चोकी, दोलखा, सगरमाथा, ताप्लेजुङजस्ता क्षेत्रमा हिउँको मज्जा लिन सकिन्छ ।
कहाँ–कहाँ घुम्ने ?
काठमाडौं वरपर नगरकोट, धुलिखेल, लाकुरी भञ्ज्याङ, फुल्चोकी, सुन्दरीजल, शिवपुरी, ककनी, थानकोट, खोकना र बुङमती, साँखु र चाँगु, कीर्तिपुर, चम्पादेवी, चोभार, दक्षिणकाली आदि । पोखरावरपर, ढोरपाटन, चितवन, बर्दिया, इलाम, कोशी टप्पु, धरान, धनकुटा, जनकपुर, दोलखा, जिरी, दामन, बन्दीपुर, गोरखा, पाल्पा, लुम्बिनी, दाङ, बर्दिया, सुर्खेत, खप्तड, डडेल्धुरा, शुक्लाफाँटा आदि ।
के–के गर्न सकिन्छ ?
साइक्लिङ, हाइकिङ, भिलेज टुर, जंगल सफारी, स्नो वाक, क्याम्प फायर पार्टी, धार्मिक यात्रा, सन बास्किङ, होमस्टे आदि
खानेकुरा
सुप र तातो झोल पदार्थ, मकै, अन्डा र मासु, गेडागुडी, रोटी, दूध, मौसमी फलफूल आदि
के लगाउने ?
कटनको भित्री लुगा (थर्मकोट आदि), हाइनेक, स्वेटर र ज्याकेट, टोपी र गलबन्दी, जुत्ता र बाक्लो मोजा, हिउँ पर्ने ठाउँ भए लामकाने टोपी र पञ्जा, कालो चस्मा आदि
के लैजाने ?
टाउको दुखेको, पेट दुखेको, ज्वरो, रुघाखोकीको औषधि, टर्च लाइट, स्क्रयाप ब्यान्डेज, बदाम वा अन्य सुख्खा फलफूल, पानी तातो रहने भाँडा (थर्मस, मेगास्लिम बोटल आदि), कोल्ड क्रिम, क्यामेरा र मोबाइल, धेरै जाडो हुने गन्तव्य भए स्लिपिङ ब्याग, बाक्लो सल र यी सबै सामान अट्ने एउटा बलियो र बोक्न सजिलो झोला ।
ध्यान दिनुस्
पहाडी क्षेत्रमा हवाई यात्रा गर्नुहुन्छ भने फर्कनका लागि वैकल्पिक बाटोबारे पनि विचार पुर्याउनुस् । अन्यथा मौसम गडबडी भई फ्लाइट नहुँदा गाह्रो हुन सक्छ ।
स्वास्थ्यको हेरविचार गर्नुस्
आरामदायी सुताइ र गुणस्तरीय खानपिनमा जोड दिनुस् । बच्चाबच्चीलाई चिसोबाट बचाउनुस् ।
जान लागेको गन्तव्यमा औषधि–उपचार वा स्वास्थ्य चौकीको व्यवस्थाबारे जानकारी राख्नुस् ।
आफैं गाडी हाँकेर जाने हो भने कुहिरो र हुस्सु लागेको समयमा ध्यानपूर्वक चलाउनुस् ।
मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउनुस् ।
स्थानीय मदिरा वा अन्य मादक पदार्थ सेवन गर्दा त्यसको गुणस्तर र असरबारे हेक्का राख्नुस् ।
जाने र सुनेका कुराबारे नयाँ–ठाउँमा ज्ञान फिँजाएर चेतना फैलाउन सहयोग पु¥याई उत्तरदायी पर्यटकको पहिचान दिनुस् ।