अट्वारी पर्वमा सुनसान थारु बस्ती «

अट्वारी पर्वमा सुनसान थारु बस्ती

चन्द्रकान्त जोशी
महेन्द्रनगर
-सांस्कृतिक तथा धार्मिक रूपले रीतिरिवाजको महत्व बोकेको थारु समुदायको अट्वारी पर्व सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश तथा अन्य नेपालको पश्चिम क्षेत्रमा बसोबास गर्ने थारु समुदायको घरघरमा मनाइने माघी पछिको ठूलो पर्व अट्वारी सकिएको छ । विशेषगरी कैलाली र कञ्चनपुरका थारु समुदायले मनाउने अट्वारी पर्व भाद्र शुक्लपक्षको पहिलो आइतबार अर्थात् श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी वर्त बस्ने परम्परा अनुसार थारु समुदायको अट्वारी पर्व सोमबार सकिएको हो । दुई दिनसम्म मनाइने अट्वारी पर्वमा थारु समुदायको महिलाहरूले हिन्दू नारीहरूले मनाउने हरितालिका तिजपछिको शनिबार राती दर (भिन्सर्या) ग्रहण (खाएर) थारु समुदायले विधि सम्मत अट्वारी पर्वको पूजा गर्ने गर्छन् ।
अट्वारी पर्वलाई थारु समुदायले विभिन्न पूजा विधि अपनाएर व्रत बसेर मनाउने गर्दछन् । प्रत्येक वर्ष थारु समुदायले अट्वारीलाई भव्यताका साथ मनाउने गरेको भए पनि यस वर्ष कोरोना भाइरसका कारण सुनसानको अट्वारी वर्षजस्तै भएको छ । हरेक वर्ष थारु समुदायका लागि माघिपछिको दोस्रो ठूलो चाड पर्व भएपनि कोरोना महामारीले गर्दा अट्वारी अस्त–व्यस्थ जस्तै भएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाकफाँटाका थारु अगुवा रामप्रसाद डगौराले बताए ।
“म बाल्यावस्थामै थिएँ, घरमा माघिपछिको महान पर्व भनेर मनाइन्थ्यो, अहिले आएर उमेरले पनि झण्डै ७० वर्षको बूढो भएको छु,” रामप्रसाद डगौराले भने, “यसपालिको वर्षमा भने अट्वारी पर्वलाई धुमधामका साथ मनाउने थारु बस्तीमा सुनसान जस्तै भएको छ ।” कोरोनाले गर्दा अट्वारी पर्व मनाउन आफन्त पनि आ–आफ्नो घरमै रहँदा पर्व नै खल्लो भएको उनले बताए ।
कोरोना संक्रमण वढिरहेका बेला जिल्लाभर निषेधाज्ञा जारी गरिएपछि थारु समुदायमा मनाउने अट्वारी पर्वको रौनकता नआइक नै सकिएको छ । लामो समयदेखि अट्वारी पर्वमा झोमिने थारु समुदायलाई भने कोरोनाले गर्दा पर्व मनाउन नपाउँदा निराशा जस्तै भएको छ । द्वापरयुगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन छ । यस्तै सोमबार पनि पूजा गरिएको फलफूललगायत अन्य खानेकुरालाई बहिनीको घरमा लगेर दिने र रमाइलो नाचगान गर्ने प्रचलन रहेको छ । यसैगरी अट्वारीको दोस्रो दिन सोमबार आएर पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइधुवाई पूजापाठ गर्ने गर्छन । पुजापाठपछि व्रतालुले आफ्नो खानाको परिकारबाट आधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन छ । सोमबार बिहानको भोजनलाई थारु भाषमा ‘फ्राहार’ भनिन्छ ।
अट्वारी पर्वमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएकोमा थारु समुदायमा खुसी छाएको छ । थारु संस्कृतिलाई सरकारले पहिचान गर्न सघाएको भन्दै अट्वारी पर्र्वको विशेषता अझ बलियो भएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित बाकफाँटाका कुशल चौधरीले बताए ।
“हिजोका दिनमा थारु समुदायको रीतिरिवाज पहिचानमा ल्याउन पनि निकै गाह्रो थियो, युवा पिडिमा पनि संस्कृति जर्गेना गर्नुपर्छ भन्ने ज्ञान बढेको छ,” कुशल चौधरीले भने, “थारु समुदायको लोप हँुदै गएको संस्ृकतिमध्ये अट्वारी पर्व पनि एक हो, सुदूरपश्चिम सरकारले सार्वजनिक बिदा दियो त्यसमा समुदायको नै आभार प्रकट गर्दछ ।” सुदूरपश्चिम प्रदेशजस्तै थारु समुदायको बसोबास भएको प्रदेशहरूमा पनि अट्वारी पर्वको दिन सार्वजनिक बिदा दिनुपर्ने उनले बताए । अट्वारी पर्वमा थारु समुदायको दाजुभाइहरूले दिदीबहिनीहरूको रक्षाको कामना गर्दै पानीसमेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने प्रचलन छ । परम्परागत रूपमा मनाइँदै आएको पर्व आइतबारको दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको विस्वास छ ।

प्रतिक्रिया दिनुहोस्