निषेधाज्ञामा सेयर बजार «

निषेधाज्ञामा सेयर बजार

गत सातामात्र तीन कम्पनीको आईपीओ आउँदा पनि दोस्रो बजारमा त्यसको शून्य असर देखिनुलाई बजार परिपक्व हुँदै गएको मान्न सकिन्छ ।

मुलुकको अर्थतन्त्र केही महिनायता सुस्त छ भने पछिल्लो समय कोरोनाभाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण पूर्णतः ठप्प अवस्थामा छ । अत्यावश्यकीय सेवा सीमित समयका लागि सञ्चालनमा आउँदा दैनिक जीवनयापन केही सहज भए पनि यसबाट अर्थतन्त्रलाई भरथेग हुने अवस्था नै छैन । यस्तो बेला अर्थतन्त्रका सबै क्षेत्र शिथिल छन् । एकातर्फ सरकारको नीतिका कारण मानिस घरबाट बाहिर निस्कनसक्ने अवस्था छैन भने अर्कोतर्फ आम मनोविज्ञान पनि त्रसित अवस्थामा छ । तर, मुलुकको एकमात्र पुँजी बजारमा भने यो जटिल अवस्थामा पनि रहस्यमय ढंगले बहार आएको देखिन्छ ।
अर्थतन्त्र साँघुरिँदै गएको, आर्थिक वृद्धिदर सुस्त रहेको र भोलिको अनिश्चितता झनै बढेर गएको अवस्थामा पनि सेयर बजारमा उच्च कारोबार हुनु र बजार परिसूचक पनि बढ्नु आफैंमा आश्चर्यजनक देखिन्छ । सोमबार मात्र पनि २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसअघि कोरोना त्रासदीकै बीच गत साउन ५ मा दुई अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको थियो भने भदौ ८ मा सेयर बजारमा कारोबारले दुई अर्बको आँकडा पार गरेको छ । सोमबार दुई अर्ब १३ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच हुँदा नेप्से परिसूचक पनि अघिल्लो दिनभन्दा २१.२६ ले वृद्धि भएर १४३१.६० मा उक्लिएको छ ।
कोरोना संकटमा पनि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पुँजी बजारमा यसरी बहार आउनुलाई राम्रै मान्न सकिए पनि यो वृद्धि कत्तिको दिगो छ भन्नेमा भने शंका छ । खासगरी कोरोनाभाइरस संक्रमण बढेसँगै लगानीका अन्य क्षेत्र तथा विकल्पहरू साँघुरिँदै गएका छन् र घरमै बसेर व्यवसाय गर्ने अवसर निकै कममात्र छन् । त्यसैले अनलाइनबाटै सेयर किनबेचको सुविधासमेत रहेकाले लगानीकर्ता सेयर किनबेचमा केन्द्रित भएको देखिन्छ । यसलाई भने सकारात्मक मान्न सकिन्छ । अनलाइन कारोबारको आधार तयार गर्ने धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई यसका लागि धन्यवाद दिनैपर्छ ।
भदौयता सेयर बजार वृद्धिको मौसम हो । पुँजी बजारमा हावी रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाको वार्षिक वित्तीय विवरण सार्वजनिक हुने र त्यसको आधारमा लाभांश अनुमान गरेर लगानी गर्ने परम्परा रहिआएको छ । तर, यस वर्ष वित्तीय संस्थाको वासलात त्यति सुखद् छैन र लाभांश क्षमता पनि घटेको अवस्था छ । व्यवसायका अन्य क्षेत्र खुद् नोक्सानीमा जाँदा वित्तीय क्षेत्रको नाफा घट्नुलाई खराब अवस्थाको सूचक मान्न सकिँदैन । ति संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषण सुरु नगर्दै सेयर बजारमा उत्साह देखिनुलाई भने लगानीकर्ताको दृढ मनोबलसँगै कतिपयको सेयर मूल्य म्यानुपुलेट गरेर बाहिरिने नियत पनि नहोला भन्न सकिँदैन । यसैले लगानीकर्ता विशेष रुपमा सजग हुनुपर्ने अवस्था छ ।
विगतमा सामान्यतया कुनै पनि कम्पनीको साधारण सेयर (आईपीओ) बजारमा आउँदा दोस्रो बजार प्रत्यक्ष प्रभावित हुन्थ्यो । आम लगानीकर्ताले दोस्रो बजारको सेयर बिक्री गरेर आईपीओ भर्ने गर्दथे । तर, पछिल्लो समय त्यो प्रवृत्ति फेरिएको छ । गत सातामात्र तीन कम्पनीको आईपीओ आउँदा पनि दोस्रो बजारमा त्यसको शून्य असर देखिनुलाई बजार परिपक्व हुँदै गएको मान्न सकिन्छ । यसरी हेर्दा पुँजी बजारले निराशाका बिच पनि केही आशा देखाएको छ । तर, यो कतिञ्जेल रहन्छ भन्नेचाहिँ अनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस्