ग्यासको खपत बढ्दै «

ग्यासको खपत बढ्दै

चिसो मौसम सुरु भएसँगै खाना पकाउने एलपी ग्यासको खपत बढ्दै गएको छ । अन्य समयको तुलनामा चिसा मौसममा ग्यासको माग धेरै हुने गरेकाले खपत बढ्दै गएको हो । बजारमा ग्यासको खपत बढेसँगै आयात पनि बढ्दै गएको नेपाल आयल निगमको भनाई छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले चिसो मौसममा ग्यासको खपत १० देखि १५ प्रतिशतले बढ्दै जाने गरेको बताए । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म ग्यासको प्रयोग बढ्दै गएकाले पनि बर्सेनि ग्यासको खपत बढ्दै गएको उनले जानकारी दिए ।
उपत्यकामा लोडसेडिङ अन्त भए पनि खाना पकाउने एलपी ग्यासको आयात भने क्रमिक रूपमा बढ्दै गएको छ । निगमको तथ्यांकअनुसार अगस्टमा २६ हजार ३५ टन आयात भएको ग्यास नोभेम्बरमा ४२ हजार ७७ टन आयात भएकोे छ । ग्यास उद्योगी शिवप्रसाद घिमिरेले बर्सेनि १५ देखि २० प्रतिशतका दरले ग्यासको खपत बढ्दै गएको बताए । बिजुलीभन्दा पनि सस्तो पर्ने र प्रयोग गर्न सहज हुने हुँदा ग्यासको खपत बढ्दै गएको उनको भनाइ छ । ग्यासको मासिक कोटा ३० हजार टन छ । निगमको तथ्यांकअनुसार १० वर्षको अवधिमा ग्यासको खपत २ लाख टनले वृद्धि भएको छ । आर्थिक वर्ष ०६४-६५ मा ९३ हजार ८ सय ३७ टन ग्यास आयात भएको थियो । आर्थिक वर्ष ०७३-७४ सम्म आइपुग्दा २ लाख ९४ हजार टन पुगेको छ ।
नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष ०७१-७२ मा २ लाख ५९ हजार ९ सय टन ग्यास आयात भएकोमा आव ०७३-७४ मा आएर ३ लाख १४ हजार ८ सय टन आयात भएको छ । आर्थिक वर्ष ०७२-७३ मा भारतले गरेको नाकाबन्दीका कारण २ लाख १७ हजार टन ग्यास आयात भएको थियो । निगमका अनुसार गएको वर्ष खाना ग्यास आयात गर्न १९ अर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ ।
अत्यावश्यक वस्तुको रूपमा रहेको ग्यासको खपत बढ्दै गएकाले पनि आयातदर बर्सेनि बढ्दै गएको हो । निगमका अनुसार आर्थिक वर्ष २०७३-७४ मा १९ अर्ब ४८ करोड ९७ लाख ८८ हजार रुपैयाँबराबरको ३ लाख १४ हजार ८ सय ५ टन ग्यास आयात भएको छ । छिमेकी मुलुक भारतबाट खाना पकाउने ग्यास आयात हुनेगर्छ । निगमका अनुसार आव ०७२-७३ नाकाबन्दीको कारणले १२ अर्ब ९० करोड ३९ लाख २४ हजार रुपैयाँको २ लाख १७ हजार ५ सय ५८ टन ग्यास आयात भएको थियो ।
मुलुकमा पर्याप्त विजुली उत्पादन गर्न सके ग्यासको आयात घटाउन सक्ने सम्भावना भए पनि विजुली उत्पादन नहुँदा ग्यासको खपत बढ्दै गएको विज्ञको भनाइ छ । निजी व्यवसायीले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात गर्दै आएका छन् । निगमका अनुसार आर्थिक वर्ष ०७१-७२ मा २१ अर्ब ६१ करोड ३५ लाख ९ हजार रुपैयाँ बराबरको २ लाख ५९ हजार ९ सय १ टन ग्यास आयात भएको थियो ।
त्यस्तै आव ०७०-७१ मा २६ अर्ब ६ करोड ९१ लाख हजार रुपैयाँबराबरको २ लाख ३३ हजार १ सय ६१ टन आयात भएको छ । निगमका अनुसार ०६९-७० मा २० अर्ब ९० करोड ६७ लाख ३ हजार रुपैयाँको २ लाख ७ हजार ५ सय ९३ टन ग्यास आयात भएको थियो । आर्थिक वर्ष २०६८-६९ मा १६ अर्ब ९७ करोड ७ लाख ८ हजार रुपैयाँ बराबरको १ लाख ८१ हजार टन ग्यास आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्