कपडा बेच्न छोडेर किवी खेतीमा श्रीकृष्ण «

कपडा बेच्न छोडेर किवी खेतीमा श्रीकृष्ण

धादिङ-१३ वर्षसम्म मिटरले नापेको कपडा व्यापार गरेका श्रीकृष्ण अधिकारी धादिङमा पहिलो किवी कृषक बनेका छन् । ‘व्यापार गर्न त जोडघटाउ जान्ने जो कोहीले पनि गर्न सक्छ । पढेलेखेकाले कृषि नगरे कसरी समृद्धि आउला’ भन्ने लागेर २०७२ सालबाट कृषिकर्म सुरु गरेको अधिकारीले बताए । “कृषि, जलश्रोत र पर्यटनबाट नै आर्थिक समृद्धि ल्याउन सकिने भएकाले कृषिकर्म रोजेको हुँ” उनले भने, “कृषि कर्ममा लाग्नु पूर्व गरेको अध्यायनबाट फलफूलमा सम्भावना देखेँ ।” त्यसमा पनि नेपालको हावापानी सुहाउँदो र माग पनि राम्रै रहेकाले मेरो रोजाइमा किवी खेती सुरु गरेको अधिकारीले बताए ।
युटुवमा हेरेर किवी खेतीको बारेमा अध्यायन गरेका अधिकारीले नीलकण्ठ नगरपालिका–१ काउलेमा २० रोपनी जग्गा भाडामा लिएर २०७२ सालमा तीन सय १० बिरुवा किवी सारेका हुन् । समुन्द्रि सतहबाट एक हजार चार सय ५० मिटरको उचाइमा गरेको किवी खेतीमा अधिकारीले २५ लाख लगानी गरिसकेका छन् । ४० वर्षका लागि लिजमा लिएको जग्गामा किवीका लागि थाक्रा सुरुमा काठ बाँस हुँदै अहिले कंक्रिटको पक्की पाले हालेका छन् । गत वर्ष मंसिरमा ३०० केजी किवी फल प्रतिकेजी पाँच सय रुपयाँमा स्थानीय बजार धादिङवेशीमा बेचेको अधिकारीले बताए । सिँचाइ सुविधा भए एक हजार मिटर माथीको क्षेत्रमा किवी खेती गर्न सकिन्छ । सबै किसिमका फलफूलमा पाउने तत्वहरुमध्ये ७५ प्रतिशत तत्व किवीमा मात्र पाइने छ । त्यस कारण किवी खेतीको महत्व बढेको अधिकारीले बताए । किवी खेती गरेपछि पहिलो पटक कृषि ज्ञान केन्द्रबाट एक हजार कंक्रिट पोल बनाउन पाँच लाख रुपैयाँ अनुदान पनि पाएको उनले बताए । त्यो अनुदानले जिम्मेवार बनाएको छ भने आर्थिक रुपमा पनि सहयोग पुगेको अधिकारीले बताए ।
जिल्लाको नीलकण्ठ नगरपालिकाको वडा नं. १ काउले, वडा नं. २ चिसापानी वडा नं. ११ काफल स्वाँरा, धमालागाउँ, खनियावास गाँउपालिकाको सत्यदेवी र नेत्रावती दवजोङ गाँउपालिकाको सेम्जोङमा किवी खेती सुरु गरेको कृषि ज्ञान केन्द्र धादिङका कृषि अधिकृत जयराम अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्