कोरोनाका कारण घरबाट सेयर कारोबार सम्भव «

कोरोनाका कारण घरबाट सेयर कारोबार सम्भव

विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरूमा नेपालमा पनि बढ्दो क्रममा छ । कोरोना संक्रमणका लागि नियन्त्रण गर्न भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेर असारदेखि केही खुकुलो बनाएको थियो । यो अवधिमा धितोपत्रको दोस्रो बजार बन्द रह्यो । यसबीचमा पनि सेयर बजार दुई दिन कारोबार भए पनि विभिन्न समस्या देखाउँदै बजार बन्द भयो । तर, लकडाउन खुकुलो भएसँगै सेयर कारोबार सुचारु भएको थियो । सो अवधिमा धितोपत्र बजार प्रविधिमैत्री नभएको तथा कारोबार सम्पन्न गर्नका लागि समस्या रहेको गुनासो सम्बद्ध पक्षहरूले गरेपछि बजार बन्द नै रह्यो । कोरोनाको संक्रमण झनै बढ्न थालेपछि स्थानीय सरकारले जिल्ला, गाउँपालिका तथा नगरपालिकाले जोखिमको समीक्षा गरेर निषेधाज्ञा लगाउन थाले । काठमाडौं उपत्यकाको सन्दर्भमा भदौ ४ गतेदेखि स्थानीय सरकारले निषेधाज्ञा जारी ग-यो । यो निषेधाज्ञा सुरु भएपछि गत साताको अन्तिम दिन बिहीबार र यो साताको पहिलो दिन आइतबार सेयर कारोबार भएको छ ।
यसका लागि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएसी, ब्रोकर कम्पनी तथा लगानीकर्ताहरू आफैंले पनि प्रयास गरेर अनलाइनका माध्यमबाट घरबाटै सेयर कारोबार सम्भव भएको छ । यसका लागि धितोपत्र बोर्डले सेयर तथा पैसाको विद्युतीय भुक्तानीका लागि पूर्वतयारी गर्न सम्बन्धित पक्षहरूलाई निर्देशन पनि गरेको थियो । सोअनुसार बैंकिङ कारोबार र सेयर कारोबारलाई प्रविधिको मद्दतबाट विद्युतीय माध्यममार्फत कारोबार सम्भव भएको हो । लगानीकर्ताले बैंकिङ कारोबार नेपाल क्लियरिङ हाउसमार्फत कनेक्ट आईपीएसको माध्यमबाट भुक्तानी दिने तथा विद्यतीय माध्यमबाट सेयर ट्रान्सफर गर्न केन्द्रीय निक्षेप सेवामार्फत गरेर सेयर बजारलाई प्रविधिमैत्री बनाएको अवस्था छ । यसले घरबाट पनि धितोपत्रको कारोबार सम्भव भएको अवस्था छ । सेयर बजार सुरु भएदेखि नै प्रविधिका आधारमा घरबाट कारोबार सम्भव भएको यो पहिलो पटक हो । सेयर बजारको यो परिवर्तन भनेको ऐतिहासिक हो । समस्याभित्रको अवसरका रूपमा सेयर बजार प्रविधिमैत्री भएको छ । सेयर बजारमा मात्र नभई लगानीकर्ताहरू पनि प्रविधिमार्फत सेयर कारोबारमा अभ्यस्त भइसकेका देखिन्छन् ।
पूर्वतयारी गरेको हुनाले निषेधाज्ञाको समयमा पनि बजार बन्द नगर्ने धितोपत्र बोर्डको निर्णय कार्यान्वयनमा आएको छ । बजार सञ्चालनका लागि नेप्से, सीडीएसी तथा धितोपत्र ब्रोकरहरूसँग छलफल गरेर कारोबार नियमित भएको हो । निषेधाज्ञाको पहिलो दिन बिहीबार सेयर बजारसँग सम्बन्धित संस्थाका कर्मचारीलाई कार्यालय आवागमनमा समस्या आएपछि धितोपत्र बोर्डले गृह तथा अर्थ मन्त्रालयसहित जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेपछि त्यो समस्या पनि समाधान भएको हो । बिहीबार ६ अंकले बढेको नेप्से परिसूचक आइतबार ११ अंकले बढेको छ । सम्बन्धित पक्षहरू पनि प्रविधिकको अधिक प्रयोग गरेर कारोबार गर्ने तयारी भएको थियो । निषेधाज्ञाको अवधिमा पनि सेयर कारोबारले निरन्तरता पाएपछि लगानीकर्ता तथा बजारसँग सम्बन्धित पक्षहरू उत्साहित देखिन्छन् । निषेधाज्ञाले पनि सेयर कारोबारमा कुनै फरकपन नभएको बताउने सरोकारवाहरूसँग घरबाट प्रविधिका आधारमा सेयर कारोबार गर्दाको अनुभव तथा देखिएका चुनौतीका विषयमा कारोबारले गरेको कुराकानीको सार :

निषेधाज्ञाले सेयर कारोबारमा असर गरेको छैन
अम्बिकाप्रसाद पौडेल
पूर्वअध्यक्ष
नेपाल इन्भेस्टर्स फोरम

स्थानीय सरकारले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि भदौ ४ गतेदेखि निषेधाज्ञा गरेको भए पनि सेयर कारोबार गरिरहेको छु । मेरो कुरा गर्दा, नेप्सेमा कारोबार भएको गत साताको अन्तिम दिन बिहीबार र यो साताको पहिलो दिन आइतबार घरबाट नै कारोबार गरिरहेको छु । पुँजीबजार प्रविधिमैत्री भएको भन्ने सन्दर्भलाई हेर्दा हिजो र आजमा खासै परिवर्तन भएको अवस्था छैन । तर, केही परिवर्तन भने भएको छ । अहिले लगानीकर्ताको सोच परिवर्तन भएको छ । हिजोका दिनमा अनलाइनमार्फत सेयर कारोबार गर्न सक्दैनांै भनेका लगानीकर्ता पनि अहिले अभ्यस्त हुन थालेका छन् । अहिलेको अवस्थामा धितोपत्र ब्रोकरको कार्यालयमा कर्मचारी जाने वातावरण बनेको छ । यसले गर्दा पनि लगानीकर्ताका लागि सेयर कारोबार सम्भव भएको हो ।
हिजो पनि लगानीकर्ता ब्रोकर कार्यालय गएर कारोबार गरेको भए पनि आफंै किबोर्ड थिचेर कारोबार गरेको अवस्था होइन । हिजोका दिनमा लगानीकर्ता ब्रोकर कार्यालयमा गए पनि ब्रोकरको प्रतिनिधिलाई अनुरोध गर्नुपर्ने अवस्था थियो । आजको दिनमा सेयरको खरिद–बिक्री फोन, मेल, च्याटमार्फत गर्न सकिन्छ । त्यसका लागि ब्रोकरका सीमित कर्मचारी कार्यालय जाने व्यवस्था भएपछि त्यसरी कारोबार गर्न समस्या नै भएन । अर्को पक्ष भनेको धितोपत्र बजारमा नियमित कारोबार गर्ने लगानीकर्ताले आफ्नो अनलाइन कारोबार प्रणालीको युजर नेम र पासवर्ड लिएको अवस्था छ । नियमित कारोबार गर्ने लगानीकर्ताले हिजो पनि अनलाइनमार्फत आफैं गर्थे । निषेधाज्ञाले बनाएको अप्ठ्यारो भनेको लगानीकर्ताले साथीभाइ भेट्ने तथा बजारको ट्रेन्ड बुझ्नका लागि ब्रोकर कार्यालयमा जम्मा हुने अवस्था रहेन । बजारको विश्लेषण आफंै गर्ने लगानीकर्तालाई लकडाउन तथा निषेधाज्ञाले सेयर कारोबारमा असर गरेको छैन ।
अहिले पनि पुँजीबजार पूर्ण प्रविधिमैत्री भयो भन्ने अवस्था छैन । केही दिनअघि क्लो आउटमा परेको समस्या बाहिर आयो । यो समस्याको समाधानका लागि अवलम्बन गर्नुपर्ने उपाय अर्कै भयो । त्यसले गर्दा जटिलता बढाएको अवस्था हो । सेयर बजारलाई सक्दो धेरै तरलतायुक्त बनाउनुपर्छ । खातामा नभएको सेयर बिक्री गर्न पाइँदैन, त्यो ठीक छ । तर, धितोमा रहेको सेयर त समझदारीमा बिक्री गर्न पाउनुपर्छ । विगतको सेयर आज किनेर खातामा नआउँदै बिक्री गर्ने अभ्यासले समस्या निम्त्याएको थियो । प्लेज्डमा रहेको सेयर बिक्री गर्ने सन्दर्भमा ब्रोकर तथा बैंक–वित्तीय संस्थाको पनि जिम्मेवारी हो । यस विषयमा बैंकले चासो दिनुपर्ने विषयमा धितोपत्र बोर्डले किन चासो देखाएको ? यसले गर्दा अहिलेको बजारको कारोबार रकम कम भएको हो । यो व्यवस्थामा धितोपत्र बोर्डले समाधान खोजेको भए कारोबार रकम पनि उल्लेख्य बढ्न जान्थ्यो ।
हाम्रो बजार अभ्यासमा आएको प्रविधिमा अहिले पनि समस्या कायमै छ । कहिले टीएमएसमा त कहिले नट्समा समस्या देखिन्छ । बैंक–वित्तीय संस्थाका खातासँग जोडिएर गर्नुपर्ने भएकाले त्यसमा पनि केही सीमितता छन् । सेयरको रकम भनेर खुलाएर जति पनि रकमको खरिद–बिक्री गर्ने अवस्था छैन । यसमा ब्रोकर र लगानीकर्ताको खातामा शंकास्पद कारोबार हुन्छ भने त्यसमा नियामक निकायले निगरानी गरे हुन्छ । यो भएको खण्डमा सेयर सहज खरिद–बिक्री तथा राफसाफ हुने थियो । अर्को भनेको प्लेज्डमा रहेको सेयर बिक्री गर्न पाउनुपर्छ । यसका लागि धितोपत्र बोर्डले पनि सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । तर, अहिलेको अवस्थामा घरबाट सेयर कारोबारको वातावरण तयार भए पनि लगानीकर्ताले सोचेको जस्तो पूर्ण स्वचालित कारोबार प्रणाली होइन । यो हिजोको भन्दा राम्रो हो । तर, हामीले अपेक्षा गरेअनुसारको होइन । यसले पूर्णता पाउन धेरै बाँकी छ ।

सेयरको माग र आपूर्तिमा खासै समस्या देखिएको छैन
भरत रानाभाट
अध्यक्ष
स्टक ब्रोकर एसोसिएसन

धितोपत्रको दोस्रो बजारमा पनि घरबाट कारोबार सम्भव हुनु धेरै सकारात्मक कुरा हो । अहिले गरिएजस्तो विगतका दिनमा पनि गर्न सकेको भए गत चैतमा भएको लकडाउनका समयमा पनि बजार बन्द गर्नुपर्ने थिएन । अन्तर्राष्ट्रिय पुँजीबजारको मूल्य–मान्यताअनुसार बन्द गर्न नहुने कुरालाई अत्मसात् गर्न सकिन्थ्यो । तर, यो हुन सकेन ।
त्यसपछि बजारका सबै पक्षले कुनै पनि हालतमा पुँजी बजारलाई बन्द गराउन नहुने भन्ने निष्कर्षमा पुगेर आवश्यक व्यवस्थाहरू गर्न थाले । त्योबीचमा बैंकिङ कारोबारका लागि कनेक्ट आईपीएस, डिम्याट तथा सेयरको ट्रान्सफर अनलाइनमार्फत गर्न सकिने धेरै सेवालाई प्रविधिमैत्री बनाइयो । यसमा कारोबार प्रणाली विकास गरेको कम्पनीले पनि केही इन्टिग्रेसनका कामहरू गरिदियो । सेयर कारोबारमा भुक्तानी दिने पनि प्रणाली हुनुपर्छ भन्ने मान्यताअनुसार हामीले काम ग¥यौं ।
पछिल्लो समयमा लगानीकर्ताका बैंक खाता, डीपी खाता फ्रिज भएको, खाता नम्बर गलत भएको कारणले गर्दा केही जटिलता आएको हुनाले ब्रोकर एसोसिएसनले शुक्रबार विज्ञप्ति पनि जारी गरेको छ । यसले गर्दा ब्रोकरले समयमा काम गरेपछि लगानीकर्ताले सेवा ग्रहण गर्न नसकेको अवस्था छ । यसमा लगानीकर्ताहरू पनि सचेत हुनुपर्ने देखिन्छ । खाता नम्बर सही दिने तथा आफ्ना खाताहरू सक्रिय गर्ने सन्दर्भमा पनि सचेत हुनुपर्छ । खाता अपडेट गर्नुपर्ने भए गर्ने । त्यसका साथै लगानीकर्ताले कुनै बहाना नबनाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरिदिनुपर्छ । दिनुपर्ने अवस्थामा लकडाउनले असर गर्ने र लिनुपर्ने ठाउँमा लकडाउनले असर नगर्ने भन्ने हँुदैन । अहिलेको महामारीले दुवै पक्षलाई असर गरेको भएको अवस्था हो ।
लगानीकर्ताहरू पनि यसमा अभ्यस्त हुनुपर्छ । अहिले सुरुवाती चरणमा भएको हुनाले केही समस्याहरू हुन सक्छ । अहिलेको अवस्थामा समस्यालाई उचाल्ने भन्दा पनि समाधान गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री बजारको विकासमा सबैले भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । हाम्रो पुँजीबजार विकासको चरणमा भएकाले केही समस्या आउनेबित्तिकै एकले अर्कोलाई दोष दिने प्रचलन छ । यसरी नहेरी प्रविधिको प्रयोगबाट हुने सहजताबाट फाइदा लिन सबै पक्ष उत्तिकै जिम्मेबार हुनुपर्छ । सुरु भइसकेको अवस्था छ । यसलाई अन्तिम रूप दिन मात्र बाँकी हो ।
सेयर बजारमा अहिले भएको सुधार जटिलताभित्रको अवसर हो । सेयर बजारमा यो अवधिमा सुरु भएको अभ्यास ऐतिहासिक हो । कोरोनाको असर नभएको भए यति छिटो प्रविधिलाई बजारले स्वीकार पनि गर्दैनथ्यो होला । अहिले दोसे बजारको कारोबार सामान्य अवस्थाको जस्तै छ । आइतबार बजार सूचक बढेर सेयर कारोबार भएको छ । त्यसका साथै सेयरको माग र आपूर्तिमा पनि खासै समस्या देखिएको छैन ।

प्रविधिको प्रयोगले फड्को मारेको छ
उत्तम अर्याल
अध्यक्ष
सेयर लगानीकर्ता संघ

समयअनुसार हामीसँग भएका स्रोतसाधनको प्रयोग गर्नका लागि हामी पनि एक कदम अघि बढ्नुपर्छ । तर, निषेधाज्ञाको अवधिमा घरबाट सेयर कारोबार सम्भव भयो भनेर समग्रमा धेरै राम्रो तथा सजिलो छ भन्ने अवस्था छैन । अहिलेको अवस्थामा बैंकमा पैसा भएकाले मात्र खरिद गर्न सक्ने अवस्था छ । बैंकहरूमा पैसा ट्रान्सफर गर्नुपरेको खण्डमा जटिल अवस्था छ । अहिलेको अवस्था दोस्रो बजारमा कारोबार गर्न मात्र नभई अन्य सबै क्षेत्रमा एक न एक जटिललता आएकै छ ।
अहिलेको अवस्थामा पुँजीबजारमा प्रविधिको प्रयोगले फड्को मारेको छ । गत चैतमा भएको लकडाउनको अवधिमा सेयर कारोबार नै रोक्नुपरेको अवस्था थियो । तर, अहिलेको निषेधाज्ञामा प्रविधिको प्रयोगमार्फत सहज कारोबार सम्भव भएको छ । अहिलेको अवस्थामा अनलाइन प्रयोगकर्ता लगानीकतार्नको संख्या नै ७० हजारको हाराहारीमा पुगेको छ । त्यसका साथै बैंकिङ कारोबार गर्दा कनेक्ट आईपीएसमार्फत गर्न सकिने भएको छ । प्रविधिको प्रयोगमा लगानीकर्ता पनि अभ्यस्त हुँदै छ । अहिलेको अवस्थामा पनि सेयर कारोबार सम्भव हुनु भनेको लगानीकर्ताको दृष्टिकोणवाट धेरै खुसीको कुरा हो । हामीमा विगतमा जस्तो सेयर बजार बन्द गर्ने अवस्था आउनु हुँदैन भन्ने थियो । सोही अनुसार बजार अघि बढेको देखिन्छ ।
अहिलेको अवस्थामा कारोबार गर्दा जटिलता केही छन् । सेयरको खरिद र बिक्रीमा कुनै समस्या छैन । त्यसपछिका राफसाफदेखि नामसारीको कुरामा धेरै समस्या छ । गत बिहीबार कारोबार भएको सेयरको राफसाफ हुन सकेको छैन । त्यसका लागि धितोपत्र बोर्डले समय थप गर्ने भनेको छ । अनलाइन कारोबार सुरु भएपछि यो भनेको २० प्रतिशत समाधान भएको भए पनि बाँकी ८० प्रतिशत समस्या उस्तै छन् ।
अहिलेको अवस्थामा ब्रोकरहरूको पनि उत्तिकै समस्या छन् । यो अवस्थामा सेयर किन्न र बिक्री गर्न त पाइएको छ । आफूसँग पैसा भएर सेयर किन्न सकिने अवस्था छैन । कनेक्ट आईपीएसमार्फत भुक्तानी दिनुपर्ने भएकाले आफूसँग भएको पैसा बैंकमा जम्मा गर्न जाने अवस्था छैन । अहिलेको कारोबार प्रणालीमा व्यावहारिक जटिलताहरू छन् । यसलाई समाधान गर्नुपर्छ । अहिलेको अवस्थामा सेयर किन्नु र बिक्री गर्नु नै अनलाइन प्रणाली हो भन्ने बुझिएको छ । सेयर किनिसकेपछिको प्रक्रिया भने जटिल नै छ । बजारमा कुनै एक पक्षमात्र भन्दा पनि सबै सम्बद्ध पक्षहरू प्रविधिमैत्री भएको खण्डमा बल्ल सहज हुन्छ । त्यो अनलाइन कारोबार प्रणाली स्थापित हुन्छ । अहिले सुरु भएको छ । यसमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै जानुपर्छ । समग्रमा सेयर बजारले प्रविधिलाई स्वीकार गर्दै अघि बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्