बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती «

बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती

म्याग्दी-कालिगण्डकी नदीको कटान र सडक माथिबाट आउने पहिरो र बाढीले बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको ४५ दिनभन्दा बढी भएको छ । सडकअन्तर्गत राहुघाट, खामभित्ता, रुप्से, काभ्रेभीर र घोप्टेभीरमा खस्ने पहिरोले अवरुद्ध भइराखेको छ । असार २५ गतेदेखि अवरुद्ध बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा खसेको पहिरो ठाउँठाउँमा गाडी परिवर्तन गर्नुपर्ने कष्टसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका रमेश पुर्जाले बताए ।
साँघुरो र अक्करे भीरमा खनिएको सडकमा खसिरहने पहिरोका कारण मर्मतमा समस्या छ, भने यात्रा जोखिमपूर्ण बनेको छ । गलेश्वरमा राहुघाटमा आएको बाढीले भत्काएको बेलिब्रिज, धिरच्याङ, नागढुंगा, जलथलेमा कटान गरेको सडक मर्मत सकिएको बेनीजोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताए । रुप्सेखोलामा बाढीले निर्माणाधीन र चालू अवस्थाको मोटर चल्ने पुल बगाएपछि आवत जावतका लागि काठको अस्थायी पुल बनाइएको छ । सडक मर्मतसँगै पैदलमार्ग र साँघु हालिएको आयोजनाका सुपरभाइजर इन्द्रशिंह शेरचनले बताए । अन्य अवरुद्ध क्षेत्रमा मर्मत भएको छ, रुप्से झरनामा बलास्टिङ गरेर सडक निर्माण गरेर सिधा यातायात खुलाउने तयारी भएको छ, मौसमले साथ दिए मंगलबारसम्म बेनी जोमसोम सिधा यातायात खुल्ने सुपरभाइजर शेरचनले जानकारी दिए ।
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न, इन्धन, निर्माण सामग्री ढुवानी र त्यहाँ उत्पादन भएको कृषि उपज निकासी हुन सकेको छैन् । मुस्ताङमा उत्पादित आलुलगातयका उत्पादित वस्तु मुस्ताङबासीले बजारमा ल्याउन सकेका छैनन् । नियमित विद्युत् र सञ्चार सुविधा पनि नहुँदा पहिरो, कटान र बाढीको चपेटामा परेका स्थानीयबासी थप समस्यामा परेका छन् । बिरामीलाई महँगो रकम खर्चेर हेलिकप्टरबाट अस्पताल लैजानुपर्ने बाध्यता छ । लगभग एक महिना पश्चात रघुगंगा नदीले भत्काएको बेलिब्रिज पुललाई मर्मतपछि सुचारु गरिएको छ ।
काभ्रे, कोप्चेपानी, घराप, फगाम, भुरुङ तातोपानी, धिरच्याङ, महभीर र दोसल्लेमा पहिरो र कटानले प्रभावित बनाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । उनले जोखिमयुक्त बस्तीको अध्ययन, स्थानान्तरण र संरक्षणका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरेका बताए । निर्माणाधीन बेनी–जोमसोम, पोखरेबगर–चित्रे सडक, दाना सबस्टेसन, दाना–खुर्कोट प्रसारणलाइन, मिस्तीखोला, घारखोला जलविद्युत् आयोजना निर्माण ठप्प भएको छ । ती आयोजनामा क्षति पुगेको छ । दानातर्फको सडक अवरुद्ध भएर आवतजावत बन्द भएपछि नारच्याङ हुँदै मुस्ताङको घाँसा जोड्ने पुरानो पदमार्ग मर्मत गरेर सञ्चालन गरिएको छ ।
अवरुद्ध सडकको अध्ययन गर्दै प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, भूगर्भविद्को टोलीबाट जोखिमयुक्त बस्तीको अध्ययन गराएर स्थानान्तरण, घरबास गुमाएकाको पुनःस्थापना र जोखिम न्यूनीकरणका लागि संरक्षणमा पहल गर्ने बताए । प्रदेशसभा सदस्य विनोद केसीले तत्कालीन रूपमा जनजीवनलाई सहज बनाउन सडक, विद्युत्, सञ्चार सेवालाई नियमित सञ्चालन गर्ने, खानेपानी आयोजना मर्मत तथा जोखिमयुक्त ठाउँमा संरक्षणका योजना सञ्चालनमा पहल गर्ने बताए ।
कालिगण्डकी करिडोरअन्तर्गत आयोजनाले बेनी-जोमसोम ७६ किमि सडकमा ४ खण्ड र जोमसोम-कोरला १ सय १० किमि सडक ७ खण्डमा विभाजन छ । २०७४ सालदेखि सुरु भएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बेनी–जोमसोम ७६ किमि सडकमा २ वटा प्याकेजमा सडक स्तरोन्नतिको जिम्मा शर्मा गजुरमुखीले लिएको छ ।

धिरन खत्री

प्रतिक्रिया दिनुहोस्