बाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई उन्मुख

प्रतिनिधिसभा निर्वाचनतर्फ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको ‘बाम गठबन्धन’ दुई तिहाई उन्मुख देखिएको छ । आइतबार बेलुकीसम्म घोषित परिणाममा एमालेले ६१ र माओवादीले २२ गरी गठबन्धनले ८३ सिट जितिसकेको छ ।
प्रत्यक्षतर्फ १६५ क्षेत्रमा भएको निर्वाचनमा दुई तिहाई ल्याउन ११० क्षेत्रमा जित्नुपर्ने हुन्छ । त्यसका लागि बाम गठबन्धनले अब २७ सिट जित्नुपर्ने हुन्छ । पछिल्लो मतगणनाअनुसर बाम गठबन्धनले २९ स्थानमा अग्रता लिइरहेको छ । एमालेका उम्मेदवार १८ र माओवादीका उम्मेदवार ११ स्थानमा अग्रतामा छन् । यसरी हेर्दा मतान्तरसमेत अधिकांश क्षेत्रमा बढी देखिएकाले ती स्थानमा बाम गठबन्धनका उम्मेदवार विजयी हुने बलियो सम्भावना रहेको गठबन्धनको दाबी छ ।
एमाले र माओवादी केन्द्रबीच निर्वाचनअघि बाम गठबन्धन बनेको थियो । जसअनुसार एमाले र माओवादीले प्रतिनिधिसभातर्फ ६०-४० का आधारमा उम्मेदवार उठाएका थिए । १ सय ६ क्षेत्रको परिणाम आइसकेको छ । एमालेबाट विजयी हुनेमा झापा–५ पवित्रा निरौला खरेल, सिरहा–३ लिला श्रेष्ठ, बाँके–३ नन्दलाल रोका क्षेत्री, तनहुँ–१ किशानकुमार श्रेष्ठ, दाङ–१ मेटमणि चौधरी, झापा–५ केपी शर्मा ओली, कपिलवस्तु–२ वृजेषकुमार गुप्ता, प्युठान– हरिप्रसाद रिजाल, कैलाली– ५ नारदमुनी राना, पाल्पा– १ दलबहादुर राना, डोल्पा– धनबहादुर बूढा छन् ।
त्यस्तै काठमाडौं–५ मा ईश्वर पोखरेल, नुवाकोट–२ मा नारायण प्रसाद खतिवडा, इलाम– १ मा झलनाथ खनाल, दाङ–३ मा हिराचन्द्र केसी, गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली, सिन्धुली–१ मा गणेशकुमार पहाडी, पाल्पा–२ मा सोमप्रसाद पाण्डेय, इलाम–२ मा सुवासचन्द्र नेम्वाङ, पर्वतमा पदम गिरी, सुर्खेत–१ मा ध्रुवकुमार शाही, कास्की–१ मा खगराज अधिकारी, झापा–४ मा एलपी सावाँ लिम्बूले पनि जितेका छन् ।
रुपन्देही–३ मा घनश्याम भुसाल, मकवानपुर–१ मा कृष्ण दाहाल, मकवानपुर–२ मा विरोध खतिवडा, दैलेख–२ मा राजबहादुर बुढाक्षेत्री, रुपन्देही–२ मा विष्णु पौडेल, धनकुटामा राजेन्द्रकुमार राई, कास्की–३ जगतबहादुर सुनार विश्वकर्मा, गुल्मी–२ गोकर्णराज विष्ट विजयी भएका छन् ।
त्यस्तै, खोटाङमा विशाल भट्टराई, काठमाडौं– ७ मा रामवीर मानन्धर, दैलेख–१ मा रवीन्द्रराज शर्मा, ललितपुर–१ मा नवराज सिलवाल, काठमाडौं–२ मा माधवकुमार नेपाल, कास्कीमा–२ मा रवीन्द्र अधिकारी, बैतडीमा दामोदर भण्डारी, पाँचथरमा वसन्तकुमार नेम्वाङ, दोलखामा पार्वत गुरूङ, काठमाडौं–९मा कृष्णगोपाल श्रेष्ठ, धादिङ–१ मा भूमि त्रिपाठी, धादिङ–२ मा खेम लोहनी, ओखलढुंगामा यज्ञराज सुनुवार, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, म्याग्दीमा भुपेन्द्रबहादुर थापा, मुस्ताङमा प्रेमप्रसाद तुलाचन, मनाङमा पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् ।
उता, मुगुमा गोपालबहादुर बम, बझाङमा भैरवबहादुर सिंह, डोल्पामा धनबहादुर बुढा, बाजुरामा लालबहादुर थापा, दार्चुलामा गणेशसिंह ठगुन्ना, बाग्लुङमा सूर्यराज पाठक, ताप्लेजुङमा योगेश भट्टराई, ललितपुर–२ मा कृष्णलाल महर्जन, काठमाडौं– ३ कृष्णबहादुर राई, मोरङ–३ मा भानुभक्त ढकाल, मोरङ–६ मा लालबाबु पण्डित, काठमाडौं–८ मा जीवनराम श्रेष्ठ र मोरङ–१ मा घनश्याम खतिवडा विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट रौतहट–३ मा प्रभु साह, प्युठान– (ख) कृष्णध्वज खड्का, बर्दिया–२ सन्तकुमार थारू, झापा– १ मा सुरेन्द्र कार्की, नुवाकोट–१ मा हितबहादुर तामाङ, रोल्पामा वर्षमान पुन, रामेछापमा श्यामकुमार श्रेष्ठ, उदयपुर–२ मा सुरेशकुमार कार्की, लमजुङमा देवप्रसाद गुरूङ, सिन्धुली–२ मा हरिबोलप्रसाद गजुरेल निर्वाचित भएका छन् ।
त्यस्तै, माओवादी केन्द्रका गोरखा–१ मा हरिराज अधिकारी, भोजपुरमा सुदन किराती, मोरङ–५ मा शिवकुमार मण्डल, दाङ–२ मा कृष्णबहादुर महरा, पूर्वी रूकुममा कमला रोका, रुकुम पश्चिममा जनार्दन शर्मा, बागलुङ–२ मा देवेन्द्र पौडेल, ललितपुर–३ मा पम्फा भुसाल, सिन्धुपाल्चोक–१ मा अग्नि सापकोटा, सोलुखुम्बुमा हेमकुमार राई, मोरङ–४ अमनलाल मोदी र जाजरकोटमा शक्तिबहादुर बस्नेतले जित निकालेका भएका छन् ।
नेपाली कांग्रेसले १३ स्थानमा जितेको छ भने १० क्षेत्रमा अग्रता लिइरहेको छ । बर्दिया–१ मा सञ्जयकुमार गौतम, रौतहट–४ मा देवप्रसाद तिमल्सिना, रुपन्देही– ३ मा प्रमोदकुमार यादव, रुपन्देही–५ मा भरतकुमार शाह, डडेलधुरामा शेरबहादुर देउवा, रौटहट–२ मा मोहम्मद अफताव आलम, सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौं– मा ६ भीमसेनदास प्रधान, काठमाडौं–१ मा प्रकाशमान सिंह, रसुवामा मोहन आचार्य, काठमाडौं–४ मा गगन थापा, काठमाडौं–१० मा राजेन्द्रकुमार केसी र मोरङ–२ मा मीनेन्द्र रिजाल निर्वाचित भएका छन् ।
मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले पनि गठबन्धन बनाएका थिए । जसबाट बारा–२ मा फोरमका रामसहायप्रसाद यादव, सप्तरी–१ मा डा. सूर्यनारायण यादव, सप्तरी–२ मा उपेन्द्र यादव र बाँके–२ मा मोहम्मद इस्तियाक राई विजयी भएका छन् ।
त्यस्तै राष्ट्रिय जनता पार्टीबाट सप्तरी–३ मा चन्द्रकान्त चौधरी, धनुषा–३ मा राजेन्द्र महतो र रौतहट–१ अनिल झा विजयी भएका छन् । बाम गठबन्धनको साथ पाएका राप्रपा नेता राजेन्द्र लिङ्देन झापा–३ मा विजयी भएका छन् ।
समानुपातिकमा पनि एमाले अगाडि
समानुपातिकतर्फको जारी मतगणनामा पनि प्रत्यक्षमा जस्तै एमालेले अग्रता लिइरहेको छ । आइतबार बेलुकीसम्मको मतपरिणाम अनुसार समानुपातिकर्फ पनि एमाले अग्रता कायम छ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेले १ लाख ३२ हजार ६ सय ५२ मत ल्याएको छ । त्यस्तै, नेपाली कांग्रेसले १ लाख २७ हजार ३ सय ९९ मत ल्याएको छ । माओवादी केन्द्रको ५६ हजार ५ सय ४ मत छ । नयाँ शक्ति पार्टी नेपालले ७ हजार १ सय ७३ मत पाएको छ भने राष्ट्रिय प्रजातान्त्रिक पार्टीले ४ हजार ५ सय १७ र विवेकशील साझा पार्टीले १ हजार ८ सय ४१ मत पाएका छन् ।
राष्ट्रिय प्रजातान्त्र पार्टी प्रजातान्त्रिकले १ हजार १ सय ८३, नेपाली जनता दलले ७५३ मत पाएका छन् । समानुपातिकको मतगणना जारी छ ।
चर्चित पराजित
यसपटकको निर्वाचनमा कहिल्यै चुनाव नहारेकादेखि पटक–पटक जितेकासम्मले हारको स्वाद चाखेका छन् । यसमा नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको सूची लामो छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रभावशाली मानिने नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य पराजित भएका छन् । त्यस्तै, कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पनि पराजित भएका छन् ।
त्यस्तै, प्रधानमन्त्री पत्नी आरजु राणा पनि चर्चित पराजितको सूचीमा छिन् ।
उद्योगमन्त्री हुँदा राम्रो काम गरेको भन्दै चर्चा कमाएका नविन्द्रराज जोशी पनि हार्नेको सूचीमा छन् । त्यस्तै, कांग्रेसका तर्फबाट अहिलेको सरकारमा रहेका बहालवाला मन्त्री र राज्यमन्त्री पनि पराजित भएका छन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत, राज्यमन्त्री चम्पादेवी खड्का, श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुर, अर्थराज्यमन्त्री उदयशमशेर राणा, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, कानुन राज्यमन्त्री दिलमान पाख्रिन पराजित भएका छन् ।
कांग्रेसकै समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार भएका राप्रपा प्रजातान्त्रिकका स्वास्थ्यमन्त्री दीपक बोहरा, उद्योगमन्त्री सुनीलबहादुर थापा, उपप्रधानमन्त्री कमल थापा पराजित भएका छन् ।
बाम गठबन्धनका सूत्रधार मानिएका माओवादीका नेता नारायणकाजी श्रेष्ठ र एमाले उपाध्यक्ष बामदेव गौतम पराजित भएका छन् ।