विश्वकप इतिहासका पाँच उत्कृष्ट सेमिफाइनल

विश्व फुटबलको सबैभन्दा ठूलो खेल फिफा विश्वकपको २१औं संस्करण रुस विश्वकप २०१८ जारी छ । भोलिदेखि सेमिफाइनलका खेल हुँदैछन् । २०१८ विश्वकपको सेमिफाइनल विश्वकप इतिहासको सम्झनलायक खेल नहुने विश्लेषण हुन थालेको छ । अहिलेसम्म देखिएका पर्फर्मेन्सका आधारमा सेमिफाइनल पुगेका टोलीको खेल आशातित नदेखिएकाले जस्तो पनि नतिजा आउन सक्ने देखिन्छ ।
विश्वकपको सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसिया पुगेका छन् । सेमिफाइनमा फ्रान्स र बेल्जियम र इंग्ल्याण्ड र क्रोएसिया भिड्दैछन् । नतिजा कसको पक्षमा निस्कन्छ भन्न सकिने अवस्था भने देखिँदैन । यही सन्दर्भमा लेल नाउले विश्वकप इतिहास गहन अध्ययन गरि उत्कृष्ट पाँच सेमिफाइनलमा खेलिएका खेलको विश्लेषण गरेको छ ।
५) इटाली ४–३ वेस्ट जर्मनी (१९७०)
गेम अफ द कन्ट्री भनिएको १९७० को विश्वपकमा इटाली र वेस्ट जर्मनीबीच सेमिफाइनल खेल भएको थियो । यो खेल फुटबलका फ्यानहरूले सायदै विर्सलान् । उक्त खेलमा सुरुमा इटालीले लिड गर्यो, जसमा इटालीका रोबर्टो बोनिनसेगनले गोल गरे । अन्त्यमा यो खेल इटलीको पक्षमा गएर सकियो । तर सुरुमा इटालीको गोललाई जर्मनीका कार्ल–हेन्जले बराबरीमा परिणत गरेर खेल अतिरिक्त समयमा गयो । अतिरिक्त ३० मिनेटको समयमा ५ गोल भयो । ९० मिनेटको खेलमा १–१ को बराबरीमा रोकिएको खेलमा अतिरिक्त समयको ९४ औं मिनेटमा जर्मनीका गर्ड मुलरले गोल गरे । त्यसको ४ मिनेटपछि टार्सिसिओ बुर्गानिचले गोल फर्काए । केही मिनेटभित्र दुवै टिमले फेरि १–१ गोल गर्दै ३–३ को बराबरीमा पुर्याए । त्यतिबेला खेल १० मिनेटमात्र बाँकी थियो ।
१ सय ११औं मिनेटमा इटालीका रिभेराले गोल गरेर टिमलाई जिताए । तर, फाइनलमा इटाली ब्राजिलसँग ४–१ ले पराजित हुन पुयो ।
४) ब्राजिल १–१ नेदरल्याण्ड (४–२ पेनाल्टी) १९९८
१९९८ को विश्वकपको सेमिफाइनलमा ब्राजिलले डच टिमको सामना गर्यो । पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । दोस्रो हाफमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । तर खेलको ८७ औं मिनेटमा डचका सेलेकाओले गोल गर्दै बराबर गरे र खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेनन् । अन्ततः खेल टाइब्रेकर अर्थात् पेनाल्टी सुटआउटमा गयो । पेनाल्टीमा ब्राजिलका रोनाल्डो, रिभाल्डो, इमरसन र डुंगाले गोल गरे । नेदरल्याण्डका लागि फ्रांक डे बोर र डेनिस बेर्गकाम्पले गोल गरे भने फिलिप कोसु र रोनाल्ड डे बोरले गोल गर्न सकेनन् र खेल ब्राजिलले ४–२ ले जित्यो ।
३) जर्मनी ०–२ इटाली (२००६)
२००६ को विश्वकपको जर्मनी र इटालीबीच भएको सेमिफाइनलको खेलमा दुवै टिमले गोलको राम्रो अवसर पाउँदा पनि स्कोर गर्न सकेनन् । खेल अतिरिक्त समयमा गयो । १ सय १८ औं मिनेटसम्म कुनै गोल हुन सकेन । १ सय १९ औं मिनेटमा इटालीका फाबिओ ग्रासोले गोल गरेपछि इटलीले लिड गर्यो । त्यसको केही समयपछि एलेस्आन्द्रो डेल पियरोले अर्को गोल गरेपछि इटालीले दुई गोलले खेल जित्दै फाइनलमा प्रवेश गर्यो ।
२) वेस्ट जर्मनी ३–३ फ्रान्स (५–४ पेनाल्टी) १९८२
१९८२ को सेमिफाइनल खेल वेस्ट जर्मनी र फ्रान्सबीच भएको थियो । उक्त खेल ९० मिनेटसम्म १–१ को बराबरीमा रोकियो र खेल अतिरिक्त समयमा प्रवेश गर्यो । अतिरिक्त ३० मिनेटको समयमा ४ गोल भयो । वेस्ट जर्मनीका लागि कार्य–हेन्ज र क्लाउस फिस्चले गोल गरे भने फ्रान्सका लागि मारिउस ट्रेजर र एलिन ग्रिसीले गोल गरे । अतिरिक्त समयको खेल सकिँदा दुवै टिम ३–३ को बराबरीमा रोकिए र खेल पेनाल्टीमा गयो । पेनाल्टीमा ५–४ ले खेले वेस्ट जर्मलीले जित्यो । फाइनलमा वेस्ट जर्मनीलाई इटालीले ३–१ ले हराउँदै उपाधी जितेको थियो ।
१) ब्राजिल १–७ जर्मनी २०१४
२०१४ को सेमिफाइनल खेल ब्राजिलियन फुटबलका लागि कालो दिन हो । उक्त खेलमा ब्राजिलले जर्मनीसँग ७–१ को पराजय बेहोरेको थियो । जर्मनीका थोमस मुलरले ११ औं मिनेटमा ब्राजिलविरुद्ध गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलमा ब्राजिलले लय गुमाउँदा अर्को २० मिनेटमा थप ४ गोल खान पुग्यो । खेलको पछिल्लो समयमा आन्द्रे सुर्लेले थप दुई गोल गर्दै ०–७ को स्थितिमा पुर्याए । ब्राजिलका लागि ओस्कारले ९० औं मिनेटमा १ गोल त गरे तर खेल जर्मनीको पोल्टामा मात्र पुगेन, घरेलु मैदानमा विश्वकप जित्ने ब्राजिलको सपना समेत चकनाचुर भयो । ब्राजिललाई लज्जास्पद रुपमा हराएको जर्मनीले फाइनलमा अर्जेन्टिनालाई हराउँदै विश्वकप नै चुम्यो ।