तीजलाई सबै नारीले विशेष अनुशासनसहित उल्लासमय वातावरणमा मनाउनुपर्छ भने सामाजिक मर्यादा कायम राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
तीजको महत्व

नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजले सहरबजार मात्र होइन, गाउँघरलाई समेत छोपिसकेको छ । नेपाली महिलाहरू आफ्नो स्वास्थ्य एवं श्रीमान्को दीर्घायुको कामनासाथ व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो यो संस्कार र संस्कृतिमा निकै फेरबदल देखा परेको पाइन्छ । हिजोआज सहरी क्षेत्रमा भड्किलो पारामा तीज मनाइन्छ । तीजको रमझममा पनि पश्चिमेली शैली मिसाउन थालिएको छ, फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको गुनासो पनि सुनिन्छ भने यसको मौलिकता हराउन थालेको कुरामा धेरैको सहमति पाइन्छ ।
हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेपछि उनको व्रत पूर्ण भएर महादेवलाई श्रीमान्का रूपमा पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । यही मान्यता अनुसरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाहरूले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन रहँदै आएको छ । तीजमा गीत–संगीतको विशेष महत्व हुन्छ । परापूर्वकालमा विद्युतीय उपकरणहरू नहुँदा समेत महिलाहरू समूहमा भेला भएर गीत गाउँथे भने अहिलेको मेट्रो जमानामा रेडियो तथा टेलिभिजनमा आधुनिक शैलीका गीत एवं नृत्य गुञ्जिन थालेका छन् । पहिले तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासू–बुहारीको कचकच, दुःख, ईष्र्याजस्ता विषय समावेश हुन्थे । अहिले परिवर्तनले छलाङ मारेको छ । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका गीत गाउँछन् ।
चुला–चौका एवं घरधन्दाको व्यस्ततामा अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । यद्यपि अहिले सबै नेपालीको घरमा त्यस्तो अवस्था छैन । टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम सञ्चालन गर्ने चलन बढेको छ । कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि संचालन गर्ने गरेका छन् । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । समयसँगै तीजमा भित्रिएको राम्रो पक्ष भनेको अन्य जात वा समुदायका महिला पनि प्रवेश गर्नु हो । तीज पहिले ब्राह्मण–क्षेत्री समुदायका महिलामा मात्र सीमित थियो भने अहिले यो पर्व नेवार, गुरुङ, राई, लिम्बू, मगर आदि समुदायमा समेत उत्साहका साथ मनाउन थालिएको छ ।
तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता रहँदै आएको छ । एक प्रकारले हेर्ने हो भने तीजमा महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजिएको छ । पुरुषभक्त व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य एवं प्रगति हुने मान्यता छ । भोकै व्रत बस्दा महिलाहरू बिरामी पनि हुने गरेका छन् । तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नु आवश्यक छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य भने बनाउनु हुँदैन । आजभोलि सहरी क्षेत्रमा बजारिया तीजले स्थान पाउने गरेको छ जहाँ तीजको रौनक साउनदेखि नै सुरु हुन्छ । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन् । यो तीजका नाममा भित्रिएको सबैभन्दा नकारात्मक पक्ष हो । अहिले सुन्दर देखिन नभई अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन छ । गहनाका निम्ति अनुत्पादक आर्थिक भार बढिरहेको छ । यस्तो व्यवहार र कामले कालान्तरमा समाजलाई नै असर पारिरहेको हुन्छ ।
तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजको दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । तीजमा निर्जल, निराहार व्रत बस्नुभन्दा फलफूल खाएर व्रत बस्न सकिन्छ । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वासको विकास गर्नु वाञ्छनीय हुन्छ । आपसी प्रेम बढाउने यो पर्वमा चौथीका दिन स्नान गरी पारायण व्रत गरेपछि खाना खानुपर्छ । त्यस्तै तेस्रो दिन ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी कम गर्छ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात कर्कलाको तरकारीसँग खानुपर्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खानुपर्छ, जसबाट आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास गरिन्छ ।
व्रत बस्दा हामीले स्वास्थ्यका बारेमा पनि ख्याल गर्नुपर्छ । हाम्रो शरीरलाई दैनिक करिब २ हजार २ सय ६० ग्राम क्यालोरी शक्ति चाहिन्छ । भोकै भएको अवस्थामा शरीरको बोसोबाट उक्त क्यालोरी आपूर्ति हुन्छ । त्यसैले दीर्घरोगी र कमजोर मानिसले निराहार बस्नु हुँदैन । भोकै हुँदा शरीरमा भिटामिन र प्रोटिनको मात्रा कमहुन्छ । निर्जल र भोकै व्रत बसेर नाच्दा–घुम्दा शरीरमा ग्लुकोजको मात्र कम भएर हाइपोग्लाइसेमिया हुन सक्छ । व्रत बसेका बेला पानी अनिवार्य रूपमा दुई लिटरभन्दा बढी पिउनुपर्छ । तीजलाई सबै नारीले विशेष अनुशासनसहित उल्लासमय वातावरणमा मनाउनुपर्छ भने सामाजिक मर्यादा कायम राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
—सुजन पौडेल