प्रतिकारमा चितुवा मारियो «

प्रतिकारमा चितुवा मारियो

लमजुङका एक व्यक्तिले आफूलाई आक्रमण गरेको चितुवाको प्रतिकार गर्दा चितुवा मारिएको छ । बेसीशहर नगरपालिका–९, साम्दीमा खेतमा घाँस काट्ने क्रममा आक्रमण गरेपछि प्रतिकारमा चितुवा मारिएको हो ।
पूर्व सैनिक समेत रहेका ६३ वर्षिय हरिबहादुर थापाले चितुवा मारेका हुन् । आइतबार बिहान घर नजिकैको खेतमा घाँस काट्ने क्रममा चितुवाले आक्रमण गरेपछि हँसियाले हानेर चितुवा मारिएको डिभिजन वन कार्यालय लमजुङका प्रमुख मोहन काफ्लेले जानकारी दिए ।
चितुवाको आक्रमणबाट धानखेतमा लडेका थापाले दोश्रो आक्रमणमा एक हातले छेकी दोश्रो हातमा भएको खुर्पाले प्रहार गरी चितुवा मारेका परिवारले जनाएको छ । प्रचलित कानुन अनुसार वन्यजन्तु मार्न पाइँदैन । यद्यपि घटनाको प्रकृति अनुसार आक्रमणको प्रतिकार गर्दा वन्यजन्तु मारिएमा भने कानुनी कारवाहि नहुने कार्यालय प्रमुख काफ्लेको भनाइ छ ।
प्रतिकार गर्दा मारिएको चितुवालाई डिभिजन वन कार्यालयले व्यवस्थान गरेको छ । घाइते थापाको जिल्लास्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । चितुवाको आक्रमणबाट थापाको दुवै हातमा सामान्य चोट लागेको अस्पतालले जनाएको छ ।
खुर्पा प्रहारले चितुवाको टाउको, नाकको डाँडी, खुट्टामा चोट लागेको थियो । प्रतिकारको केहिबेरमै चितुवा मरेको थियो । चितुवाको लम्बाई ५ फुट ६ इन्च, उचाई १ फुट ११ इन्च र र गोलाई १ फुट १० इन्च रहेको डिभिजन प्रमुख काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्