पाँच नियोगले १२५ श्रमिकमात्र राख्नसक्ने «

पाँच नियोगले १२५ श्रमिकमात्र राख्नसक्ने

कुटनीतिक नियोगको हविगत

लाखौं श्रमिक रहेका मुलुकका प्रमुख पाँच श्रम गन्तव्यमा रहेका कुटनीतिक नियोगमा जम्मा १२५ जनाको क्षमतामामात्र आश्रयस्थल रहेको पाइएको छ । कोरोनाभाइरस (कोभिड–१९)का कारण श्रम गन्तव्यमा हजारौं श्रमिकलाई आश्रयको आवश्यकता भए पनि लाखभन्दा बढी श्रमिक रहेका गन्तव्यमा चारदेखि बढी ६५ जना क्षमताको मात्र आश्रयस्थल रहेको पाइएको छ ।
साउदी अरब, कतार, यूएई, कुवेत र ओमानमा रहेका नियोगमा गरी जम्मा १२५ जना क्षमताको मात्र आश्रय स्थल रहेको पाइएको हो । जोखिमका दृष्टिकोणले साउदी अरब, यूएई, कतार, कुवेत बहराइन र ओमान सबैभन्दा बढी नेपाली श्रमिक रहेका देश हुन् । कोरोनाका कारण ति मुलुकमा भिसाको म्याद सकिएका र आममाफीका कारण तत्काल फर्कने अनुमानित संख्या १ लाख २७ हजार रहेको छ । त्यसमध्ये हालसम्म लगभग ४० हजार श्रमिक मात्र नेपाल फर्कन सकेको तथ्यांक रहेको छ ।
‘कोभिड–१९ महामारीबाट वैदेशिक रोजगारमा रहेका नेपाली कामदारलाई पर्नसक्ने प्रभाव र समस्या समाधानका लागि अपनाउनु पर्ने रणनीतिक उपायहरू’ सम्बन्धी अध्ययन प्रतिवेदनमा श्रम गन्तव्यमा अत्यधिक न्यून आश्रय र सेफ हाउस रहेको औल्याइएको छ । “हाल विभिन्न देशस्थित नेपाली दूतावासमा उपलब्ध सेफ हाउस÷आश्रय स्थलको सूची तयार गरी हेर्दा त्यतिले आप्रवासी श्रमिकहरूलाई नपुग्ने देखिन्छ,” वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको अध्ययन प्रतिवेदनमा भनिएको छ, “ठूलो संख्यामा आप्रवासी श्रमिकलाई आश्रय दिने क्षमता कुनै पनि देशमा रहेको नेपाली दूतावाससँग छैन ।” यसैले ठूलो संख्यामा श्रमिकहरूलाई आश्रय दिनुपर्ने अवस्था आएको खण्डमा गन्तव्य देशका सरकारसँग समन्वय गर्नु सिवाय अरु विकाल्प नरहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालका सबैभन्दा बढी श्रमिक कार्यरत कतारस्थित नेपाली दूतावासमा चारवटा मात्र आश्रय स्थल रहेको वैदेशिक रोजगार बोर्डले हालै गरेको सो अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैगरी युएईमा रहेको नेपाली दूतावासमा ५ जना महिलाको लागि मात्र आश्रय स्थल रहेको छ । कुवेतमा २० महिलामा लागि मात्र रहेको छ भने ओमानमा दूतावास परिसरभित्र ३० जना महिलाको लागि भान्सा सहितको लागि मात्र रहेका बोर्डले जनाएको छ । सबैभन्दा बढी साउदी अरबस्थित नेपाली दूतावासमा छुट्टै आश्रय स्थल रहेको छ । साउदी दूतावासमा १२ महिलाका लागि कोठा र गाडी पार्किङका लागि बनाइएको भान्सा कोठा नभएको कहिलेकाहीँ पुरुष कामदारसमेत राखिने ५४ जना क्षमताको आश्रय स्थल रहेको छ ।
नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकहरू मलेसिया, साउदी, कतार, कुवेत, युएई, बहराईन, ओमान, जोर्डन लगायत देशमा महामारीले उग्र रूप लिँदा लाखौं नेपालीले खान र बस्नसमेत पाएका छैनन् । नेपाली नियोग रहेको सहरभन्दा बाहिर टाढा काम गर्ने श्रमिक ५० प्रतिशत भन्दा बढी रहेका कारण समेत आश्रयको पहुँच पुग्न सकेको छैन । नेपाली कार्यरत रहेका सबै मुलुकले आफ्ना नागरिकहरूलाई महामारीबाट बचाउन आफ्नो सम्पूर्ण शक्तिको प्रयोग गरिरहेको भएपनि नेपाली श्रमिकले आन्तिम अवस्था नभएसम्म उपचार सहयोग पाउन सकेका छैनन् । अधिकांश रोजगारदाता मुलुकहरूमा कार्यरत आप्रवासी कामदारको स्वास्थ्य सुरक्षाको जिम्मा लिने जनाए पनि हजारौं नेपाली अलपत्र अवस्थामा रहेका छन् ।
अर्थतन्त्रमा कोरोना महामारीको गम्भीर असरका कारण रोजगारदाता मुलुकहरूले पनि आप्रवासी कामदारलाई स्वदेश फर्कन प्रेरित गरिरहेका छन् । यस्तो प्राकृतिक विपत्तीका कारण समस्यामा परेका प्रत्येक नागरिकको जीवन रक्षाका लागि सरकार जिम्मेवार रुपमा प्रस्तुत नभएको श्रमिकले गुनासो गरेका छन । रोजगार विज्ञ डा. गणेश गुरुङ वैदेशिक रोजगारीका लागि विदेशमा रहेका तथा कोरोना महामारीका कारण समस्यामा परी स्वदेश फर्कने-फर्काईएका नेपाली नागरिकहरूलाई वर्तमान अवस्थामा जीवनरक्षाका साथै जीवनयापनका लागि राज्यको तर्फबाट यथोचित सम्बोधन ढिलो भएको बताउँछन् । यस्तो महामारीले विदेशमा रहेका नेपाली श्रमिक फर्कन्छन भन्ने पूर्व जानकारी भए पनि सरकारले सो अनुसार कदम चाल्न नसकेको गुरुङको भनाई छ ।

गोपाल संग्रौला

प्रतिक्रिया दिनुहोस्