सेमिफाइनल समीकरण पूरा «

सेमिफाइनल समीकरण पूरा

फिफा विश्वकप २०१८ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति क्वार्टरफाइनलका खेल सकिएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो ।
विश्वकपको सेमिफाइनलमा फ्रान्स, बेल्जियम र क्रोएसिया पुगेका छन् । समिफाइनलका दुई खेल आगामी मंगलबार र बुधबार हुनेछन् । दुवै खेलका विजयीबीच १५ जुलाईमा फाइनल खेल हुनेछ । नकटआउट चरणमा सबैभन्दा पहिला घर फर्कने टिम अर्जेन्टिना रहँदा क्वार्टरफाइनबाट बाहिर निस्कने अन्तिम टिम आयोजक रसिया बनेको छ ।
विश्वकपको पहिलो सेमिफाइनल खेल फ्रान्स र बेल्जियमबीच मंगलबार सेन्ट पिटर्सबर्गमा स्टेडियममा हुनेछ । फ्रान्सले क्वार्टरफाइन्लमा उरुग्वेलाई २–० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । फ्रान्स २००६ यता पहिलो पटक अन्तिम चारमा पुग्न सफल भएको हो ।
यता बेल्जियमले भने पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । बेल्जियम एक पटकको विश्वविजेता फ्रान्सलाई हराउँदै पहिलो पटक उपाधि जित्ने अभियानमा छ । बेल्जियम १९८६ मा भएको विश्वकपपछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
विश्वकपको दोस्रो सेमिफाइनल इंग्ल्यान्ड र क्रोएसियाबीच हुनेछ । इंग्ल्याण्डले क्वाटरफाइनलमा स्विडेनलाई २–० ले हराउँदै १९९० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
क्रोएसिया भने आयोजक रसियालाई टाइब्रेकरमा (४–३) गोलले हराउँदै सेमिफाइनल पुगेको हो । क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा पुगेको हो । क्रोएसिया पहिलो पटक १९९८ को विश्वकपमा सेमिफाइन पुगेको थियो ।

पहिलो सेमिफाइनलः फ्रान्स भर्सेस बेल्जियम– मंगलबार राति ११ः४५ 
दोस्रो सेमिफाइनलः क्रोएसिया भर्सेस इंग्ल्याण्ड– बुधबार राति ११ः४५

प्रतिक्रिया दिनुहोस्