समृद्धिको नाराले ल्याएको तरंग

नेपालमा पहिलो पटक प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ सम्पन्न भएको छ । मंसिर १० र २१ गते गरी २ चरणमा सम्पन्न निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । अहिलेसम्म प्राप्त परिणाम र अग्रतालाई हेर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको ‘बाम गठबन्धन’ले आकर्षक बहुमत ल्याउने देखिन्छ । संविधानसभामा पहिलो दल भएको नेपाली कांग्रेस प्रत्यक्षतर्फ अपेक्षा गरेभन्दा कम स्थानमा खुम्चिएको छ । कांग्रेसका प्रभावशाली मानिएका नेताहरूका लागि बाम गठबन्धनका उम्मेदवार ‘फलामको च्यूरा’ सावित भएका छन् । केही केन्द्रीय नेता पराजित भइसकेका छन् भने गणना जारी रहेका स्थानमा बाम उम्मेदवारभन्दा भारी मतले पछाडि छन् । अधिकांस प्रदेश र प्रतिनिधिसभातर्फ जारी मतगणनामा बाम गठबन्धनकै अग्रता कायम छ । कांग्रेसबाट जितेका नेताहरूले पनि झिनो मतान्तरले जित हात पारेका छन् । नयाँ भर्खरै खुलेका दलका उम्मेदवारले पनि उनीहरूको परम्परागत गढ मानिएकै निर्वाचन क्षेत्रमा समेत कडा टक्कर दिएका छन् । अन्तिम परिणाम आएसँगै देशमा एमाले र माओवादीको बाम गठबन्धनको सरकार बन्ने र कांग्रेस प्रमुख प्रतिपक्षी बन्ने प्रष्ट देखिएको छ । निर्वाचनमा जाँदै गर्दा बाम गठबन्धनले अघि सारेको स्थायी सरकारको नाराले जनमत आकर्षित गरेको कपियको बुझाई छ । बाम गठबन्धको बहुमत आए देशमा अधिनायकवाद आउने कांग्रेसको धारणाभन्दा बहुमत दिए स्थायी सरकार र समृद्धि भन्ने बाम गठबन्धनको नाराले यसपटक रंग देखाएको छ । केहीले अहिलेको परिणामलाई स्वभाविक माने पनि कांग्रेस नेताहरूले भने अस्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । बाम गठबन्धनका पक्षमा आइरहेको निर्वाचन परिणामको सन्देश, कांग्रेस खुम्चिनुको कारण र अब बन्ने बाम गठबन्धनको सरकारका बारेमा केन्द्रित रहेर केही राजनीतिक विश्लेषकसँग कारोबारले गरेको कुराकानीको सार :
स्थिरता हुने सम्भावना कम
अजयभद्र खनाल, राजनीतिक विश्लेषक
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । अहिलेसम्मको मतपरिणाम हेर्दा वाम गठबन्धनले सरकार बनाउने निश्चत जस्तै छ । जनताले स्थिरताको पक्षमा मत हालेको देखिएको छ । अहिलेको जनमतलाई हेर्दा जनता स्थिरताका पक्षमा भएको देखिन्छ । ९–९ महिनामा भइरहने सरकार परिवर्तनबाट नागरिक दिक्क रहेछन् भन्ने पुष्टीसमेत भएको छ ।
वर्तमानको राजनीतिक अवस्थाप्रति जनता सन्तुष्ट नभएको पनि पुष्टी भएको छ । जनमतले स्थायी सरकार हुँदा जनचासोका विषय पुरा हुन्छन् की भनेर मत आएको जस्तो देखिन्छ । जनतामा अस्थिर सरकार भएकै कारण देशको अवस्था यस्तो भएको बुझाइ देखियो । र अस्थिरता हटाउन जिम्मा जनमतले वाम गठबन्धनलाई दिएको छ । कांग्रेस नेतृत्वप्रति जनताको विश्वास रहेनछ भन्ने जनमतले देखाएको छ । यो परिणामले कांग्रेस नेतृत्वप्रतिको अविश्वासका कारण सिंगो पार्टीलाई असर पारेको छ ।
तर वाम गठबन्धनको सरकार आउँदा स्थिरता आउँछ नै भन्ने चाहिँ छैन । यो गठबन्धन शक्तिमा आउँदा राजनीतिक द्वन्द्व बढ्ने संकेतसमेत देखिन्छ । सार्वजनिक स्रोत दोहन गरेर समर्थकलाई पद र पैसा बाँड्ने र त्यसैबाट दलहरूले शक्ति आर्जन गरेका छन् ।
नेपालको राजनीतिमा विधिको शासन नमान्ने र शक्तिको दुरूपयोग गरेर आर्थिक लाभ लिने प्रचलन छ । यसले स्थिरता आउँदैन । सार्वजनिक पदको दुरूपयोग गर्नेहरू नै यहाँ धनी हुने गरेका छन् । सरकार परिवर्तनसँगै त्यो शक्ति प्राप्तिका लागि राजनीतिक द्वन्द्व हुन सक्छ । मौका नपाउनेले विधिको परिधिबाहिर गएर राजनीतिक संघर्ष सुरु गर्न सक्ने सम्भावनासमेत छ । राज्य र समाजबीचको सम्बन्ध सन्तुलित नहुँदा भ्रष्टाचार बढेको छ । अन्तर्राष्ट्रिय प्राक्टिस हेर्ने हो भने पनि वामपन्थी तथा निरंकुश सरकारमा त्यस्तो देखिने गरेको छ । त्यसकारण पनि नेपालमा भएको यो नयाँ प्रयोग उति सहज हुँदैन भन्ने लाग्छ । यसरी हेर्दा बामपन्थी सरकारले जनताले चाहेको स्थायित्व दिन सक्दैन । विधिको शासन नमान्ने अनि शक्ति दुरूपयोग गरेर आर्थिक लाभ लिने सम्भावना बढी देखिन्छ । त्यसलै जनताले चाहेको विकास र सुशासन बामपन्थी सरकारले दिन सक्दैन ।
विकास र समृद्धिको कुरा अहिले भइरहेको छ । जनतासँगै राजनीतिक दलमा पनि ठूला परियोजनामा चासो छ । सरकारले ठूला–ठूला परियोजना ल्याउँछ । तर, त्योसँगै आउने विभिन्न समस्यालाई भने कसरी सम्बोधन गर्छ भन्ने महत्वपूर्ण कुरा हो । परियोजना ल्याएर मात्रै पनि हुँदैन त्यसलाई व्यवस्थित ढंगले कार्यान्वयन गर्नु पर्छ । विधि, प्रक्रियाअनुसार अघि बढ्ने र राज्य र समाजबीचको सम्बन्ध सन्तुलित बनाएर अघि बढ्दा मात्रै विकास र समृद्धि हाँसिल हुन सक्छ ।
कांग्रेसले पाठ सिकेर सच्चिन जरुरी
लोकराज बराल, राजनीतिक विश्लेषक
अहिलेसम्मको जनमत हेर्दा बाम गठबन्धनले सरकार बनाउने पक्का छ । उनीहरूले स्थायी सरकार, राजनीतिक अस्थिरताको अन्त्यलगायतका नारा दिएका छन् । यो कुरा व्यवहारमा कति लागू हुन्छ, त्यो हेर्न बाँकी छ । संविधानमा त २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने भनिएको छ । २ वर्षपछि चाहिँ के हुने ? त्यो मुख्य कुरा हो । धेरै पटक कांग्रेस नेतृत्वमा बनेका एकलौटी सरकार ढलेका छन् । ढालिएको छ । त्यो बेलामा स्थिर सरकार हुन पाएन । सँगै गठबन्धनले विकास, समृद्धिका नारा पनि ल्याएका छन् । अब मुलुक समृद्धिको बाटोमा अघि बढ्नुपर्छ । यद्यपी नयाँ सरकार बन्ने वित्तिकै समृद्धि हाँसिल हुन्छ भन्ने होइन । यो नारा कार्यान्वयनमा थुप्रै चुनौति छन् । यहाँको कर्मचारी प्रशासन, काम गर्ने तरिका त आखिर उस्तै छ नी ।
निर्वाचनपछि संघीयता कार्यान्वयन भएको छ । सातै प्रदेशमा सरकार बन्ने छन् । तर ती सरकारले कसरी काम गर्छन् ? भन्ने अर्को मुख्य कुरा हो । नेपालको राजनीति ठीक छैन । यदी भोलि झगडा, भाँडभैलो भयो भने विकासमा बाधा पु¥याउँछ । अब बन्ने केन्द्रीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गर्नुपर्ने छ । यो अवस्थामा दलीयकरण मात्रै भयो भने समृद्धि हाँसिल गर्न सकिन्न । अहिले सबै क्षेत्रमा भयंकररूपमा दलीयकरण छ । अहिले नै बाम सरकारले यसो गर्ला, अब यस्तो हुन्छ भनेर भन्न सक्ने अवस्था छैन । अब उहाँहरू कसरी अघि बढ्नुहुनेछ त्यो हेर्न बाँकी नै छ ।
अहिलेको मत परिणामले कांग्रेसलाई सच्चिन भनेको छ । खाली लोकतन्त्रका नारा जपेर मात्रै हुँदैन भन्ने पाठ कांग्रेसले सिक्न जरुरी छ । सिद्धान्तका कुरा गर्ने हो भने कम्युनिष्ट भनिएका दलहरू पनि कांग्रेसकै सिद्धान्तअनुरूपको संसदीय व्यवस्थामा आएका छन् नी । यहाँ कांग्रेस एमाले र माओवादीबीच फरक देखिँदैन । त्यसैले एजेण्डागत रूपमा राजनीति गर्न जरुरी छ ।
नेपाली जनताले सिद्धान्तभन्दा पनि काम खोजेका छन् । कांग्रेस नेतृत्वका कमजोरी र कमजोर एजेण्डाका कारण कमजोर जनमत प्राप्त भएको हो । कांग्रेसले आफूले गरेका काम पनि आफूले गरेको भन्न सकेन । अथवा जनता सामु लग्न सकेन । बाम गठबन्धन बन्नु, केपी ओलीले नाकाबन्दीपछि राष्ट्रवादका नारा उछाल्नु आदी पनि कांग्रेस हार्नुका कारण हुन् । साथै बाम गठबन्धनले विकास र समृद्धिका नारा पनि जनतासँग लैजान सफल हुनु अर्को कारण हो ।
जनमतको कुरा गर्नुहुन्छ भने इन्दिरा गान्धीको पालमा भारतीय जनता पार्टीले जम्मा ३ सिट ल्याएको हो । अहिले विजेपीको अवस्था हेर्नुस् त । जनमत भनेको स्थिर हुँदैन, परिवर्तन हुन्छ । २०६४ सालमा युद्ध अन्त्य गर्न र शान्ति कायम गर्न भन्दै जनताले माओवादीलाई पहिलो दल बनाएका हुन् । २०७० मा संविधान निर्माणको नेतृत्व गर्न कांग्रेसलाई मत जनताले हालेका हुन् । अहिले स्थिर सरकार र समृद्धिको नारा बाम गठबन्धनले लगेकाले उसका पक्षमा मत आएको हो । तर, उहाँहरूले पुरानै कर्मचारीतन्त्र, भ्रष्टाचारको जालो र विभिन्न खालका डन, माफियागिरीलाई चिरेर कसरी अघि बढ्नुहुन्छ भन्ने अर्को महत्वपूर्ण सवाल हो ।
कांग्रेस नेतृत्वले पार्टी सुधार गरेर अघि बढ्नुपर्ने छ । जनमुखी प्रगतिशील कार्यक्रम ल्याउन जरुरी छ । स्वास्थ्य शिक्षा, खानेपानी, रोजगारीलगायका विषयमा नयाँ कार्यक्रम ल्याउन जरुरी छ ।
हुन त कहिले काँही इमोसनल भोट पनि आउँछ । २०७० सालको निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपालाई समानुपातिकमा २५ सिट आयो । अहिले राप्रपाको हालत के छ ? राजनीति भनेको समुन्द्रको छाल झैं हो । कहिले यता कहिले उता जनमत जानु सामान्य कुरा हो । यसो भन्दै गर्दा कांग्रेसले आफूलाई सुधार गरेर अघि बढ्नै पर्छ ।
सत्ता सञ्चालनको शैली फेरिन सक्छ
पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक
अहिले भएको चुनावबाट जे परिणाम आएको छ, यसलाई कतिपयले अस्वाभाविक भनेर पनि भनेका छन् । तर, मलाई यो स्वाभाविक नै हो भन्ने लाग्छ । स्थानीय तहको परिणामलाई हेर्दा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएका थिए । सामान्य गणितका हिसाबले पनि पहिलो र तेस्रो दल मिलेर दोस्रोलाई एक्ल्याउने बित्तिकै उनीहरू दोस्रो भन्दा बलियो हुने कुरा स्वाभाविक नै हो । निर्वाचनको मुखैमा एमाले र माओवादी केन्द्रले जसरी गठबन्धन बनाए, यसको उद्देश्यनै कांग्रेस हराउने थियो । कांग्रेस नेताहरूले यति सामान्य गणित बुझेकै हुनुपर्छ । योभन्दा फरक परिणाम आउँछ भन्ने मूल्यांकन गर्नुभएको थियो भने त्यो उहाँहरूको बढी आकांक्षा हुनसक्छ ।
बाम गठबन्धन बने पनि सरकार लोकतान्त्रिक गणतन्त्रभन्दा बाहिर जान सक्ने अवस्था छैन । साम्यवाद ल्याउने कुरा उहाँहरूले गर्नुभएको छ । तर, निर्वाचनबाट जितेर गएर साम्यवादी व्यवस्था ल्याउने कुरा सम्भव छैन । एमाले त लोकतान्त्रिक भइसकेको छ । लोकतन्त्र ल्याउन कांग्रेससँगै सहकार्य गरेको दल हो । २०४७ सालपछि एमाले नाममा कम्युनिष्ट भए पनि व्यवहारमा लोकतान्त्रिक भइसकेको पार्टी हो । उसको व्यवहार र आचरणमा पनि त्यो देखिन्छ । त्यकारण कम्युनिष्ट सरकार भए पनि यसले अहिलेको राजनीतिक प्रणालीमा परिवर्तन खासै हुँदैन ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाने जे कुरा छ, त्यो सहज छैन । प्रयास हुनसक्छ । संसदीय सर्वोच्चतामा आमनागरिकको सहभागिता हुन्छ । संसदीय सर्वोच्चता नहुँदा आमनागरिकको सहभागिता हुँदैन । तर, शासकीय शैलीमा भने एमाले र माओवादी मिलेर बन्ने सरकार कठोर हुन सक्छ । सत्ता सञ्चालनको शैली अहिलेको भन्दा भिन्न हुनसक्छ । नेपालमा वामपन्थीहरूको मात्र सरकार नबनेको होइन । उनीहरू सरकार बन्न लागेको अहिले नै पहिलोपटक होइन । २०६४ सालपछि हेर्ने हो भने ४ वटा सरकार उनीहरूले चलाएका हुन् । मनमोहन अधिकारी नेतृत्वको सरकारले केही सकारात्मक काम गरेको थियो । तर, पछिल्ला कम्युनिष्ट प्रधानमन्त्री भएका सरकारलाई हेर्दा खासै काम भएको पाइँदैन । उहाँहरूको सरकारमा भ्रष्टाचार व्याप्त थियो । सुशासन थिएन । अब बन्ने सरकारले आर्थिक विकासको कुरा गर्दा स्थीर रूपमा सरकार सञ्चालन गर्दा स्वभाविक रूपमा केही प्रगति हुन्छ । २०४८ सालमा बनेको कांग्रेस सरकारले आर्थिक विकासको जग खडा गरेको छ । सरकारले स्थायित्व पायो भने त्यही जगमा केही प्रगति हुनसक्छ ।
अहिलेको परिणामबाट कांग्रेसले आत्ममूल्यांकन गर्नुपर्छ । सामान्य गणितलाई हेर्दा पनि अहिलेको परिणाम अस्वभाविक होइन भन्ने कुरा बुझ्नुपर्छ । यो भन्दा फरक परिणाम आउने अपेक्षा थियो भने त्यो उहाँहरूले गरेको बढी चाहना मात्र हो । कांग्रेसको सिद्धान्तमै स्खलन भयो । २००३ सालदेखिको सिद्धान्त र नीति बहसमा नलगी परिवर्तन गरियो । धर्म निरपेक्षताको विषय, हिमाल, पहाड र तराईलाई साझा सूत्रमा बाँध्ने खालको कार्यक्रम भएन । एमाले र माओवादीले एउटै कार्यक्रम लिएर गएपछि जनता त्यता आकर्षित भए । अहिले कम्युनिष्ट पार्टीहरूको सरकार बन्यो र त्यसले स्थायित्व पायो भने आर्थीक विकासका हिसावले स्वभाविक रूपमा अस्थिर सरकार हुँदाको भन्दा केही प्रगति हुन्छ नै ।