प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान «

प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान

विद्यार्थी भर्ना अभियान अन्तर्गत आज देशभर प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान संचालन गरिएको छ ।
‘प्राविधिक शिक्षा आजको आवश्यक्ता’ भन्ने नाराका साथ हरेक युवालाई गरिखाने प्राविधिक शिक्षावारे जागरण ल्याउने उद्देश्यले सबै जिल्लामा आज जागरण अभियान संचालन गरिएको हो । यस अवसरमा आईतबार राजधानी लगायतका जिल्लाहरुमा प्राविधिक शिक्षाको महत्व र यसका आवश्यकता झल्काउने विभिन्न व्यानर तथा प्लेकार्ड सहित देशभर प्रभावफेरी कार्यक्रमको आयोजना गरियो ।
प्रभातफेरीमा शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यहारिक तालिम परिषद, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स, निजी प्राविधिक शिक्षालय महासंघ लगायत प्राविधिक शिक्षासंग सरोकारवाला संःथा तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अबको शिक्षा सिप र उत्पादनमा आधारित प्राविधिक शिक्षा हुनु पर्ने बताए । “पढेका कुरालाई उत्पादनसंग नजोडि देशको विकास हुंदैन,” मन्त्री पोखरेलले भने “नेपालको शिक्षालाई विश्व शिक्षासंग जोडन पनि प्राविधिक र व्यवहारिक शिक्षा आवश्यक रहेको छ ।” उनले सम्वृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न सरकार प्राविधिक शिक्षामा लगानी बढाई यसको विस्तार गर्ने योजनामा रहेको पनि बताए ।
प्राविधिक शिक्षाको नाममा धेरै संघसंस्था खुले पनि गरि खाने गरि सक्षम जनशक्ति अझै उत्पादन हुन नसकेको भन्दै शिक्षा मन्त्री पोखरेलले प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन सिटिइभिटीलाई पुनर्गठन गर्ने तयारी गरेको पनि जानकारी दिए । डा गोविन्द केसीको आमरण अनसनको सन्दर्भमा शिक्षामन्त्री पोखरेलले माथेमा आयोगको प्रतिवेदन अनुसार सरकार चिकित्सा शिक्षामा देखिएको समस्या छुटृै आयोग गठन मार्फत समाधान गर्ने तयारीमा रहेको भन्दै अनसन बन्द गरि काठमाडौं फर्कन आव्हान गरे ।
उनले चिकित्सा क्षेत्रमा सुधारकै लागि भनी अब डा केसीले पटक पटक अनसन बस्नु पर्दैन भन्दै सबै मुद्दाको हल अब आयोग र वार्ताको माध्यमबाट खोजिनु पर्ने बताए । कार्यक्रममा शिक्षा सचिव खगराज बरालले, प्राविधिक शिक्षामा विगतको भन्दा अहिले जागरण बढेको जस्तो देखिए पनि जनशक्ति उत्पादनमा भने अझै कमजोरी रहेको बताए ।
सचिब बरालले अब विद्यार्थीलाई ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारण शिक्षा दिने रणनीतिमा सरकार रहेको भन्दै प्राविधिक शिक्षामा सरकारको उच्च प्राथमिकता रहेको पनि बताए । कार्यक्रममा विद्यार्थी संगठनका नेताहरु सांसद एवं अनेरास्ववियुका नेता नविना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ लगायतकाले प्राविधिकि शिक्षालाई गाउंतहसम्म सबैंको पहुंचमा पुर्याउनुपर्नेमा जोड दिंदै विद्यार्थीको पढाई र परीक्षालाई प्रभावित पार्ने गरि अब कहिल्यै पनि बन्द तथा हडताल जस्ता कार्यक्रम नर्गे प्रतिवद्धता व्यक्त गरे ।
उनीहरुले प्राविधिक शिक्षाको नाममा भएको ठगि बन्द गरिनु पर्ने, प्राविधिक शिक्षामा भएको भ्रष्टाचारको अन्त्य हुनुपर्ने, तथा प्राविधिक शिक्षा विद्यार्थीको पहुंचमा बनाउन शुल्क सस्तो गर्नुपर्नेमा कुरा जोड दिए । डा केसीको आमरण अनसनका सम्बन्धमा नेविसंघका अध्यक्ष नैनसिंह महरले, सरारका कारण नेपालमा न्याय मर्ने अवस्था पुगेको बताए ।
कार्यक्रममा सिटिइभिटिका सदस्य सचिव पुष्प वाग्ले, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष कश्यप पौडेल तथा निजी प्राविधिक शिक्षालय महासंघका अध्यक्ष शैलेन्द्र मोहन झा लगायतका वक्ताहरुले नेपालमा प्राविधिक शिक्षाको विस्तार अपरिहार्य रहेको भन्दै सबै स्थानीय तहमा प्राविधिक शिक्षाको विस्तार गर्नुपर्नेमा जोड दिए ।
उहांहरुले विकसित देशले प्राविधिक शिक्षामा लगानी बढाई देश विकास गरेको उदाहरण दिंदै नेपालको विकासको लागि पनि प्राविधिक तथा व्यवहारिक शिक्षामा लगानी बढाइ विःतार गरिनुको विकल्प नभएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्