चुनावको परिणामले सेयरवजारको दिशा निर्धारण गर्ने «

चुनावको परिणामले सेयरवजारको दिशा निर्धारण गर्ने

साताभरमा ९.७७ अंकले उकालो लागेको नेपाली सेयर बजार आगामी दिनमा समेत अझै उकालो लाग्ने सम्भावना छ । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मतपणिाम यसै साता आइसक्ने भएकाले यसले नै बजारमो आगामी दिशा निर्धारण गर्ने अनुमान सहजै गर्न सकिन्छ । चुनावपछि देशमा स्थायी सरकार आउने विश्वासले लगानीकर्ता सेयर खरिद गरिरहेका देखिन्छन् । गएको साता सेयर बजारमा खरिदकर्ताको चाप अत्यधिक थियो । कांग्रेसी गठबन्धनको तुलनामा वामपन्थी गठवन्धन विजयी भए सेयर बजार घट्ने आँकलन लगानीकर्ताको भए पनि देशमा स्थायी सरकार र लगानीका अन्य क्षेत्र सुस्त भएकाले सेयर बजारमा मनग्य पैसा आउने देखिन्छ । त्यसैले लगानीकर्ता खासै डराएका देखिँदैनन् ।
लगानीका क्षेत्रमध्ये सबैभन्दा अनुशासित क्षेत्र सेयर बजार नै हो । यहाँ वित्तीय विश्लेषणका आधारमा नाफा वा घाटा हुने गर्दछ । सही समयमा सही सूचना थाहा पाउनेले कमाउने सम्भावना रहन्छ भने अन्यले घाटा । कहिलेकाहीँ सही समयमा सूचना पाए पनि लगानी गर्ने सही निर्णय नगर्दा घाटा लाग्न सक्छ भने कहिले सही समयमा लगानी गर्न खोज्दा सही सूचना नहुँदा घाटा लाग्न सक्छ । एउटै समयमा बिक्रीकर्ता आफ्नो सेयर बेच्ने तयारी गरिरहेको हुन्छ भने खरिदकर्ता सही समय हो भनी किनीरहेको हुन्छ । लगानीकर्ताले आफूले किनेको सेयर बढ्दै गएमा संसारको सबैभन्दा वुद्धिमानी आफूलाई सम्झिरहेको हुन्छ । तथापी आफूले किनेको सेयरको मूल्य घटेमा सबैभन्दा ठूलो मुर्ख आफं होला भन्ने सोच्छ । सेयर बजारमा गरेको निर्णयलाई पछि फर्किएर हेर्दा मात्र थाहा हुन्छ कि कुन सहि हो कुन गलत हो भनी ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार १६१६५ कारोबारबाट एक अर्ब ८१ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरका ३३ लाख ७० हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५०.३७ प्रतिशत कम हो । गत साता १७६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३१६७१ कारोबारबाट तीन अर्ब ६५ करोड २५ लाख १७ हजार रुपैयाँ बराबरका ६८ लाख १८ हजार नौ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.७७ अंकले बढेर अन्तिम दिन १५३६.५४ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.७० अंकले बढेर ३२३.६७ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकम (१५ करोड १४ लाख ५० हजार रुपैयाँ) को आधारमा बुटवल पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख पाँच हजार कित्ता) को आधारमा बुटवल पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१२०५ वटा)को आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यस साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया दिनुहोस्