पोखरा राइनोज्–ट्यालेन्ट हन्ट–२०१७

पोखरा राइनोज् ट्यालेन्ट हन्टमा प्रतिस्पर्धाका लागि दर्ता खुला भएको छ । दर्ता प्रक्रिया बिहान ७ देखि बेलुकी ८ः३० बजेसम्म खुल्ला रहने जानकारी दिँदै कार्यक्रममा जम्मा १ सय २० प्रतिस्पर्धीको सहभागिता रहेको पनि आयोजकले जनाए । पोखराका मेयर मानबहादुर जीसीले कार्यक्रमलाई सम्बोधन गर्दै प्रतियोगीहरूलाई स्पर्धाका लागि शुभकामना दिएका थिए । साथै उनले पोखरामा यस्ता प्रतिस्पर्धा तथा खेलको महत्वमाथि पनि प्रकाश पारेका थिए । साथै कार्यक्रमलाई कप्तान शक्ति गौचन तथा युवा खेलाडी विपिनखत्रीले पनि आफ्नो मनत व्यव्यक्त गरेका थिए । कार्यक्रममार्फत प्रतियोगिताका सहभागीलाई व्याट्सम्यान तथा बोलरका रूपमा विभाजन गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । यसरी विभाजन गरिएका व्याट्सम्यानमध्ये केही विकेट किपर्स तथा अलराउन्डर पनि राम्रै संख्यामा देखिएको जानकारी दिइएको छ । ट्रायल सेसनको समाप्तिपछि छनोट मण्डलले १ सय जना सहभागी मध्येबाट २४ जना खेलाडीको छनोट गरी चयन भएका प्रतियोगीहरूको नाम सार्वजनिक गरेका थिए । छनोटमा पर्न सफल खेलाडीलाई यसपश्चात् २४ ओभरको म्याच खेल्न लगाइएको थियो ।
यस म्याचमार्फत छनोट समूहले २४ जनामध्ये उत्कृष्ट ७ को चयन गरेको जानकारी दिइएको छ । नविन झा र शक्ति गौचन निर्णायक मण्डलीमा रहेको छनोट समूहलाई उत्कृष्ट ७ को छनोट गर्न निकै गाह्रो परेको थियो । आखिरमा अन्तिम छनोटमा पर्न सफल भएका खेलाडीहरू मेखबहादुर सेन, प्रकाश खनाल, विज्ञान विष्ट, दीपक गुरुङ, कुशल मल्ल, सुमन घिमिरे र देवशाह छन् भने दुई खेलाडी किरण पौडेल र विश्वास पराजुलीलाई भने स्ट्यान्ड बाइका रूपमा राखिएको छ । साथै सोहेल कुँवर र सृष्टि पौडेललाई दुई युवा खेलाडीका रूपमा स्पेशल इन्ट्री पनि प्रदान गरिएको थियो । छनोटमा परेका उत्कृष्ट सातलाई भने डिसेम्बर १२ देखि पोखरामा सञ्चालन हुने क्याम्पमा राखिने जानकारी दिइएको छ । यी खेलाडीलाई टिमको साथमा तालिम प्रदान गरिने र उत्कृष्ट एकको छनोट गरिनेछ । यसरी छनोटमा पर्ने खेलाडीलाई पोखरा राइनोजको समूहमा सहभागीभई आयोजना हुन गइरहेको टीभीएस एभरेस्ट प्रिमियर लिगमा समावेश हुने अवसर प्रदान गरिनेछ ।