‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभीटी नेटवर्क’बाट नेपालले फाइदा लिनुपर्ने

नेपालका लागि चिनियाँ राजदुत यु होंगले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभीटी नेटवर्क’ को ’फ्रेमवर्क’ अन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने बताएकी छिन् । नेपाल चेम्बर अफ कमर्स र नेपाल–चीन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीद्वारा शुक्रबार संयुक्त रुपमा आयोजित ‘प्रोस्पेक्ट्स अफ नेपाल–चिन ट्रेड एण्ड इकोनोमिक रिलेसन्स’ बिषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले बताएकी हुन् ।
संसारलाई समृद्धिले जोड्ने चिनियाँ सपना जोडिएको बृहत बिश्वब्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी भैसकेकोले यस अन्तर्गत हुने सहकार्यबाट नेपालको समृद्दिको गति तिब्र बन्ने कुरा उनले बताइन् । भर्खरै मात्र नेपालका प्रधानमन्त्री के. पी. शर्मा ओलीको चीन भ्रमणको क्रममा भएका सहमति र सम्झौताहरु ऐतिहासिक भएको भन्दै उनले भनिन्, “नेपाल–चीन सम्बन्ध यो बिन्दुमा आएर ऐतिहासिक क्षेणमा आइपुगेको छ । यो मैत्रिपूर्ण सम्बन्धको फ्रेममा साझा धारणा र अनुभवको आदान–प्रदानले दुवै देशलाई प्रचुर फाइदा र सिकाई हुनेछ ।“
नेपाल–चीनको नयाँ नाका केरुंगलाई आधुनिक भौतिक पूर्वाधार सहितको अन्तर्राष्ट्रिय नाकामा रुपान्तरण गर्न चीन सहयोग गर्न तयार भएको समेत उनको कथन थियो । तातोपानी नाकालाई पुनः संचालनमा ल्याउने सवालमा दुई–पक्षीय रुपमा उच्च तहमा थप कुराकानी गर्दै जान आवश्येक रहेको उनले बताइन् ।
सन् २०२० सम्ममा २० लाख पर्यटक भित्रर्याउने नेपाल सरकारको लक्ष प्राप्त गर्ने कुरामा चीनले सहयोगी भूमिका खेल्न तयार रहेको कुरा पनि राजदुत होंगले बताइन् । कनेक्टिभिटीसंग सम्बन्धित भौतिक पूर्वाधार निर्माणको लागि संयुक्त लगानी र मेहनत महत्वपूर्ण हुने उनको तर्क थियो ।
देशको समृद्धिको लागि शिक्षा महत्वपूर्ण भएकोले नेपालको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले प्रदान गरिएको छात्रवृत्तिमा हाल सात हजार भन्दा बढी बिद्यार्थीहरु चीनमा अध्ययन गरिरहेको कुरा पनि उनले बताइन् ।
एक अर्को प्रसंगमा राजदुत होंगले भनिन्, “नेपालको सम्भाव्यता थाहा भए भन्दा निकै बढी रहेको र उक्त सम्भाव्यता पत्ता लगाउन चीनले सहयोग गर्नुपर्छ्र ।“
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको समृद्धिको लागि थप चिनियाँ लगानी अपरिहार्य रहेको कुरा बताए । अफ्रीका, युरोप, लेटिन अमेरिका र एसियाली देशहरुमा चिनियाँ लगानीले कतिपय ठाउँमा कायापलट गरेको भन्दै उनले चिनियाँ लगानीमा प्रचुर मात्रामा बृद्धि हुन गएमा नेपालको लागि मात्र होइन, दुई देशबीच प्रबिधि, लगानी, श्रम र अनुभवबिचमा हुने सहकार्यको माध्यमबाट नेपालमा उत्पादित बस्तुहरुको चीनमा हुने निर्यातले चीनलाई पनि फाइदा पुने बताए ।
चीन सबै भन्दा ठुलो लगानीकर्ता र निर्यातकर्ता मात्र नभै विश्वमै सबै भन्दा ठुलो आयातकर्ता समेत भएकोले उसको हिमालयन छिमेकी नेपालको उत्पादनलाई चीनले आयात गरेर नेपालको चीनसंगको ब्यापार घाटा कम गर्न सघाउनुपर्ने श्रेष्ठको धारणा थियो ।
चिनियाँ दुताबासको कुटनीतिक मण्डलका अन्य सदस्यहरु र नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा डा. अन्जान शाक्य, दिपेशरत्न तुलाधर, निरज राई लगायतले पनि नेपाल–चीन ब्यापार सम्बन्धबारे आफ्नो भनाई राखेका थिए ।