महँगी बढेको उपभोक्ताको गुनासो «

महँगी बढेको उपभोक्ताको गुनासो

कालिकोटका उपभोक्ताले बजारको नियमित अनुगमन नहुँदा उपभोक्ता मारमा परेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय कालिकोटले गरेको उपभोक्ता हित संरक्षणसम्बन्धी अन्तक्र्रियामा सराकोरवालाहरुले नियमित बजार अनुगमन नहुँदा उपभोक्ता मारमा परेको बताएका हुन् ।
बजार अनुगमन गर्ने संयन्त्र प्रभावकारी नहुँदा बजारमा बेचिने वस्तु कम गुणस्तरयुक्त, कम तौल र महँगो मूल्यमा ब्यापारीले बिक्री गर्ने गरेको नेपाली कांग्रेसका सचिव दमनबहादुर शाहीले बताए । “बजार उद्योगी तथा व्यापारीको नियन्त्रण गरेर राखेका छन्,” उनले भने, “बजार अनुगमन गर्ने निकायले उद्योगी ब्यापारीका अगाडि झुक्नुपर्ने अवस्था आएको छ ।”
नागरिक अगुवा ऐनबहादुर शाहीले एउटै सामानको मूल्य पनि बजारमा फरक–फरक हुने गरेको र म्याद नाघेका दैनिक उपभोग्य वस्तुको बिगबिगी हुँदा पनि सरोकारवाला निकाय मौन बसेको आरोप लगाए । नियमित बजार अनुगमन गर्न सकेर बजारमा भएको मनपरी नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।
कर्णाली खाद्य सरोकार समूह कालिकोट अध्यक्ष कालीबहादुर मल्लले सरकारले करको दायरा नबढाउँदा पनि व्यापारीले हरेक वस्तुको मूल्यवृद्धि गरेको आरोप लगाए । “सरकारले करको दायरा नै बढाएको छैन, तर उपभोक्ता बढी मूल्य तिर्न बाध्य भएका छन्,” उनले भने, “व्यापारीले झुठा प्रचार गरेर मूल्यवृद्धि गरेका छन् ।”
जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख चन्द्रनाथ गौतमले स्रोत साधन, दक्ष जनशक्ति र संयन्त्रका कारणले बजारको अनुगमनमा केही समस्या आएको बताए । “बजारमा भएको अनियमितताका बारेमा उपभोक्ता स्वयम् जागरुक हुनुपर्छ,” उनले भने, “नियमित बजार अनुगमन गर्न साधन र स्रोतको कमी छ ।” उनले बजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिइएकाले अब प्रभावकारी अनुगमन हुने आशा गरेको बताए ।
उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष सूर्यबहादुर शाहीले ढुवानी खर्चमा भएको वृद्धि र घरबहालका कारण उपभोग्य सामग्रीको मूल्य बढेको दाबी गरे । उनले मुलुकका सबै ठाउँमा मूल्यवृद्धि भएको जिकिरसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्