नर्सरीबाट लाखौं आम्दानी «

नर्सरीबाट लाखौं आम्दानी

म्याग्दी-म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका एक किसान फलफूलको नर्सरीबाट लाखौं आम्दानी गर्न सफल भएका छन् । पाँच वर्षअघि नर्सरी स्थापना गरी सुन्तला, कागतीलगायतका विरुवा उत्पादन गर्दै आएका जोखबहादुर विकले यसै महिनामा १९ हजारभन्दा बढी सुन्तलाका बिरुवा बिक्री गरेका छन् । म्याग्दीको रघुगंगा, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका कृषि सेवा केन्द्र तथा कृषकसमेत नर्सरीमै पुगेर १९ हजार बढी सुन्तलाका बिरुवा खरिद गरेका हुन् ।
यस्तै करीब ४ हजार कागतीका बिरुवासमेत बिक्री भइसकेको छ । यो वर्ष मात्रै विकले सुन्तला र कागतीको बिरुवा बिक्री गरेर ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बताए । प्रतिबिरुवा २० देखि २५ रुपैयाँ बिक्री हुने गरेको छ । उनको नर्सरीमा सुन्तलाका अझै ५ हजार बिरुवा छन् । “विरुवा उत्पादन गर्न सके सबै बिक्री हुने भएकाले नर्सरीतर्फ उत्साहित बनेको छु,” उनले भने । कृषि सेवा केन्द्र मार्फत तालिम लिएर नर्सरी स्थापना गरेका विकले हरेक वर्ष विरुवाको माग बढ्दो क्रममा रहेकाले आगामी बर्षदेखि अझै ठूलो मात्रामा सुन्तला, कागती लगायतका फलफूलका बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
सुन्तलाका विरुवाका लागि तनहुँ, गोर्खा र धादिङबाट समेत माग आए पनि उत्पादित सबै विरुवा स्थानीयस्तरमै खपत भएपछि माग पूर्ति गर्न नसकिएको कृषक विककी छोरी सिताले बताइन् । फगाममा स्थानीय दिलमायाँ तिलिजाले समेत २ लाख रुपैयाँ बराबरका सुन्तालको विरुवा बिक्री गरेकी छन् ।
असार महिनासँगै मनसुन सुरु भएपछि कृषकहरु यतिबेला सुन्तला, कागतीलगायतका फलफूल रोप्न व्यस्त बनेका छन् भने स्थानीय तहहरुले समेत कृषकलाई अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्