खनिज पदार्थ उत्खननबारे नीति बनाऊ «

खनिज पदार्थ उत्खननबारे नीति बनाऊ

नेपालबाट उत्पादित सफायर, काइनाइटसहितका रत्नपत्थरहरू भारतदेखि अन्य एसियाली बजारमा मात्र होइन, अमेरिका र युरोपको बजारमा समेत महँगो मूल्यमा बिक्ने गरेको तथ्य इन्टरनेटका विभिन्न व्यापारिक साइटहरूमा राखिएका विवरणले देखाउँछन् ।नेपालको खनिज पदार्थको अथाह उपलब्धता रहँदै आएको छ । खानी तथा भूगर्भ विभागले गरेको अध्ययनअनुसार देशका विभिन्न भागमा ६२ प्रकारका खनिज पदार्थ पाइए पनि २५ जिल्लामा १३ प्रकारका खनिजको व्यावसायिक उत्खनन गर्न सकिने देखिएको छ । विगतमा देशका केही क्षेत्रमा रहेका फलाम र तामा खानीको उत्खनन गरेर व्यावसायिक उत्पादन गरिएको इतिहास रहे पनि अन्य धातुको उत्खनन हुन नसकेको देखिन्छ । परिमाणबारे अनुमानसम्म गर्न नसकिए पनि नेपालमा युरेनियमसम्मका बहुमूल्य खनिज भेटिएका छन् । नेपालमा क्वार्ज÷स्फटिक, धादिङमा रुबी-माणिक, संखुवासभामा गार्नेट-रक्तमणि र अक्वामरिन-नील हरितमणि, ब्लु स्याफायर-नीलमणि लगायतका विभिन्न बहुमूल्य पत्थर पाइने गरेको अध्ययनले देखाएको छ । विश्वभरि गहना वा अन्य सजावटका लागि प्रयोग गरिने एक हजार रत्न पत्थरमध्ये आठ प्रकारका रत्न पत्थर नेपालमा पाइने गरेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार रुबी, सफायर, टुर्मालिन, ज्यास्पर, कोरोन्डम, टोपाज, इमेराल्ड, क्वार्ज, गार्नेट, ओपल, ज्याडेट, मुनस्टोन, काइनाइड, एक्युमरिनजस्ता बहुमूल्य पत्थरको नेपालमा ठूलो भण्डार छ । हिमालयन सफायर भनिने विश्वकै सर्वाधिक महँगो रत्नपत्थरसमेत नेपालमा पाइने गरेको अध्येताहरूले उल्लेख गरेका छन् । देशका पूर्वको इलाम–ताप्लेजुङदेखि बैतडीसम्मकै भूभागमा फरक–फरक प्रकृतिका रत्नपत्थर पाइन्छन्, जसका व्यावसायिक उत्खनन हुन सकेको छैन । रत्नपत्थर उत्खननका लागि केही कम्पनीहरूले अनुमति लिएको भए पनि तोकिएको मापदण्डभन्दा बाहिर गएर उत्खनन हुँदा त्यसका प्रतिकूल असरहरू देखिन थालेका छन् ।
नेपालमा पाइने खनिज उत्खननका लागि स्वदेशीदेखि विदेशी कम्पनीहरूसमेत आकर्षित भइरहेका छन् हालसम्म खानी तथा भूगर्भ विभागबाट चार सयभन्दा अधिक कम्पनीले खनिज उत्खनन अनुमति लिएको तथ्यांक छ । उत्खनन अनुमति लिएका कम्पनीहरूले केकस्तो काम गरिरहेका छन्, त्यहाँबाट उत्पादित खनिजहरूको बिक्रीवितरण वा व्यवस्थापन कसरी गरिरहिएको छ भन्ने अनुगमन नहुँदा यहाँका खनिज पदार्थहरूको सदुपयोगभन्दा बढी दुरुपयोग भएको हुन सक्ने सम्भावना बढी छ । उत्पादित खनिज पदार्थ, त्यसमाथि पनि रत्नपत्थरहरू नेपालबाट उत्खनन र प्रशोधन गरी विश्व बजारमा महँगो मूल्यमा बिक्री भइरहँदा सरकारले त्यसबापत पाउने राजस्व भने निकै न्यून हुनुले सरकारको आँखा छलेर यस्ता मूल्यवान खनिजहरूको व्यापार फस्टाएको देखिन्छ । नेपालबाट उत्पादित सफायर, काइनाइटसहितका रत्नपत्थरहरू भारतदेखि अन्य एसियाली बजारमा मात्र होइन, अमेरिका र युरोपको बजारमा समेत महँगो मूल्यमा बिक्ने गरेको तथ्य इन्टरनेटका विभिन्न व्यापारिक साइटहरूमा राखिएका विवरणले देखाउँछन् ।
नेपालको संविधान–२०७२ अनुसार अब यस्ता खनिज पदार्थहरू प्रदेश तथा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र आउने भएकाले निर्वाचनलगत्तै बन्ने सरकारहरूले उचित नीति अवलम्बन गर्नैपर्छ । कुनै एक क्षेत्रमा पाइने खनिजको राष्ट्रव्यापी महत्व
र उपभोग हुन सक्ने भएकाले संघीय सरकारले राष्ट्रिय खनिज उपयोग नीति बनाएर सोहीअनुसार प्रादेशिक सरकारहरूले व्यवस्थापनको नीति लिन सकेनन् भने भोलि गएर समस्या उत्पन्न हुन सक्छ । नेपालको खानी उत्खननमा विगतदेखि नै सरकारी निकायहरूबीचकै समन्वयको अभावको समस्या रहँदै आएको थियो । यो समस्या अब प्रादेशिक तथा स्थानीय तहसम्म विस्तार नहोस्; प्रदेशहरूको आय विस्तारमा पनि उपलब्ध खनिजले स्रोतका काम गर्न सकोस् र त्यसले वातावरणीय समस्या समेत नपारोस् भनेर उचित नीति बनाइनु पर्छ । खनिज पदार्थको जथाभावीको उत्खननले भोलि अर्को ठूलो समस्या उत्पन्न गर्ने भएकाले अहिले नै त्यसबारे सोच बनाइनु आवश्यक छ ।

 

 

प्रतिक्रिया दिनुहोस्