जिससमा सूचनाबिना सामान खरिद

कालिकोट-जिल्ला समन्वय समिति कालिकोटले सार्वजनिक सूचनाबिना नै ७ लाखको सामान खरिद गरेको छ । जेठ २५ गते बसेको जिल्ला समन्वय समितिको बैठकले कार्यालय प्रयोजनका लागि फर्निचर, कम्प्युटर र एक स्कुटर खरिद गर्ने निर्णय गरेको थियो ।
समितिको निर्णयलाई नै आधार मानेर सिधै समन्वय समितिका दुई जना पदाधिकारी र एक जना कर्मचारीले सामान खरिद गरेको बिल कार्यालयमा पेस गरेपछि सार्वजनिक खरिद ऐनविपरीत सामान खरिद भएको सार्वजनिक भएको हो ।
सामान्यतया कार्यालयले सामान खरिद गर्दा सार्वनिक खरिद ऐनअन्तर्गत सूचना प्रकाशित गरेर सामान खरिद गर्नुपर्नेमा दुई जना समन्वय समितिका सदस्य र कार्यालयका एक जना कर्मचारी गएर बिना सूचना, कोटेसन सामान खरिद गरेर भुक्तानी गरिनु गलत भएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए ।
“बैठकमा निर्णय भएको कुरा सत्य हो, तर खरिद गर्दा सूचना प्रकाशित गर्ने र कोटेसन मागेपछि मात्र जाने भनेर निर्णय गरेका थियौं ।” उनले भने, “कार्यालयका कर्मचारी र सदस्यहरूले नबुझेर यो काम गर्नुभएछ ।”
सार्वजनिक खरिद ऐन २०६३ मा लागत अनुमान तयार गरेर मात्र समान खरिद गर्नुपर्ने उल्लेख गरेको छ । ऐनको परिच्छेद २ को पाँच नम्वर बुदाँमा सार्वजनिक निकायले कुनै पनि खरिदको लागि तोकिएबमोजिम लागत अनुमान तयार गर्नु भनेर उल्लेख गरिएको छ ।
पाँच लाखसम्मको खरिद गर्नु परेमा मात्र सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने विषयमा समन्वय समितिका लेखापाल डिल्ली शर्माले बताए । “७ लाखको सामान खरिद भए पनि फरक शीर्षकमा समान खरिद भएकाले सूचनाको आवश्यकता हुँदैन् ।” उनले भने, “यस विषयलाई धेरै बहसको विषय बनाइनु हुँदैन् ।”
समान खरिदमा जानु भएका जिल्ला समन्वय समितिका कर्मचारी मोहन महरा र जिल्ला समन्वय समिति सदस्य ऐना शाही र बिर्खबहादुर शाही गएको जिल्ला संमन्वय समिति कालिकोटले जनाएको छ ।