भारु सटहीमा सरकारी उदासीनता

जनकपुरका उपेन्द्र मण्डलले आफ्नो छोरीको बिहेका लागि जम्मा गरेको १ लाख २० हजार रुपैयाँ कागजको खोस्टासरह भएको छ । निम्न वर्गको रिक्साचालक मण्डलले खाइनखाइ भारतमा गर्न लागेको छोरीको विवाहका लागि संकलन गरेका थिए । त्यस्तै आफ्नी बिरामी आमाको भारतमा उपचार गर्न लानको लागि वीरगन्जका रामानन्द झाले रिन काढेको ५० हजार भारु अहिले बेकम्मा भएकाले उपचार कसरी गर्ने चिन्ताग्रस्त छन् ।
भारतीय नोटबन्दीले नेपालीलाई असर पारेका यी र यस्ता घटना प्रतिनिधि मात्र हुन् । बिस्तारै यस्ता हृदयविदारक घटना उजागर हुँदै आएका छन् । यस विषम परिस्थितिको व्यवस्थापन गर्न राज्य मन, वचन र कर्मले लाग्नुपर्नेमा सामान्य झारा तिर्ने खालका सन्देशप्रवाह हुनु दुर्भाग्य हो । भारु प्रतिबन्धले नेपालमा हुने गरेका अवैध कारोबारलाई निरुत्साहित गर्दै नियमन गर्ने सवालमा भारु प्रतिबन्धको सकारात्मक प्रभाव पर्न सक्छ ।
भारतका बैंकहरूमा पैसा साट्नेहरूको अस्तव्यस्त लामो लाइन, खाद्यान्नको लुटपाट, आत्महत्याको लहर, सत्तारूढ दल भाजपाबाहेकका राजनीतिक दलहरूको प्रतिवाद र विरोध तथा जन आक्रोशको व्यवस्थापन गर्न मोदी सरकारलाई हम्मे–हम्मे परेको छ ।
नेपालमा त्यो स्तरको चहलपहल नभए पनि व्यापार व्यवसाय सञ्चालन गर्ने तथा घर भान्सा चलाउने खासगरी सीमावर्ती क्षेत्रका जनतालाई मर्का परेको छ । भारतीय सीमा बजार नजिक भएका नेपाली बस्तीहरूमा बसोबास गर्ने जनतामा प्रायशः धेरथोर सबैसँग भारतीय नोट हुनु सामान्य नै हो ।
सीमित आम्दानी भएका त्यस्ता जनतादेखि ठूलो धनराशि लगानी गर्दै आएका व्यापारीहरूलाई यसले सामान्यदेखि गम्भीर असर पारेको छ । त्यस्तै सुदूर पश्चिमका अधिकांश जनता भारतमा रोजगारीमा जाने र फर्किंदा सजिलोका लागि पनि ठूला दरका भारु ल्याउने प्रचलन भएको कारणबाट पनि उनीहरूले विदेशमा पसिना बगाएर कमाएको सम्पत्ति माटोमा मिल्ने आशंकाले विक्षिप्त भएका छन् ।
भारतमा कार्यरत नेपाली सैनिकहरूले पठाएको रकमसमेत अहिले बेवारिसे बनेको अवस्था छ । सरकारी उदासीनताको कारण धेरथोर त्यस्ता नोट भएका सर्वसाधारण र व्यापारी अन्यौल र बेसहारा बनेका छन् । भारु ५ सय र १ हजार नोटको सटही प्रतिबन्धका कतिपय सकारात्मक फाइदा पनि नेपालले लिन सक्छ । राष्ट्र बैंकले अहिले सबै वित्तीय संस्थालाई भारु नसाट्ने उर्दी जारी गरेको छ ।