ब्राजिलले जित्ने एआईको पूर्वानुमान

यसपटकको विश्वकपको पूर्वानुमान आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) मा अधाारित भएर पुनः गरिएको छ । खेल सुरु हुनुअघि गरिएको एआई प्रविधिमा आधारित विश्लेषणले ब्राजिलकै पोल्टामा विश्वकपको नतिजा आउने पूर्वानुमान गरेकोमा समूह चरणको खेलपछि पनि एआईले ब्राजिलले नै जित्ने पूर्वानुमान गरेको छ ।
गोल्डम्यान स्याक्सले समूह १६ को खेलपछि एआईको मद्दतले गरेको नयाँ पूर्वानुमानअनुसार ब्राजिलले नै विश्वकप फाइनल जित्नेछ । यसअघि एआईले गरेको पूर्वानुमानमा फाइनलमा जर्मनी र ब्राजिल पुग्ने जनाएको थियो । तर खेलको समूह चरणमै जर्मनी बाहिरिसकेकोले एआईलाई पुनः खेल, खेलाडी र परिणामहरूको आधारमा नयाँ पूर्वानुमन गर्दा पनि ब्राजिल नै जित्ने देखाएको छ ।
ब्राजिलसँग क्रोएसियाले फाइनल खेल्ने अवस्था आउने नयाँ अध्ययनमा आधारित प्रतिवेदनले देखाएका छन् । स्पेन रुससँगको खेलमा पराजित भएपछि क्रोएसियालाई अगाडि बढ्ने अवसर प्राप्त भयो । क्रोएसियाले इंग्ल्यान्डलाई सेमीफाइनलमा हराएर फाइनलमा पुग्नेछ । एआईले ब्राजिललाई जीतका लागि २४.९ प्रतिशत दिएको छ । ब्राजिलपछि फ्रान्स जित्ने टोलीको रूपमा दोस्रो छ । एआईले फ्रान्सलाई १५.८ प्रतिशत दिएको छ । फाइनलमा पुग्ने फ्रान्सको सम्भावना २५.२ प्रतिशत र क्रोसियाको प्रतिशत ३३.२ प्रतिशत रहेको छ । इंग्ल्यान्डको फाइनलमा पुग्ने सम्भावना १५.४ प्रतिशत छ । तर फाइनलमा जित्ने सम्भावना ५.७ प्रतिशत रहेको छ ।
एआई सिस्टमले कुनै नतिजा निकाल्न यसमा आवश्यक सूचना राख्नुपर्छ । एआईले सूचनाको विश्लेषण गर्छ र नतिजा निकाल्छ । यी सूचनाहरू खेल, खेलाडी र टीमको विगतका गतिविधिका आधारमा तय गरिन्छ । ब्राजिलको जित्ने सम्भावना बढी भए पनि फ्रान्स, इंग्ल्यान्ड र क्रोएसियाको जीतको झिनो सम्भावनालाई नकार्न भने सकिन्न ।
क्रोएसियाले आफ्नो खेललाई व्यापक सुधार गरे अगाडि बढ्नुपर्ने देखिएको छ । क्रोएसियाले यस्तो गर्न सके उसले आफ्नो सन् १९९८ मा तेस्रो स्थान प्राप्त गरेको इतिहासलाई फेर्न सक्छ । यो पटक क्रोएसियाले फ्रान्सलाई हराएर फाइनलमा पुग्न सक्ने देखिएको छ । अनि ब्राजिलसँग भिडन्त गरी जित हासिल गर्न सक्छ । एआईको पूर्वानुमानमा स्पेनले रुससँग हार्नुपर्ने अवस्था देखिएको थिएन ।