धुनिबेसीमा कृषि उद्यमशीलता प्रवद्र्धन कोष स्थापना

समृद्ध नेपाल, खुसी नेपालीको राष्ट्रिय अभियानलाई स्थानीयकरण गर्न समृद्ध धुनिबेसी, खुसी नगरबासी अभियान सञ्चालन गरी सबैलाई उत्पादनसँग जोड्न धुनिबेसी नगरपालिकाले कृषि उद्यमशीलता प्रवद्र्धन कोष स्थापना गरेको छ । तरकारी पकेट क्षेत्रका रूपमा पहिचान बनाएको धुनिबेसीलाई तरकारी पकेट क्षेत्रैकै रूपमा अझ विस्तार गर्न तीन प्रतिशत सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउन १ करोड रुपैयाँको कृषि उद्यमशीलता प्रवद्र्धन कोष स्थापना स्थापना गरेको छ । उक्त बजेट कृषि व्यवसायीकरण, निम्न आय भएका युवाहरूलाई कृषि पेसामा आकर्षण गर्न, कृषक र कृषकहरूलाई सामूहिक जमानतमा सहकारीमार्फत लगानी गर्ने नगरपालिकाको योजना छ ।
कृषि,पशुपन्छी तथा सहकारी क्षेत्रलाई उच्च प्राथमिकता क्षेत्र निर्धारण गरी २ करोड ५० लाख आथिृक वर्ष ०७५/७६ का लागि नगरसभाले बजेट स्वीकृत गरेको छ । दुग्ध सहकारीको वस्तुगत तथा प्राविधिक सहायता, कृषिउपज बजारीकरण, धार्केमा कृषि बजारको पूर्वाधार विकास तथा यान्त्रीकरण गरिनेछ ।
यसैगरी नगरसभाले पर्यटन क्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फ ३२ लाख, ३१ वटा खानेपानी योजनाका लागि ३ करोड ६६ लाख, ४२ वटा सडकको स्तरोन्नतिका लागि ५ करोड १६ लाख, साझेदारी कार्यक्रमका लागि २७ लाख, साना क्रमागत योजना सम्पन्न गर्न २७ लाख, पूर्वाधार मर्मत तथा योजना सम्पन्न गर्नका लागि ८० लाख, विद्यालयमा इलाइब्रेरी तथा विद्युतीय हाजिरका लागि ४४ लाख ५० हजारसहित शिक्षा क्षेत्रतर्फ ११ करोड ४९ लाख ८० हजार विनियोजन गरिएको छ ।
नगरपालिकाले ५४ करोड ४९ लाख १ हजारको बजेट विनियोजन गरेको छ । कुल विनयिोजन बजेटमध्ये २५ करोड ६६ लाख १३ हजार चालु खर्चतर्फ र २८ करोड ८२ लाख ८८ हजार पुँजीगततर्फ बजेट नगर उपप्रमुख निरु खरेल स्वास्थ्य उपचारको क्रममा अस्पतालमा रहेकाले नगर कार्यपालिका सदस्य लक्ष्मी न्यौपानेले असार १० गते नगर सभामा पेस गरेकी थिइन् । यसअघि नगर प्रमुख बालकृष्ण आर्चायले नीति तथा कार्यक्रम पेस गरेका थिए ।