Logo

बुद्धचित सुरक्षार्थ हतियारसहित पहरा

काभ्रे- केही वर्षअघिसम्म पनि कुहिएर खेर जाने बोधिचित्त (बुद्धचित्त) माला पछिल्ला वर्षहरूमा करोडांैमा बिक्री हुन थालेपछि यसको चर्चा चुलिएको छ । फलेको ठाउँमै चोरी हुन थालेपछि बैंकमा जस्तै सुरक्षागार्ड राखेर तिमाल र शिखरआम्बोटे क्षेत्रका स्थानीयले सुरक्षा दिएका छन् । ५ वर्ष अघिसम्म त्यसै कुहिएर जाने यो मालाबारे अनभिज्ञ यहाँका स्थानीय पछिल्लो समयमा यसको मूल्य चुलिएसँगै दाना जोगाउन लागि परेका हुन् । उनीहरूले बोटलाई समेत तारबार लगाएर घेरेका छन् ।
५ वर्षदेखि कारोबारमा वृद्धि भएपछि बुद्धचित्त मालालाई गन्तव्यसम्म लैजान व्यापारीलाई सुरक्षा आवश्यक पर्ने गरेको छ । अघिल्लो वर्ष अली चर्चा कम भए पनि यो वर्ष फेरि चर्चा चुलिएको छ । वनले बयर प्रजातिको भन्दै बुद्धचित्त प्रतिकिलो ८ रुपैयाँ कर लाग्ने मूल्यांकन गरी त्यसको १३ प्रतिशत राजस्व संकलन गर्दै आएको छ । वन कार्यालयबाट सामान्य इजाजत लिएपछि यो बेच्न पाइने भएकाले वनले छुटपुर्जी दिने बित्तिकै यो बिक्री गर्न लैजान कुनै समस्या पर्दैन । प्रतिकिलो ८ रुपैयाँ मूल्यांकन गरे पनि एउटै मालाको ३० हजारदेखि ५ लाख रुपैयाँ पाउने स्थानीयको भनाई छ ।
काभ्रेको नमोबुद्ध नगरपालिका–५ कोटतिमाल, तेमाल गाउँपालिकाका ठूलोपर्सेल, चापाखोरी, मेच्छे, पोखरीनारायणस्थान, रोशी गाउँपालिकाका शिखरअम्बोटे, सिसाखानी र महादेवटार यसको पकेट क्षेत्र हुन् । अहिले फलेको फल जोगाउन सबै बोटमा कुरेर बस्नेहरूको संख्या बढ्दो छ । टिप्ने बेला भएको अहिले सबै ठाउँमा हतियारसहितका मानिसलाई बोट कुर्न राखिएको छ । बुद्धको चित्त बसेको विश्वास गरिएको बुद्धचित्त माला बौद्ध धर्मावलम्वीले जपका लागि अधिक प्रयोग गर्न थालेपछि यसको मूल्य बढेको हो । बुद्धचित्तको मालाको बोट रुँग्घका लागि लाखौं खर्च हुन थालेको छ । प्रत्येक रुख धनीले मालाको सुरक्षाका लागि ठूलो संख्यामा युवा परिचालन गरेपछि झैझगडा र लेनदेनकाबीच विभेदसमेत बढ्न थालेको छ ।

प्रहरीको सहयोगमा बेला नै नभई बुद्धचित्त टिपियो
दुई पक्षबीच विवाद भएर अदालती प्रक्रियामा पुगेको रोशी गाउँपालिकाका एक किसानको बुद्धचित्त एक पक्षसँग मिलेमतो गरी कमिसन आउने लोभमा प्रहरीले बेला नै नभई टिपेको छ । वन कार्यालयको छुटपुर्जी बिना टिपिएको फल बरामत गर्नुपर्ने प्रहरीले नै वन कार्यालयको पुर्जी विननै फल टिपेर ल्याएको भन्दै विवाद चर्किएको छ । रोशी गाउँपालिकास्थित तत्कालिन सिसाखानी गाविस–८ का आइतेसिंह थिङको एउटा बुद्धचित्तको रुखमा फलेको फल टिप्नु अघि त्यहाँ जडान गरिएको सीसी क्यामरा पनि फुटाइएको छ ।
प्रहरीसमेत संलग्न भएर फल टिप्दा बोट धनी र खरिदकर्ता भनिएका अर्को पक्षलाई कुनै जानकारी नदिएको बताइएको छ । त्रिपक्षीय विवाद बढेपछि उच्च अदालतमा जिल्ला प्रशासन काभ्रे विरुद्ध निषेधाज्ञा मुद्धा परेको छ । प्रहरीले बोटधनीलाई रकम नै नदिएको पक्षसँग मिलेर जबरजस्ती फल टिपेर ल्याएको आरोप लागेको छ । एउटै बोटको फलको करोडौं रुपैयाँ आउने र त्यसभित्रबाट सुरक्षा दिएबापत प्रहरीले लाखौं रकम पाउने भएपछि बर्सेनि बुद्धचित्तको फलमा प्रहरीले आँखा लगाउने गरेको हो ।
बोधिचित्त कुर्न बसेका स्थानीय कर्मा लामा, राज तामाङ र बिजय तामाङले प्रहरी निरीक्षक सुशील केसीकै अगाडि ताल्चा फुटाएर सीसी क्यामेरा फुटाएको बताए । उनीहरूले केसीले बोधिचित्तको फल टिप्न पठाएर आफूहरूलाई भ्यानमा राखेको आरोपसमेत लगाए ।

सूचीकृत गर्दै स्थानीय सरकार
काभ्रेका रोशी र तेमाल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका बोधिचित्त बोटलाई दर्ता गर्न थालेका छन् । यसको दाना (गेडा) टिप्ने बेलामा किसान असुरक्षित हुने क्रम बढेपछि यस्तो निर्णय गरिएको हो ।
व्यापारीले हचुवाकै भरमा लाखौं रुपैयाँ दिएर एक वर्षदेखि दसौं वर्षका लागि भन्दै बुद्धचित्तको रुखको फल किन्दै आएका छन् । रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर (डिबी) लामाले किसानलाई सूचीकृत हुन र बोट दर्ता गर्न आह्वान गर्ने निर्णय भएको बताए ।
रोशी गाउँपालिकामा समाहित भएका साविकका शिखर अम्बोटे, महादेवटार र सिसाखानी गाविसमा बढी मात्रामा बुद्धचित्तको खेती हुँदै आएको छ । शिखर अम्बोटे र सिसाखानी क्षेत्रमा बुद्धचित्तको सिजनमा उत्पादक किसान बढी असुरक्षित हुँदै आएका छन् । यसै कारण अघिल्ला वर्षमा शिखर अम्बोटेबाट हेलिकोप्टरमै बुद्धचित्तको गेडा काठमाडौं लगिएको थियो । बुद्धचित्तको उद्गमथलो मानिने तेमाल गाउँपालिकाले पनि रोशीकै अनुसरण गर्दै किसान र बोटको सूचीकरण गर्न थालेको छ । “हामीले प्रतिकिलो बुद्धचित्त गेडाको एक सय रुपैयाँ शुल्क लिने निर्णय गरेका छौं, गाउँपालिकाभरबाट करिब ६ हजार किलो गेडा निकासी हुने अनुमान गरेका छौं,” गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले भने ।

कपिल कोइराला

प्रतिक्रिया दिनुहोस्