संघीयताको सफलता सर्वस्वीकार्यताले निर्धारण गर्ने

जनकपुर- प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनका लागि राजनीतिक सर्वस्वीकार्यता अपरिहार्य रहेको बताएका छन् ।
जनकपुरमा मंगलबार भएको एक कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्रीले राजनीतिक प्रतिबद्धता र कर्मचारीहरूको सर्वस्वीकार्यता आवश्यक रहेको स्पष्ट पारे । उनले संघीयता कार्यान्वयन हुनेमा अझै केही यथास्थितिवादी विश्वस्त हुन नसकेको र उनीहरूको मनमा अझै पनि संघीयताविरुद्ध षडयन्त्र तथा जालझेलको राजनीति गरिरहेको आरोप लगाए ।
संक्रमणकालीन संघीयताको व्यवस्थापन विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यथास्थितिवादीहरू प्रति लक्षित गर्दै भने, “धेरै व्यक्तिले नचाहँदा नचाहँदै मधेसी जनताको आन्दोलनको बलमा संघीयता आएको हो, संघीयता कार्यान्वयन हुनेमा उनीहरू अझै विश्वस्त हुन सकेको छैन र उनीहरूलाई अझै संघीयता आएको विश्वास नै छैन ।”
पटक–पटक भएको संघर्ष र बलिदानीले प्राप्त संघीयताको भविष्य प्रदेश नं. २ को सफलतामा निर्भर रहेको बताउँदै मुख्यमन्त्री राउतले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकार जस्तो सुकै कदम उठाउन तयार रहेको बताए ।
संघीय सरकारमाथि इंगित गर्दै मुख्यमन्त्री राउतले भने, “स्थायी सत्ता अर्थात् व्युरोक्रेटले माथिबाट असहयोग गर्ने बारम्बार प्रयास गरिरहेको छ, र असहयोगको क्रम अहिले पनि जारी छ, त्यसैले प्रदेश सरकार करारमा कर्मचारी भर्ना गरेर प्रदेश सरकार चलाउन बाध्य छ ।”