प्रविधि र गरिबीको बीचको खाडल अन्त्य हुनुपर्छ

दक्षिण एसियाली मुलुकका दूरसञ्चार नियामकहरूको भेला काठमाडौंमा सुरु भएको छ । मंगलबारदेखि तीन दिनसम्म चल्ने भेलाको उद्घाटन गर्दै सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सबै तहका निर्वाचन सकेर डिजिटल नेपालको अभियानमा सरकार लागेको बेला दूरसञ्चार नियामकहरूको भेला नेपालमा हुनु निकै राम्रो पक्ष भएको बताए । उनले अब नेपालको ध्यान आर्थिक समृद्धि र विकास भएको भन्दै दूरसञ्चारका क्षेत्रमा पूर्वाधार विस्तारमा जोड दिने बताएका छन् ।
मन्त्री बास्कोटाले प्रविधि र गरिबीबीचको खाडल अन्त्य हुनुपर्ने भन्दै सबैको पहुँचका लागि पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताएका छन् । कुनै बोर्डर बिनाको क्षेत्र आईसीटी भएको भन्दै मन्त्री बास्कोटाले सस्तो र सुलभ बनाउन पनि कुनै बोर्डर राख्न नहुने बताएका छन् । पहुँचयुक्त, सस्तो र सबैले प्रयोग गर्न सक्ने किसिमको सञ्चार सेवामा सबै राष्ट्रको ध्यान दिनुपर्नेमा जोड दिएका छन् । ‘प्रविधिको प्रयोगबारे अझैपनि लैंगिक भेद रहको भन्दै सार्क राष्ट्रमा यसको अन्त्यका लागि पहल हुनुपर्नेमा बताए । लैंगिक विभेदलाई हटाउन जनचेतना फैलाउनुका साथै दक्षिण एसिया एक ढिक्का भएर लाग्न आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पनि सबै दक्षिण एसियाली देशहरू एकढिक्का भएर अगाडि बढ्न सके सूचना तथा सञ्चार प्रविधिमा फड्का मार्न सक्ने बताएका छन् । साउथ एसियन टेलिकम्युनिकेसन रेगुरेटर्स काउन्सिलले दुई वर्षका लागि तयार गरेका एजेन्डाभित्र यसपटक पोलिसी, रेगुलेसन र सर्भिस परेको थियो । यसै विषयमा तीन दिनसम्म छलफल हुनेछ ।
यसपटक भौतिक पूर्वाधार, ब्रोडब्यान्ड, कनेक्टिभिटी, मोबाइल टु मोबाइल कम्युनिकेसन तथा बिग डेटा प्रोटेक्सनका विषयहरू प्राथमिकतामा छन् । कार्यशालामा नीति निर्माणसँगै यसको कार्यान्वयन र सेवामा जोड दिइनेछ । कार्यशालामा एकअर्का देशको अनुभव पनि साटासाट गरिने हुँदा त्यसले विशेष फाइदा दिने अपेक्षा आयोजक प्राधिकरणले लिएको छ । कार्यशालामा ८ दक्षिण एसियाली मुलुकसँगै इरानको पनि सहभागीता छ । एसिया प्यासिफिकका महासचिव अर्विन हाओराङ्सी, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङलगायत सेवा प्रदायक कम्पनीका प्रतिनिधि, सरोकारवालाहरूको सहभागी छन् ।