ओझेलमा सुदूरपश्चिमको हुड्केली नाच «

ओझेलमा सुदूरपश्चिमको हुड्केली नाच

नेपालकै दुर्लभ तथा पुरानो संस्कृति झल्काउने नाच हो हुड्केली । डोटेली संस्कृतिमा आधारित भई सुदूर पहाडका जिल्लाहरूमा नाचिने यो नाच सुदूरपश्चिम क्षेत्रमा निकै चर्चित छ । सुदूर तथा मध्य पश्चिमका केही ठूला सांस्कृतिक कार्यक्रममा हुड्केली नाचको प्रस्तुति गरिन्छ । हुड्केली नाचले समग्र नेपालीको पहिचानलाई पनि झल्काउने हुनाले यसको महिमा बढ्दै गएको छ । तर, हुड्केली नाच्नेहरू भने संस्कृतिको जगेर्ना गर्नुको साटो बिर्सन थालेका छन् ।
“हामीले हुड्केली नाच जति खेल्यौं, खेल्यौं । पछिल्लो पुस्ताले चासो नै देखाउँदैनन्,” डोटी आदर्श गाउँपालिका–६ का स्थानीय ६० वर्षिय भीमबहादुर नेपालीले भने, “हाम्रो गाउँमा हुड्के नाच खेल्ने तीन जना थियौं– म, भीम नेपाली र साथी भरत नेपाली । भरत कामको सिलसिलामा धेरै वर्ष अगाडि भारत गइसक्यो । अब ऊ आएर पनि खेल्न सक्दैन । मेरो पनि अस्ताउँदो उमेर भइसक्यो । म पनि यो नाचगानको अन्तिमतिर आइसकेको छु ।”
हुड्केली नाच प्रायः गरेर दलित (हुड्के)हरूले ‘मालिक’को विवाह, व्रतबन्धलगायत कुनै सार्वजनिक समारोहमा गाइने र नाच्ने पेशा हो । विवाह, ब्रतबन्धमा नाचगान गरेबापत मालिकहरूले खलो (काम गरेबापत वर्षको एकपटक धान, गहुँ दिने परम्परा) दिइन्थ्यो भने सार्वजनिक समारोहरूमा नाचगान गरेबापत हुड्केहरूलाई पैसा दिइन्थ्यो ।
हुड्केली नाचमा पाँच जनादेखि करिब ३५ जनाको समूहमा पनि खेलिन्छ । एक जनाले झुगेली (धामीको जस्तै पहिरन) बनाएर खेल्छ भने करिब पाँच-सात जनाले महिलाको पोसाकका पनि नाच्ने गर्छन् । अरुले पञ्चेबाजा बजाउँदै मंगल गीत गाउँछन् । यसरी डोटेली संस्कृतिको हुड्केली नाचगान खेलिन्छ ।
“पछिल्लो समय नाचगान गरेर कमाएको पैसाले आफ्नो र परिवारको गुजारा पनि नपुग्ने र समाजमा पनि दलित भनेर घृणित व्यवहार गर्ने भएकाले नवपिँढीको मन मर्दै गयो,” भीम बहादुरले भने, “हाम्रा छोरा नातिहरूको इच्छा नै छैन यो पेशाप्रति ।”
केही वर्ष अगाडि आफ्नो परिवारमा कुराकानी गरेको सम्झिँदै भीम बहादुरले भने, “मैले मेरो छोरालाई आफ्नो बाबु बाजेदेखि चल्दै आएको यो पेशालाई ओझेलमा पार्नु हुन्न भनें । कति मालिकहरूको दास बनिरहने ? भन्छ ऊ । यो पेशा गर्नुभन्दा भारत गएर बस्छु भन्दै उल्टै गर्जिएर बोल्यो । मलाई पनि यो पेशा छोड्न उसले भएभरको आग्रह गयो तर मैले आफ्नो रीति संस्कारलाई छोड्न मानिन । अनि नातीलाई भनेको त उसले पो के सुन्थ्यो मेरो कुरा ?”
भीमबहादुर अगाडि थप्छन्, “न खानलाई पुग्छ त न स्थानीय स्तरमा सम्मान नै छ । बाहिर कुनै सार्वजनिक समारोहमा जान्थ्यौं, रमाइलो हुन्थ्यो, सम्मान पाइन्थ्यो । तर, पछिल्लो समयमा आधुनिक बाजाले ढाकेपछि त्यो पनि विलिन हुँदै गयो । फाइदा हुने ठाउँमा बाहेक अरु ठाउँमा हुड्केली नाचको वास्ता हुदँन ।”
अमरगढी नगरपालिका डडेल्धुराका धौले नेपाली पनि यस्तै कारणले हुड्केली नाच धरापमा पर्दै गएको बताउँछन् । “जसले संस्कृति बुझेको छ, उसले मात्र हुड्केली नाच ओझेलमा पर्दै गएको छ, यसको जगेर्ना गर्नुपर्छ भनेर आवाज उठाउँछ । नबुझेकाहरूले भने हुड्केली नाच भन्नेबित्तिकै नाक खुम्च्याउँछन्,” धौले नेपालीले भने, “पछिल्लो समयमा सरकारले दलितका हक अधिकार स्थापित गरे पनि समाजमा भने विभेद व्याप्त छ । त्यही विभेदले पनि हुड्केली नाच ओझेलमा पर्दै गएको हो । समाजमा कसैको विवाह, ब्रतबन्धमा बोलाएर गएपछि हुड्के आयो हुड्के आयो भन्दै किनारा लाग्छन्, केही गरी छोइहालेमा गाली गलौज गर्छन् ।”
धौले थप्छन्, “हाम्रो पालामा त जसोतसो जगेर्ना गयौं, तर पछिल्लो पिँढीले त विभेद, घृणा सहनै मान्दैनन् । बाहिर कतै सार्वजनिक मेलामा बोलाउन सरोकारवालाले मान्दैन । त्यसपछि त स्वतः नै हुड्केली नाच धरापमा पर्ने भैहाल्यो । सुदूर तथा मध्य पश्चिमका धेरै जिल्लामा हुड्केली नाच खेल्नका लागि बोलाइन्थ्यो र म गएको पनि थिएँ । तर अहिले त आफ्नो छरछिमेकका सार्वजनिक मेलाहरूमा पनि बोलाइन्न । बोलाइहालेमा पनि सम्मान र पारिश्रमिक पाइँदैन ।” संस्कृतिको जगेर्ना गर्ने सरोकारवालाले बेवास्ता गर्दा पनि यो नाच ओझेलिँदै धौलेको ठहर छ ।
हुड्केलीप्रति युवाको चासो कम छ । “यस्तो झमेलामा को लागिरहने ?” सायल गाउँपालिका डोटीका स्थानीय १८ वर्षिय जनक नेपाली भन्छन्, “बुबा, बाजेहरूले सधैं हुड्केली नाच खेल्नुभयो, तर कुनै उपलब्धि गर्न सक्नुभएन । सधैं दासत्व प्रथामात्र देखियो । न दाम न सम्मान । त्यसैले दिनभरि कराएर पनि बेलुका खानलाई नपुग्ने, समाजमा घृणित तवरले हेरिने हुनाले यतातिर चासो पनि भएन । मेरो भन्दा पनि मेरो बुबाको उमेर समूहकाहरूले पनि हुड्केली नाच खेल्नुभएन ।”
डोटीमा मात्र होइन, सुदूरपश्चिमका अरु जिल्लाहरूमा पनि हुड्केली नाच ओझेल पर्दै गएको छ । नाच खेल्नेहरूलाई हौसला, पारिश्रमिक र सम्मान नगर्दा ओझेलमा पर्दै गएको हो । यदि जगेर्ना नगर्ने हो भने भोलिको पिँढीलाई जानकारी पनि हुनेछैन कि हुड्केली नाच सुदूरपश्चिममा खेलिन्थ्यो भनेर ।
संस्कृतिविद् डा. बद्री शर्मा बिनाडी भन्छन्, “संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व हो । यदि संस्कृति नै लोप भयो भने आफ्नो पहिचान नै लोप हुन्छ ।” त्यसैले चौतर्फी रूपमा चर्चा बटुलेको हुड्केली नाचको संरक्षण गर्नमा विशेषतः सरोकारवालाहरूले ध्यान दिनुपर्ने उनले बताए ।

भूमिराज जोशी

प्रतिक्रिया दिनुहोस्