तनहुँमा दुईको मृत्यु «

तनहुँमा दुईको मृत्यु

दमौली-  विद्यालय जाने क्रममा सालको रुख ढलेर किच्दा मंगलबार व्यास–६ शिशाघाटमा एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् । व्यास–६ शेराटारस्थित कालिका एकेडेमीमा अध्ययन गर्ने उनीहरुलाई सालको रुख ढलेर किचेको थियो ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने तेजबहादुर थापाको १० वर्षीया छोरी विनिशा थापा रहेको प्रहरीले जनाएको छ । कालिका एकेडेमीमा कक्षा ४ मा अध्ययनरत उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तनहुँका प्रहरी उपरिक्षक शिद्धीविक्रम शाहले जानकारी दिए ।
रुखले किच्दा सोही ठाउँकी १२ वर्षीया अस्मिता थापा र ८ वर्षीया सुनिसा थापा घाइते भएका छन् । उनीहरु दिदीबहिनी हुन् । घाइतेद्वयको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी खोलाले बगाएर एकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । शुक्लागण्डकी नगरपालिका–११ गोल्मेस्थित साँखे खोला तर्ने क्रममा सोमबार ४ बजे सोही ठाउँ बस्ने ५० वर्षीय निलबहादुर गुरुङ्गको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाले बगाएर घाइते भएका गुरुङ्गलाई प्रहरी र स्थानीयले ५ सय मिटर तलबाट उद्धार गरेका थिए । उनको फूलबारी अस्पताल साँखेमा साँझ साढे ७ बजे उपचारको क्रममा मृत्यु भएको थियो ।
त्यस्तै सोमबार साँझ ५ बजे भिमाद नपा–८ स्थित सेती नदीले बगाएर सोही ठाउँ बस्ने अन्दाजी ५२-५३ वर्षका यामबहादुर कुमाल बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्