सरकारको विनियोजन दक्षतामाथि प्रश्न «

सरकारको विनियोजन दक्षतामाथि प्रश्न

चालू आर्थिक वर्ष ०७४/७५ भित्र निर्माण सम्पन्न भइसक्नुपर्ने ३४ वटा सडक आयोजनालाई सरकारले फेरि बजेट विनियोजन गरेको छ । तोकिएको समयावधिमा सडक निर्माण सम्पन्न गर्न नसकेपछि यी आयोजनालाई राष्ट्रिय योजना आयोगले रातो किताबमा समावेश गरेको हो ।
समयतालिका अनुसार वि.सं ०५२/५३ देखि निर्माण सुरु गरिएको बीपी राजमार्गको निर्माण यही असार मसान्तभित्र सम्पन्न भइसक्नुपर्छ । भक्तपुरको सूर्यविनायकदेखि महोत्तरीको बर्दिबाससम्मको यो सडक आयोजना मुआब्जा विवादका कारण अझै सम्पन्न भएको छैन । समयमै काम सम्पन्न हुन नसकेपछि आगामी आवमा धुलिखेलसम्मको विस्तारका लागि जग्गा अधिकरण एवं सर्वे डिजाइनको कार्य गर्ने सरकारले जनाएको छ । समयमै मुआब्जा वितरण भए यो खण्डमा सडक निर्माणको काम आव ०७६/७७ मा मात्र सुरु हुनेछ ।
“समय तोकेरै चालू आवभित्र सम्पन्न गर्ने भनिएका तीन दर्जन सडक आयोजनाको निर्माण नसकिने देखियो,” सडक विभागका एक अधिकारीले भने, “अन्य आयोजना त अलपत्र छँदैछन्, यी आयोजनालाई निरन्तरता दिँदा चाहिँ अब कहिले सम्पन्न गर्ने भन्नेबारे लेखिएन । किनकि, आयोजना कहिले सम्पन्न हुन्छ भन्ने टुंगो नै भएन ।” असार मसान्तभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने कतिपय सडकमा १० प्रतिशतभन्दा कम भौतिक प्रगति भएको सडक विभागका प्राविधिक बताउँछन् ।
आगामी आवको बजेट तयारी शून्यस्तरबाट सुरु गरेको जनाएको सरकारले चालू आवमा सम्पन्न हुनुपर्ने, तर निर्माणमा ढिलाइ भएको आयोजना कुन मितिसम्म सम्पन्न हुन्छ भन्नेबारे पनि रातो किताबमा कुनै समयसीमा तोकेको छैन । बरु, निर्माणका अधिकांश काम नभएका आयोजनामा सामान्य मर्मतसम्भारको काम बाँकी रहेको उल्लेख गर्दै धमाधम बजेट छुट्याएको छ ।
देशको आर्थिक स्थितिबारे स्वेतपत्र जारी गर्दा अघिल्लो सरकारले विनियोजन दक्षता मिचेको आशय व्यक्त गरेको वर्तमान सरकार आफैंले बजेट र योजना तयार गर्दा विनियोजन दक्षतालाई धज्जी उडाएको देखिएको छ । पूर्वाधार निर्माणअन्तर्गत सडक पूर्वाधारकै अधिकांश आयोजनाको निर्माण अवधि ‘सालबसाली’ उल्लेख गरेको सरकारले यी आयोजना सम्पन्न हुने समयावधिबारे बजेट, त्रिवर्षीय खर्च संरचना र वार्षिक विकास कार्यक्रममा केही उल्लेख गरेको छैन ।
चौधौं योजना (आव ०७३/७४–२०७५/७६) भित्र प्रादेशिक पहुँच र आर्थिक वृद्धिलाई योगदान पुग्ने गरी सुरक्षित यातायात पहुँच र सुविधा विस्तार गर्ने सरकारले दाबी गरेको थियो । तीन वर्षका लागि सडक यातायात क्षेत्रमा यो नै सरकारको क्षेत्रगत रणनीति हो । दर्जनौं सडक आयोजना निर्धारित समय र लागतमा सम्पन्न गर्न नसकेपछि आगामी आवसम्ममा सर्वसाधारण जनतालाई पहाडी क्षेत्रमा चार घण्टा र तराई क्षेत्रमा दुई घण्टाको पैदल यात्रापछि सर्वसुलभ सडक यातायातमा पहँुच हुने गरी सडक सञ्जाल विस्तार गर्ने लक्ष्य भेट्न सरकारलाई मुस्किल छ ।

समयमै सडक आयोजना निर्माण गर्न नसकेपछि सरकारले रातो किताब र मध्यकालीन खर्च संरचनाका प्रकाशनमा विभिन्न समस्या भएको उल्लेख गरेको छ । दक्ष जनशक्तिको तथा कामदारको कमी, अपर्याप्त स्रोत साधन, देशको जटिल भौगोलिक बनावट, साना आयोजनामा बढी समय र स्रोत खर्च गर्नुपर्ने, विष्फोटक पदार्थको अभाव, निर्माण सामग्रीको पर्याप्त उपलब्धतामा जटिलता देखिएको छ । ठूला तथा सामरिक महत्वका आयोजनामा आवश्यक ध्यान केन्द्रित गर्न नसक्नु, सडक तथा पुलहरूमा बढ्दो आर्थिक दायित्व, कमजोर ठेक्का व्यवस्थापन, निर्मित सडक तथा पुलहरूको मर्मत सम्भार र सडक सम्पत्तिको सुरक्षा यस क्षेत्रका प्रमुख समस्याको रूपमा रहेको सरकारले दाबी गरेको छ । यी समस्या रातो किताबमा झण्डै एक दशकदेखि लेखिँदै आएको छ । 

चालू आवसम्म सम्पन्न भइसक्नुपर्ने केही सडक आयोजना
सडक आयोजना
 निर्माण सुरु र सम्पन्न हुने वर्ष
बीपी राजमार्ग (सूर्यविनायक–धुलिखेल, धुलिखेल–
सिन्धुली–बर्दिबास सडक आयोजना) 
सुरु ०५२/५३
सम्पन्न ०७४/७५
कान्ती लोकपथ
 सुरु ०५५/५६
सम्पन्न २०७४/७५
दमक चिसापानी
 सुरु ०५९/६०
सम्पन्न ०७४/७५
सडक सुधार आयोजना
 सुरु ०६३/६४
सम्पन्न २०७४/७५
लामोसांघु–मुढे–चरिकोट सडक 
आव ०७२/७३
आव ०७४/७५
सहिद मार्ग सडक (घोराही–घर्तीगाउँ खण्ड) 
आव ०७१/७२
qआव ०७४/७५
लुम्बिनी बुद्धिस्ट सर्किट सडक 
आव ०७१/७२
आव ०७४/७५
साँफेवगर–मार्तडी सडक (बार्जुगाड
–मार्तडी खण्ड)
आव ०७१/७२
आव ०७४/७५
बर्दघाट–पालडाँडा–त्रिवेणी सडक 
आव ०७१/७२
आव ०७४/७५
बालाजु–रानीपौवा–ककनी– त्रिशूली सडक 
आव ०७१/७२
आव ०७४/७५
छहरे–विदुर सडक 
आव ०७१/७२
आव ०७४/७५
बल्खु–दक्षिणकाली सडक 
आव ०७२/७३
आव ०७४/७५
भक्तपुर–नगरकोट–सिपाघाट सडक
 आव ०७१/७२
आव ०७४/७५
भरतपुर–रामपुर–मेघौली सडक 
आव ०७१/७२
आव ०७४/७५
जनकपुर–परिक्रमा सडक  
आव ०७१/७२
आव ०७४/७५
भेरी करिडोर (जाजरकोट–दुनै–मरिम
–तिन्जे धो सडक) डोल्पा 
सुरु ०६४/६५
सम्पन्न ०७४/७५
सडक क्षेत्र विकास आयोजना 
सुरु ०६४/६५
सम्पन्न ०७४/७५
गोकुलेश्वर–दार्चुला सडक 
सुरु ०६७/६८
सम्पन्न ०७४/७५

 

प्रतिक्रिया दिनुहोस्