जीवन बिमा कम्पनीको बिमाशुल्क आम्दानी साढे ७ अर्ब «

जीवन बिमा कम्पनीको बिमाशुल्क आम्दानी साढे ७ अर्ब

चालू आर्थिक २०७४-७५ को पहिलो त्रैमास अवधिमा जीवन बिमा कम्पनीहरूले करिब साढे ७ अर्ब रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । बिमा समितिमा प्राप्त भएको तथ्याकअनुसार सञ्चालनमा आएका १४ जीवन बिमा कम्पनीमध्ये (राष्ट्रिय बिमा संस्थान र सननेपालबाहेक) १२ वटा जीवन बिमा कम्पनीहरूले अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेका छन् ।
तथ्यांकअनुसार असोज मसान्तसम्ममा कम्पनीहरूले ३ अर्ब १ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । उक्त अवधिमासम्ममा कम्पनीहरूले १८ हजार ३८७ वटा दाबीको भुक्तानी गरेका छन् । तर, अझै कम्पनीहरूले ६७७ वटा दाबी बापत १ अर्ब १७ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।
उक्त अवधिमा जीवन बिमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी)ले सबैभन्दा धेरै बिमाशुल्क आम्दानी गरेको छ । तथ्यांकअनुसार कम्पनीले ३ अर्ब ८० करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेको छ । यो रकम कम्पनीहरूले आम्दानीको कुल बिमाशुल्कको ५० प्रतिशत हो । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)ले भने २ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको छ । कुल बिमाशुल्कको कम्पनीको हिस्सा भने करिब ३० प्रतिशत रहेको छ । त्यस्तै, यस पटक अन्य कम्पनीलाई पछाडि पार्दै सबैभन्दा धेरै बिमाशुल्क आम्दानी गर्नेमध्येमा एशियन लाइफ इन्स्यारेन्स तेस्रोमा परेको छ । सो अवधिमा कम्पनीले ५५ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
उक्त अवधिमा कम्पनीहरूले ६८ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरूको पूँजी १६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । ९ अर्ब २८ करोड रुपैयाँ जगेडा तथा कोषमा जम्मा भएको छ भने जीवन बिमा कोषमा १ खर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
भर्खरै सञ्चालनमा आएका नयाँ चार कम्पनीहरू मात्रै भने चालू आवको पहिलो त्रैमासमा करिब साढे ३ करोड रुपैयाँ बराबरको बिमाशुल्क आम्दानी गरेका छन् । आर्जन भएको बिमाशुल्क आधारमा नयाँ कम्पनीहरूमध्ये युनियन लाइफ इन्स्योरेन्स कम्पनी एग्रेसिभ देखिएको छ । कम्पनीले तेस्रो त्रैमास अवधिमा सबैभन्दा धेरै २ करोड १४ लाख रुपैयाँ बराबरको बिमाशुल्क आम्दानी गरेको छ । त्यस्तै, आईएमई इन्स्योरेन्स कम्पनीले ४५ लाख १६ हजार बिमाशुल्क आम्दानी गरेको छ ।
गत आव २०७३÷७४ को पहिलो त्रैमासमा अवधिमा भने जीवन बिमा कम्पनीहरूको व्यवसाय करिब २८ प्रतिशतले बढेको थियो । उक्त अवधिमा कम्पनीहरूले प्रथम विमाशुल्क बापत २ अर्ब २१ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका थिए । नविकरणीय शुल्क बापत कम्पनीहरूले ६ अर्ब ६ करोड बिमाशुल्क संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्