Logo

काठमाडौंमा माओबादी शून्य

बाम गठबन्धनले मुलुकभर उत्साहजनक परिणाम ल्याए पनि राजधानी काठमाडौंको महत्वपूर्ण तीन क्षेत्र भने नेकपा माओबादी केन्द्रले गुमाएको छ । २०६४ को संविधानसभा निर्वाचनमा पहिलो भएको माओबादी २०७० मा शून्य भएको थियो । अहिलेको निर्वाचनमा एमालेसँग गठबन्धन भएपछि पुनः जित्ने आकलन गरिए पनि माओबादीका तीनैजना उम्मेदवारले पराजय बेहोरेका छन् । माओबादीबाट काठमाडौं १ मा अनिल शर्मा, ६ मा झक्कु सुवेदी र १० मा हितमान शाक्यले उम्मेदवारी दिएका थिए । जसमा शर्मा तेस्रो भए भने सुवेदी र शाक्य निकटतम प्रतिद्वन्द्वी रहे ।
नेकपा एमालेले भने उपत्यकामा आफ्नो अवस्था सुधार गरेको छ । ०६४ को निर्वाचनपछि काठमाडौं र ललितपुरमा गुमेको स्थान फर्काउन सफल भएको छ भने भक्तपुरमा खाता खोल्ने निश्चितप्रायः भएको छ । नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेपछि एमालेको अवस्था बलियो बनेको हो । काठमाडौंको १०, ललितपुरको ३ र भक्तपुरको २ गरि १५ वट प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ८ वटामा एमालेले जितेको छ । यसअघि सबै क्षेत्र जितेको ललितपुरमा कांग्रेस शून्य भएको छ ।
काठमाडौंका १० मध्ये ५ वटा क्षेत्रमा एमाले उम्मेदवार विजयी भइसकेका छन् भने गणना भइरहेको काठमाडौं ५ मा पनि एमालेले अग्रता लिइरहेको छ । एमालेका माधव कुमार नेपाल काठमाडौं २, कृष्ण राई काठमाडौं ३, जीवनराम श्रेष्ठ काठमाडौं ८ र कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९ बाट विजयी भएका छन् । त्यस्तै कांग्रेसबाट काठमाडौं १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा, ६ मा भीमसेनदास प्रधान र १० मा राजन केसी विजयी भएका छन् । काठमाडौं ७ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका विक्रम थापालाई समर्थन गरेपनि सो क्षेत्रमा एमालेका रामवीर मानन्धर विजयी भएका छन् । यसअघि कांग्रेसबाट काठमाडौं ८ मा निर्वाचित नवीन्द्रराज जोशी, ९ मा ध्यानगोविन्द रञ्जित र काठमाडौं २ मा दिपक कुइँकेल एमाले उम्मेदवारसँग पराजित भएका छन् । काठमाडौंमा माओवादी उम्मेदवार भने पराजित भएका छन् । काठमाडौं १ मा माओवादीका अनिल शर्मा, ६ मा झक्कु सुवेदी र १० मा हिमान शाक्य कांग्रेस उम्मेदवारसँग पराजित भए ।
ललितपुर बाममय
कुनै बेला कम्युनिष्ट गढ मानिने ललितपुरमा यसपटक बामपन्थीहरुले पुनरागमन गरेका छन् । संविधानसभाको ०७० को निर्वाचनमा ‘लालकिल्ला’ भत्काउन कांग्रेस सफल भएपनि यसपटक ललितपुरमा बाम गठबन्धनले क्लिनस्विप गरेको हो । त्यस्तै ललितपुरका ३ वटै क्षेत्रमा बाम गठबन्धन विजयी भएको छ । संविधानसभाको निर्वाचनमा कांग्रेसले जितेका सबै क्षेत्रमा यसपटक बाम गठबन्धनले जितेको छ । ललितपुर १ मा पनि गठबन्धनका तर्फबाट एमाले उम्मेदवार नवराज सिलवालको जित निश्चित भइसकेको छ । अर्थ राज्यमन्त्रीसमेत रहेका कांग्रेसका उदयशमशेर राणा सिलवालसँग पराजित भएका छन् । त्यस्तै, ललितपुर २मा बाम गठबन्धनका कृष्णलाल महर्जन कांग्रेस उम्मेदवार चन्द्र महर्जनलाई पराजित गर्दै विजयी भए । ललितपुर ३ मा कांग्रेस उम्मेदवार मदन अमात्यलाई पराजित गर्दै बाम गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी नेतृ पम्फा भुषाल विजयी भएकी छन् । कांग्रेसका राणा, महर्जन र अमात्य यसअघि ०७० को संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएपनि यसपटक जित जोगाउन सकेनन् ।
भक्तपुरमा खाता खोल्दै
भक्तपुरमा नेकपा एमालेले पहिलोपटक खाता खोल्ने भएको छ । भक्तपुर २ मा बाम गठबन्धनका उम्मेदवार एमालेका महेश बस्नेत यो समाचार तयार पार्दासम्म विजयोन्मुख छन् । उनले कांगेस उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानाभन्दा भारी मतले अगाडि हुन् । २०७० को संविधानसभा निर्वाचनमा बस्नेत कांग्रेस उम्मेदवार रामेश्वर ढुँगेलसँग पराजित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्