आयल निगमको पुँजी २० अर्ब पुर्याईने

सरकारी स्वामित्वमा सञ्चालित मुलुकको पेट्रोलियम व्यापारमा एकाधिकारप्राप्त कम्पनी नेपाल आयल निगमको चुक्ता पुँजी बढाइने भएको छ । वार्षिक झन्डै डेढ खर्ब रुपैयाँ बराबरको इन्धन कारोबार गर्ने निगमको पुँजी अत्यन्त कम भएपछि त्यसलाई बढाउन लागिएको हो । चुक्ता पुँजी बढाएर २० अर्ब पुर्याउन लागिएको निगमले जानकारी दिएको छ । हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ रहेको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले पुँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याउन लागिएको जानकारी दिए । चुक्ता पुँजी बढाउनका लागि निगमले कम्पनी रजिष्ट्रारको कार्यलयबाट स्वीकृतिसमेत लिइसकेको छ ।
“महालेखा परीक्षकको कार्यालय, अर्थ मन्त्रालय र निगमका कर्मचारी रहेको अध्ययन समितिले पुँजी वृद्धि गर्न सुझाव दिएको थियो,” कार्यकारी निर्देशक भट्टराईले भने, “सोही समतिको सुझावअनुसार पुँजी वृद्धि गर्न लागेका हौं ।” नेपाल सरकार र रणनीतिक साझेदारको लगानीमा पुँजी वृद्धि गर्न लागिएको उनले जानकारी दिए । “निगमले इन्धन खरिदवापत महिनामा १० अर्ब इन्डियन आयल कर्पाेरेसन (आईओसी)लाई बुझाउँदै आएको छ भने करबापत नेपाल सरकारलाई मात्र ४ अर्ब रकम बुझाउने गर्र्छ,” उनले भने, “यसको तुलनामा निगमको पुँजी कम भएकाले यसलाई वृद्धि गर्न लागिएको हो ।”
निगमका अनुसार नेपाल सरकारले १० अर्ब, रणनीतिक साझेदारबाट ४ अर्ब र सार्वजनिक निकायबाट ६ अर्ब रकम संकलन गरी पुँजी वृद्धि गर्न लागिएको छ । रणनीतिक साझेदारमा स्वदेशी तथा विदेशी कम्पनी, बैंक लगायतका अन्य संस्थाहरू रहने छन् । निगमले नाफा रकमबाट पुँजी वृद्धि गर्न लागेको छ ।
संघीय संरचनाअनुसार इन्धनको खपतसँगै कारोबार पनि बढ्ने हुँदा चुक्ता पुँजी बढाउन लागिएको निगको भनाइ छ । निगमले बोनस र हकप्रद सेयर तथा सर्वसाधारणलाई सेयर बिक्री तथा रणनीतिक साझेदार लगायतका विकल्प राखेर पुँजी बढाउन लागिएको जानकारी दिएको छ । सरकारी स्वामित्वमा सञ्चालित निगमको पुँजी अत्यन्त न्युन रहेको छ । निरन्तर नाफामा गएकाले पनि पुँजी वृद्धि गर्न खासै समस्या नहुने देखिएको छ । निगमले गएको वर्ष झण्डै १५ अर्ब रुपैयाँ नाफा भएको थियो ।
निगममा हाल हाल आपूर्ति मन्त्रालयको २० प्रतिशत, अर्थ मन्त्रालयको ७३ प्रतिशत, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको ५ प्रतिशत, नेशनल टे«डिङ लिमिटेडको शून्य दशमलब २६ प्रतिशत, राष्ट्रिय बिमा कम्पनीको शून्य दशमलब १५ प्रतिशत, नेपाल बैंक लिमिटेडको शून्य दशमलब ०८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको शून्य दशमलब ०७ प्रतिशत सेयर गरी कुल २९ करोड पुँजी रहेको छ । पछिल्लो समय निगमले नाफा कमाउँदै आएको छ ।
लामो समयदेखि घाटामा सञ्चालन हुँदै आएको निगम पछिल्लो दुई वर्षयता नाफा कमाउँदै आएको छ । ३६ अर्ब ऋण चुक्ता गरेर निगमले कमाएको रकमबाट इन्धन भन्डारणस्थल निर्माणका लागि विभिन्न ठाउँमा जग्गा खरिद गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घटे पनि सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमले नाफा कमाउँदै आएको हो । २०७१ सालमा निगमले इन्धनमा स्वचालित मूल्य लागू् गरे पनि पूर्णरुपमा कार्यान्वयन नगर्दा अत्यधिक नाफा कमाउँदै आएको छ । तर, पछिल्लो समयमा भने राजनीतिक कारणले मूल्य समायोजन हुन नसक्दा निगमको मासिक घाटा १ अर्ब पुगिसकेको छ ।