इन्धन आपूर्ति किन कम ? «

इन्धन आपूर्ति किन कम ?

आयल निगमले लामो समयदेखि मौज्दात बढाउन बढी क्षमताका भण्डारण स्थल निर्माण गर्ने भनिए पनि काम अगाडि बढेको छैन ।

संयोग हो या भारतीय नियत, नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली उत्तरको छिमेकी देश चीनको भ्रमणबाट फर्केलगत्तै भारतबाट हुने इन्धन आयातमा कमी भएको छ । इन्धन आयातमा कमी हुँदा विगत एक सातादेखि पश्चिम नेपालमा इन्धन हाहाकार भएको छ । नेपाल आयल निगमको रुपन्देही भलबार स्थित क्षेत्रीय डिपोमा मौज्दातभन्दा निकै कम इन्धन हुँदा यस क्षेत्रमा इन्धनको हाहाकार भएको छ । आयल निगमको क्षेत्रीय कार्यालयले विविध कारणले गर्दा इन्धन आयात कम हुँदा मागअनुसार आपूर्ति हुन नसकेको जनाएको छ ।
संयोग नै मान्नुपर्छ, प्रधानमन्त्री केपी ओली चीन भ्रमणबाट फर्केलगत्तै तेल आयातमा कमी भएको हो । भारतीय पक्षले तेल लोडिङमा कम पठाएको हो या नेपाली पक्षले भनेझैं प्राविधिक कारणले कमी भएको हो, छिमेकी चीनसँग विभिन्न विषयमा सम्झौता गरेर आएलगत्तै इन्धन आपूर्ति कम हुन थाल्नुलाई स्वाभाविक रूपमा लिन नहुने विश्लेषकहरू बताउँछन् । “अहिलेको समय इन्धनको माग बढी हुने समय हो, तर हामीहरूले माग गरेअनुसार इन्धन विक्रेताहरूले पाएका छैनन्, कतिपय इन्धन विक्रेता पम्पहरू इन्धन नहुँदा चार–पाँच दिनदेखि बन्द छन्,” नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय सदस्य राजु न्यौपानेले भने । “के कारणले आपूर्ति नभएको हो, थाहा भएको छैन । इन्धन विक्रेताले इन्धन पाएका छैनन्, बजारमा अभाव छ । असार महिनामा बढी माग हुनु स्वाभाविक हो । अहिले माग अनुसार आपूर्ति छैन,” बुद्ध माया आयल सप्लायर्स लुम्बिनीका सञ्चालकसमेत रहेका न्यौपानेले भने ।
भलबारीस्थित क्षेत्रीय डिपोका वरिष्ठ सहायक गोविन्द चौधरीले मौज्दात कम भएको जनाउँदै सोमबारदेखि सहज हुने दाबी गरे । अहिले ढुवानी गर्ने ट्यांकर पनि कमी भएको, रोपाइँको समय भएकाले माग बढी भएको लगायतका कारणले इन्धनमा कमी आएको बताउँदै आइतबार नै रूपन्देहीको भैरहवा र बुटवलका लागि १५ ट्यांकर पेट्रोल पठाएको र पश्चिम नेपालका नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लाका लागि २० ट्यांकर पेट्रोल, डिजेल पठाएको चौधरीले बताए ।
नेपाल आयल निगमको भलबारी क्षेत्रीय डिपोमा इन्धन क्षमता पेट्रोल १ सय ४० केएल, डिजेल ३ हजार ५५ केएल र मटीतेल ३ सय ९० केएल रहे पनि अहिले मौज्दात निकै न्यून छ । डिपोमा राखिएको डेड स्टक (आपत्कालीन मौज्दात) आपत्कालीन अवस्थाका लागि मात्रै भनी केही इन्धन मौज्दात रहेकोमा शनिबारसम्म केही मात्रामा इन्धन आयात भएपछि आइतबारबाट इन्धन केही वितरण भएको हो । रुपन्देहीका प्रायःजसो इन्धनका पम्पहरू इन्धन अभावमा बन्द छन् । आइतबार भारतमा इन्धन लोड नहुने र सोमबार मात्रै लोड हुने गर्छ । लोडेड ट्यांकर नेपाल भित्रिन नाकामा अस्तव्यस्तताले गर्दा कम्तीमा दुई दिन लाग्छ । ढुवानीका साधनहरू पनि भारतबाट सहज रूपमा नेपाल आउन सकेका छैनन् । चेकजाँचका नाममा धेरै समय लगाउने गर्दा समय बढिरहेको व्यवसायीहरूको भनाइ छ । प्राविधिक कारणले इन्धन आयातमा असहजता आएको हो भने केही समयमा सहज होला, तर उत्तरी छिमेकी चीनको भ्रमणमा भएका सम्झौताबाट नाखुसजस्तै देखिएको भारतले जानी–जानी इन्धन आपूर्तिमा कमी गराएको हो भने भविष्यमा पुनः इन्धनका लागि दुःख बेहोर्नुपर्ने देखिन्छ । आयल निगमले लामो समयदेखि मौज्दात बढाउन बढी क्षमताका भण्डारण स्थल निर्माण गर्ने भनिए पनि काम अगाडि बढेको छैन । धेरै भण्डारण गर्ने स्थान नहुँदा अहिलेको मौज्दातले १५ दिन पनि थाम्दैन ।
भैरहवाको बेलहिया नाका हुँदै आउने इन्धन काठमाडौंतर्फ पनि आपूर्ति हुन्छ । मधेस आन्दोलनका क्रममा यही नाका हुँदै सबैभन्दा बढी आयात हुँदा लाइफलाइन नाकाका रूपमा यो परिचित भएको थियो ।
मनोरञ्जन शर्मा

प्रतिक्रिया दिनुहोस्