तेह्रथुमका १५ बस्ती पहिरोको उच्च जोखिममा

तेह्रथुम-जिल्लाका १५ बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । जोखिमयुक्त बस्तीका बासिन्दालाई जिल्ला दैवीप्रकोप उद्धार समितिले सतर्क रहन सुचित गरेको छ । साविकका नौ गाविसका १५ बढी बस्ती बाढी पहिरोको उच्च जोखिममा परेको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।
केही दिनदेखिको निरन्तर वर्षासँगै जिल्ला दैवीप्रकोप उद्धार समिति, रेडक्रस, प्रहरीलगायतका संस्थाले विपद क्षेत्रको पहिचान गरी उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन सूचना गरेका छन् । रेडक्रसको प्राविधिकसहितको टोलीले स्थलगत अध्ययन गरी पहिरोको उच्च जोखिममा रहेका र वर्षात्को कुनै पनि समयमा पहिरो बग्न सक्ने र जनधनको क्षति हुने चेतावनी दिएको छ । रेडक्रसले जिल्लाभरका यस्ता बस्तीको स्थलगत अध्ययन गरी पहिरोलाई न्यून, मध्यम र उच्च गरी तीन भागमा वर्गीकरण गरेको सभापति श्रीकृष्ण दाहालले बताए । वर्षात्को समयमा जमिन कमजोर हुने र पहिरोको जोखिमसमेत बढ््ने भएकाले जोखिममा रहेका बस्तीसम्म पुगेर सचेतना र पूर्वतयारीका कार्यक्रमसमेत सञ्चालन गरिरहेको जिल्ला दैवीप्रकोष उद्धार समितिका संयोजक प्रजिअ खनालले बताए ।
यी स्थानमा बारम्बार पहिरो गइरहने, भिरालो जमिन, अव्यवस्थित सडक निर्माणलगायतका कारणले गर्दा बाढी पहिरोको उच्च जोखिम देखिएको रेडक्रसले जनाएको छ । गत वर्ष असार १६ गते राति म्याङलुङ नगरपालिका–५ आमदेनमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियो । पहिरोमा परी परिवारका अन्य तीनजना गम्भीर घाइते भएका थिए । रेडक्रसले जिल्लाका दुई नगरपालिका र चारवटै गाउ“पालिकामा पुगेर बाढी पहिरोका साथै आगलागी, खडेरी, अनिकाल र भूकम्पका हिसाबले समेत उच्च जोखिममा रहेका बस्तीको पहिचान गरेको जनाएको छ ।
जोखिम पहिचान गर्दा पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्न र आई पर्नसक्ने विपद व्यवस्थापनका लागि सहज हुने रेडक्रसले जनाएको छ । जिल्लामा विगतका वर्षमा भएका यस्ता प्राकृतिक विपदलाई आधार मानेर कुन स्थानीय तहको कुन बस्ती बढी जोखिममा छ ? भनेर पहिचान गरिएको रेडक्रसले जनाएको छ । स्थलगत अध्ययनपछि पहिचान भएका जोखिमयुक्त क्षेत्रका बस्तीसहितको नामावली जिल्ला दैवीप्रकोप उद्धार समितिमा वुझाइएको रेडक्रसले जनाएको छ । बाढी पहिरोको उच्च जोखिम पहिचान भएका वसन्तपुर, आङदिम, आम्बुङ, ईसिबु, जिरीखिम्ती, खाम्लालुङ, ओयाक्जुङ, फुलेक र सुङनाम क्षेत्रका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनसमेत भनिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । जोखिम बढी भएका बस्तीका बासिन्दालाई चनाखो भएर बस्न र वर्षादको समयमा सतर्क रहन सूचना गरिएको समिति संयोजक प्रजिअ खनालले बताए ।
विपद व्यवस्थापनका लागि प्रतिकार योजनासमेत बनाएर काम गरिरहेको प्रशासनले जनाएको छ । त्यस्तै स्थानीय तहमा समेत विपद व्यवस्थापन समिति गठन गर्न भनिएको र स्थानीय तहसमेतको सहकार्यमा जिल्लाभर जोखिम न्यूनीकरण र जोखिमबाट बच्ने उपायका कार्यक्रम सञ्चालन गरिरहेको प्रशासनले जनाएको छ । स्थानीय तहमा विपद व्यवस्थापन ऐन नहुदा समस्या भएको प्रजिअ खनालले बताए । “ऐन अभावमा कतिपय स्थानीय तहले आफै ऐन बनाएर भए पनि काम गरिरहेका छन्,” प्रजिअ खनालले भने ।
त्यस्तै जिल्लाका ११ बस्ती आगलागीको उच्च जोखिममा छन् । रेडक्रसका अनुसार जिल्लाका छातेढुंगा, चुहानडा“डा, जलजले, म्याङलुङ, ओख्रे, पञ्चकन्या, सिम्ले, सोल्मा, तम्फुला र थोक्लुङका थेरै बस्ती मौसमी आगलागीको हिसाबले उच्च जोखिममा रहेका छन् । छातेढुंगा, म्याङलुङ, ओख्रे, पञ्चकन्या, फाक्चामारा, सिम्ले र थोक्लुङ अनिकाल र खडेरीको उच्च जोखिममा रहेको तत्थ्य रेडक्रसले सार्वजनीक गरेको छ । यी क्षेत्रमा बालीनाली लगाउने समयमा लामो समयसम्म सुख्खा खडेरी पर्ने भएकाले अन्न उत्पादन न्यून हुन्छ । जसले गर्दा खाद्यन्न अभाव हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
त्यस्तै आङदिम, सुङनाम, वसन्तपुर र मोराहाङका बासिन्दा जंगली जनावरको आतंकबाट पीडित छन् । यी गाउ“का वन क्षेत्रको संरक्षण भएको र जंगली जनावरको संख्यासमेत ह्वात्तै बढेकाले बस्तीका बासिन्दा जंगली जनावरबाट पीडित हुने गरेको रेडक्रसले जनाएको छ । खेतबारीमा रोपेको खाद्यान्न र घरमा पालिएका वस्तुलाई समेत जंगली जनावरले खाइदिने गरेकाले किसानले ठूलो क्षति व्यहोर्दै आएका छन् । त्यसको असर खाद्य सुरक्षमा परेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणिराज घिमिरेले बताए ।
जोखिम न्यूनीकरण प्रयास प्रभावकारी भएन
जोखिम न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी संघ संस्थाले निरन्तर प्रयास गरिरहेको भए पनि प्रभावकारी देखिएको छैन । पर्याप्त बजेट र जनशक्ति अभावमा गरिएका कामको प्रभावकारिता नदेखिएको कार्यालयहरू स्वीकार्छन् । सुख्खाग्रस्त क्षेत्रमा पानीको पाइपलाइन विस्तार गर्न र बस्ती तल रहेका नदीनालाको पानी माथि ल्याउन लिफ्ट प्रणाली योजना सञ्चालन गर्न बजेट अभाव भएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जनाएको छ ।
बाक्लो बस्ती, फुसका छानो भएका घरको संख्या बढी हुनु, सुख्खा क्षेत्र र चेतनाको कमीका कारण बर्सेनि हुने आगलागीको घटना न्यूनीकरण गर्न कठिनाइ भइरहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । वन जंगलको संरक्षण, जंगली जनावरको रेखदेख तथा व्यवस्थापन, जलवायु परिवर्तित अवस्थामा अनुकूलित हुने अनुकूलनका योजना वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघले पर्याप्त मात्रामा सञ्चालन गर्न नसक्दा विभिन्न प्राकृतिक जोखिम सहेर बस्न स्थानीय बाध्य छन् ।
पञ्चवर्षीय आवधिक योजना सार्वजनिक
नुवाकोट-नेपाल रेडक्रस सोसाइटी नुवाकोटमार्फत भूकम्पले क्षति पुगेको नुवाकोटको पुनर्निर्माणका लागि सञ्चालन गर्दै आएको ‘भूकम्प प्रतिकार्य कार्यक्रम’ अन्तर्गतको पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरिएको छ ।
भूकम्पपछि यहाँको पुनर्निर्माण र भूकम्पपीडितको जीविकोपार्जनमा प्रत्यक्ष सहयोग पुराउँदै आएको उक्त कार्यक्रमको सन् २०१६ देखि सन् २०२० सम्मको आवधिक योजना जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र प्रमुख जिल्ला अधिकारी उद्धव थापाले संयुक्त रूपमा सार्वजनिक गरे ।
पञ्चवर्षीय आवधिक योजनामा विभिन्न चारवटा रणनीतिक लक्ष्य समावेश गरी मानवीय पीडामा तत्काल राहत प्रदानदेखि उत्थानशील समुदाय निर्माण र विपद्मा परेकालाई सहयोग पुराउन सक्रिय रहेको कार्यक्रम संयोजक शारदा खतिवडाले जानकारी दिइन् ।
आवधिक योजनामा विपद् जोखिम न्यूनीकरण गर्न लक्षित समुदायमा उत्थानशिलता अभिवृद्धि, समाज विकासका लागि एकीकृत स्वास्थ्य सेवा प्रवद्र्धन, लैंगिक समानता तथा सामाजिक समावेशीकरणको प्रवद्र्धन तथा मूलप्रवाहीकरण र जिम्मेवार, उत्तरदायी तथा प्रभावकारी व्यवस्थापन एवं सुशासन कायम गर्ने विषयलाई समावेश गरिएको छ ।
कार्यक्रममा जिसस प्रमुख तामाङ, प्रजिअ थापा, जनस्वास्थ्य अधिकृत राममणि घिमिरे, वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्टलगाययले रेडक्रसले विपद् पूर्वतयारीदेखि विपद् तथा त्यसपश्चात समेत उद्धार र रोकथाममा सक्रिय भएर पुराउँदै आएको सहयोगले सरकारको एक हिस्साको स्थान पाएको बताए ।
रेडक्रसले नुवाकोटमा भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत काहुले र भाल्चेमा निजी आवास निर्माणमा अनुदान सहयोगसहितको सहायता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यस्तै, यहाँको साविक आठ गाविसमा सरसफाइ, जीविकोपार्जन, स्वास्थ्य, भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माणलगायतका कार्यक्रम चलाइरहेको रेडक्रसका जिल्ला सभापति सुरतबहादुर चित्रकारले जानकारी दिए ।