नेपाल वायुसेवा निगमको ६० वर्षे यात्रा पूरा ; ‘जहाजको कमि हुँदैन, व्यवस्थापनमा चुक्न पाइँदैन’ «

नेपाल वायुसेवा निगमको ६० वर्षे यात्रा पूरा ; ‘जहाजको कमि हुँदैन, व्यवस्थापनमा चुक्न पाइँदैन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगम व्यावस्थापनलाई ‘गर या मर’ को अवस्था आएको बताएका छन् । उनले जहाजको कमी हुन नदिने बताउँदै व्यवस्थापनमा चुक्नसमेत नपाइने बताए ।
विगतका सबै आरोपहरू तथा जहाज किन्न नपाएका गुनासोहरूको अन्त्य भएको र इतिहासमै पहिलो पटक वाइडबडी जहाजसमेत खरिद गरिएकाले अब व्यवस्थापनमा चुकेमा माफी नहुनेसमेत बताएका छन् ।
मन्त्री अधिकारीले विगतका गल्तीहरूबाट पाठ सिक्दै नयाँ चुनौतीको समाना गर्दै अगाडि बढ्न आग्रहसमेत गरेका छन् । नेपाल वायुसेवा निगमको ६० औं वार्षिकउत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले विगतमा जस्तो अरूलाई आरोप लगाएर बस्ने समय नभएको समेत बताएका छन् ।
“निगमको अबको चुनौती भनेको व्यवस्थापन हो, निगमले बिजनेस प्लान मात्रै बनाएर हुँदैन प्रभावकारी कार्यान्वयनसमेत गर्नुपर्छ,” मन्त्री अधिकारीले भने । निगमको जहाज बढेसँगै कर्मचारीमा दायित्वसमेत थपिएको उनले बताए । “जुन देशको आफ्नै ध्वजावाहक एयरलाइन्स र जहाज छैन त्यो देशले पर्यटन क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्न सक्दैन,” मन्त्री अधिकारीले भने । मुलुकमा पर्यटक भिœयाउन निगम बलियो बनाउनुपर्ने भएकाले सो विषयमा सबैको ध्यान केन्द्रित भएकाले सरकारले जहाजमा कमी हुन नदिने तर व्यवस्थापनमा निगम चुक्न नहुने समेत बताए । निगमको लागि कस्तो खालको रणनीतिक व्यवस्थापन साझेदार ल्याउने भन्ने विषयमा छलफल चलिरहेकाले छिट्टै साझेदारको विषयसमेत टुंग्याउने मन्त्री अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कार्यबाहक सचिव सुरेश आचार्यले व्यवस्थापनको सूक्ष्म ढंगले अध्ययन गर्न निगम व्यवस्थापनलाई आग्रह गरेका छन् । निगमले नयाँ वाइडबडी जहाज ल्याइसकेपछि अन्तर्राष्ट्रिय बजार विस्तार २० प्रतिशतले र आन्तरिक बजार विस्तार २५ प्रतिशत हुनुपर्नेमा जोड दिँदै सोही अनुसारको तयारीमा लाग्न निगम व्यवस्थापनलाई आग्रह समेत गरेका छन् । निगमको व्यवस्थापन सुधार ल्याउन रणनैतिक साझेदार र वित्तीय साझेदार ल्याउन मन्त्रालयले छलफल गरिरहेको आचार्यले बताए ।
उनले २४ अर्ब रुपैयाँमा खरिद गरिएको जहाजको ब्याज १० प्रतिशतले तिर्दा वार्षिक २ अर्ब ४० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ र मासिक २० करोड रुपैयाँ ब्याज तिर्नुपर्ने भएकोले व्ववस्थापनमा चुक्न नहुने बताए ।
निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले मुलुकको पर्यटनको विकासका लागि राष्ट्रिय ध्वजाबाहक पहिलो सर्त भएकाले सबै सरकारका उच्च तहले बुझ्नु जरुरी रहेको बताए । उनले वाइडबडी जहाज निगम व्यावस्थापनले चुस्त ढंगले चलाउने दाबी गर्दै अब अन्य जहाज खरिद प्रक्रिया पनि अगाडि बढ्ने बताए । उनले सरकारले सेयर लगानीबापत २० अर्ब लगानी गर्न प्रस्ताव गरेको बताउँदै अहिले ५ अर्बको लागि मन्त्रालयले अर्थमा पठाउनु सकारात्मक भएको बताए ।
निगमले तत्काल दुइटा न्यारोवडी जहाज र ६ वटा ट्विनअटर जहाज खरिद प्रक्रियासमेत अगाडि बढाउन लागेको कंसाकारले जानकारी दिए । कार्यक्रममा कर्मचारी युनियन तथा संगठनका तर्फबाट पनि व्यावस्थापनलाई पूर्णरूपमा सघाउने बताएका थिए । कार्यक्रमा २० वर्ष सेवा गरेको कर्मचारीहरूलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्