प्रदेशसभामा बजेटमाथि १५ दिनपछि छलफल «

प्रदेशसभामा बजेटमाथि १५ दिनपछि छलफल

‘बजेट लक्ष्य र गन्तव्यहीन’ 

हेटौंडा-प्रदेश ३ मा आगामी आर्थिक वर्ष २०७५-०७६ को विनियोजन विधेयकमाथि शनिबारबाट छलफल सुरु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आव ०७५-७६ को बजेटमा समावेश योजनाको सूची (कार्यक्रम पुस्तिका) प्रदेशसभा सदस्यलाई वितरण गर्न नसकेपछि सदनमा बजेट प्रस्तुत भएको करिब आधा महिनापछि बजेटमाथि छलफल सुरु भएको हो ।
असार ११ गते बोलाइएको बैठक “प्राविधिक’ कारणले भन्दै कार्यक्रम पुस्तिका प्रदेशसभा सदस्यलाई वितरण गर्न नसकेपछि १५ गते शुक्रबारको लागि आह्वान गरिएको थियो । शुक्रबारको बैठकमा पनि अध्ययनका लागि छोटो समय मात्रै भएको विपक्षी दलले छलफल अघि नबढाउने अडान राखेपछि बैठक शनिबारका लागि सारिएको हो ।
छलफलको क्रममा प्रतिपक्ष दलका सांसद्हरूले बजेटको चर्को आलोचना गरेको छन् भने सत्ता पक्षका सांसद्हरूले बजेटको केही बचावट गरेपनि बजेटले सबै क्षेत्रको माग सम्बोधन गर्न नसकेको बताएका छन् । छलफलको क्रममा पहिलो दिनमा १५ जना सांसद्हरूले आफ्नो धारणा राखेका छन् । “प्रदेश सरकारले लक्ष्य र गन्तव्यहिन बजेट ल्याएको छ । यस बजेटबाट समृद्धिको आशा गर्नु बेकार छ,” कांग्रेसका सांसद् डा. राजाराम कार्कीले भने । गृह जिल्ला धादिङको निर्वाचन क्षेत्रमा कुनै पनि योजना नपरेको भन्दै वितरणमुखी बजेट ल्याउँदासम्म समृद्ध मुलुक निर्माण नहुने दावी गरे । उनले प्रदेश सरकारले ठूलाठूला योजना सञ्चालन गर्नुपर्नेमा साना–साना योजनामा अल्झिएको भन्दै भ्रष्टाचार र सुशासन कायम गर्न बजेटले काम गर्न नसक्ने दावी गरे ।
प्रतिपक्ष दल विवकेशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौडेलले प्रदेश सरकारलाई बहुमतको दम्भ र घमण्ड नदेखाउन आग्रह गरे । “अहिलेको बजेट आशा र त्रासले बनेको छ । बजेट गहिराइमा पुगेन । कनिकालाई पनि पिठो बनाएर बाँड्ने काम भयो । बजेटमा जमिनमा नभएर हावामा उडिरहेको छ,” सांसद् पौडेलले दीर्घकालिन हिसावले आशा राख्ने गरी बजेट निर्माण नभएको बताए ।
“प्रदेशसभाबाट पास नभएको विधेयकहरू संसदीय समितिमा छलफल गर्नुपर्ने हुन्छ । तर, विडम्बना संसदीय समितिलाई पर्याप्त बजेट छैन । तीन÷चार लाख रुपियाँ बजेट बराबरका योजना समेत समावेश गरिएको छ । जसले गर्दा हामीले भनेको समृद्धि आउने कुनै आधार देखिँदैन,” उनले भने ।
नेपाल मजुदर किसान पार्टीका सांसद् सुरेन्द्रराज गोसाईंले बजेटलाई अपरिपक्व, वितृष्ण पैदा गर्ने र लुघसोचबाट आएको भन्दै कर्मकाण्डीको रुपमा चित्रण गरे । उनले कृषि, स्वास्थ्य र शिक्षा थोरै बजेट छुट्याइएको भन्दै बजेटले यस प्रदेशको भूत, वर्तमान र भविष्यको निर्धारण गर्न नसक्ने बताए ।
राप्रपा प्रजातान्त्रिककी सांसद् रिना गुरुङले यस बजेटलाई प्रदेशको नभएर वडाको संज्ञा दिइन् । “यस बजेटलाई वडाको भन्दा कमजोर रुपमा मैले लिएको छु । यसबाट कसरी समृद्धि हुन्छ,” उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटबीच नै तालमेल नभएको बताइन् । उनले डिनरका लागि दशलाख रुपियाँ र किताब छाप्न करोड रुपियाँ सरकारले छुट्याएको भन्दै विरोध गरिन् ।
नयाँ शक्तिका सांसद् प्रेमबहादुर तामाङले बजेटले जनभावना समेट्न नसकेको भन्दै नेता र कार्यकर्तालाई खुशी बनाउने बजेट प्रदेश सरकारले ल्याएको बताए । “यो पार्टी कार्यालयबाट बजेट आएको छ । नेता र कार्यकर्तालाई धनी बनाउने शैलीको बजेट छ । यस्तै क्रम रहने हो भने पाँचवर्षमा नेकपाका कार्यकर्ताले विनोध चौधरीलाई जित्नेछन्,” उनले भने । अब समृद्ध नेपाल सुखी नेपाली नभएर समृद्ध पार्टी सुखी नेता कार्यकर्ता हुने टिप्पणी गरे ।
काँग्रेस सांसद् गीता वाग्लेले धार्मिक, बृद्धबृद्धा र बालबालिकाको क्षेत्रमा बजेट नछुट्याइएको भन्दै आलोचना गरिन् । उनले सुकुम्बासी समस्या समाधानका लागि प्रदेश सरकार तयार नदेखिएको बताइन् । काँग्रेस सांसद् छिरिङ दोर्जे लामाले अपुरो बजेट आएको बताउँदै प्रदेश सरकारले सदनमा उठेको प्रश्नको उत्तर समेत दिन नसकेको अवस्थामा बजेट कार्यान्वयन हुन्छ भनेर विश्वास गर्न नसकिने बताए ।
नेकपाका सांसद् जगतबहादुर सिम्खडाले जनताले देखेको सपना पूरा हुने बजेट नआएको बताउँदै संक्रमणकाल नै कायम भएकाले कनिका छरेजस्तो देखिएको बताए । कतिपय सांसद्हरूले मुख्यमन्त्री, अर्थमन्त्री र मन्त्रीको निर्वाचन क्षेत्रमा बढी बजेट छुट्याइएको आरोप लगाएका थिए ।
छलफलमा सांसदहरू दिनेश महर्जन, नरोत्तम बैद्य, प्रेमबहादुर पुलामी, सन्तबहादुर प्रजा, निमा लामा, योगेन्द्रराज संग्रौला, भीमसेन खत्री, नारायणबहादुर सिलवाल र विशाल खड्काले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्