नेविसंघद्वारा सरकारी सवारीसाधनमा तोडफोड «

नेविसंघद्वारा सरकारी सवारीसाधनमा तोडफोड

कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार तुलसीपुरमा तीनवटा सरकारी गाडीमा तोडफोड गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाका अनुसार अदुवाबाली अनुसन्धान केन्द्र सल्यानको बा २ झ ३०७० र जिल्ला प्राविधिक कार्यालय रुकुमको बा १ झ ८४२२ नम्वरको गाडीको सिसा नेविसंघका विद्यार्थीले तोडफोड गरेका हुन् ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरको एउटा मोटरसाईकल पनि नेविसंघका विद्यार्थीले तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । यसैबीच गाडीमा तोडफोड गरेको आरोपमा प्रहरीले दंगिशरण गाउँपालिका वडा नं. ७ निवासी प्रकाश चौधरीलाई पक्राउ गरिएको डिएसपी सापकोटाले बताएका छन् । यता नेविसंघका पदाधिकारीहरुले भने प्रहरीले हिँड्दै गरेका व्यक्तिलाई छोपेर थुनेको भन्दै त्यसको विरोध गरेका छन् ।
यसैबीच नेविसंघ क्षेत्र नं. ४ का क्षेत्रीय सभापति एकराज खड्का, उपसभापति प्रदिप गौतम लगाएतका व्यक्तिहरुले आफूहरुको पूर्वघोषित केन्द्रीय कार्यक्रमअनुरुप बन्द अवज्ञा गर्नेमाथि सम्झाउन खोज्दा उल्टै गालिगलौज गर्न थालेपछि साथीहरुले गाडीमा ढुङ्गा हानेको बताएका छन् । नेविसंघका जिल्ला सहसचिव जितेन्द्रप्रकाश वलीले प्रहरीको ज्याजतीका कारण घटना भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्