डा. केसीको समर्थनमा हस्ताक्षर संकलन «

डा. केसीको समर्थनमा हस्ताक्षर संकलन

जुम्ला-चिकित्सा शिक्षा सुधारका लागि जुम्लामा शनिबारदेखि १५ औं अनसन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । प्रहरी नियन्त्रणकै बीच अनशन सुरु गरेका केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको उनका भाइ किशोर केसीले बताए ।
उनका अनुसार अनशनरत केसीलाई स्लाइन लगाउन आवश्यक देखिएको छ । तर, डा. केसीले नमानेको उनको भनाइ छ । अनशनरत स्थान कवर्डहलमा बिजुली, पानी र शौचालय नभएकाले स्वास्थ्यमा समस्या देखिएको हो ।
निकै कष्टका साथ चिसो सिमेन्टमा पहिलो रात कटाएका केसीले माग सम्बोधन नभएसम्म कुनै खाले उपचार गर्न तयार नरहेको बताएका छन् । सिमेन्टको चिसोले सुन्निने, ज्वरो आउने समस्याले चाँडै च्याप्ने चिकित्सकहरुले बताएका छन् । चिकित्सा शिक्षा सुधारका लागि विभिन्न माग राख्दै १४ औं पटक काठमाडौँमा अनसन बस्दा सरकारले लत्याएको उनको भनाइ छ ।
कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पताल प्ररही प्रशासनले केसीलाई प्रतिष्ठानमा अनशन बस्न प्रहरीले केसीलाई रोक लगाएको थियो । तर स्वास्थ्य उपचारका लागि भने प्रतिष्ठानलाई पत्राचार गरेको जुम्लाका प्रजिअ विष्णु पौडेलले बताए । यता, प्रतिष्ठानका मेडिकल डाइरेक्टर पुजन रोकायाले प्रशासनबाट पत्र आए पनि स्वास्थ्य परीक्षण गर्न नसकिएको बताए ।

कालोपट्टी र हस्ताक्षर संकलन
डा. केसीको समर्थन गर्दै जुम्लामा हस्ताक्षर संकलन कार्य थालिएको छ भने मुखमा कालोपट्टी बाँधेर समर्थन गरिएको छ । नागरिक समाज जुम्लाको आयोजनामा मुखमा कालो पट्ी बाधेर डा. केसीको सत्याग्रहलाई सफल पार्न हस्ताक्षर संकलन गरिएको नागरिक समाजका अध्यक्ष रामबहादुर महतले बताए ।
उनका अनुसार सोमबारमात्रै झण्डै ५ हजार बढी हस्ताक्षर संकलन भएको छ । नेता र माफियामुखी हैन, जनता र विद्यार्थीमुखी ऐन, कर्णालीका जनतालाई दया होइन, अधिकार चाहिन्छ लगायतका नारासहित हस्ताक्षर संकलन थालिएको हो ।
प्रहरी प्रशासनले अनसनका लागि अवरोध गर्दा शनिबार ढुंगामुढासमेत भएको थियो ।
कष्टका साथ अनश बसेका केसीलाई सुरक्षित स्थानमा लैजान नेपाल चिकित्सक संघ जुम्लाले माग गरेको छ । अनशन स्थल पुग्नु अगावै केसीलाई हिरासतमा लिएकोमा संघले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्