पुँजीबजारमा प्रविधि, लागत र बहिष्करणको जोखिम «

पुँजीबजारमा प्रविधि, लागत र बहिष्करणको जोखिम

विद्यमान वा प्रस्तावित प्रविधिमा प्रश्न उठ्न नदिन जिम्मेवार पक्षले सुरक्षित कारोबार र तथ्यांकमा अनधिकृत पहुँच र सूचनाको दुरुपयोग नहुने विश्वसनीय आधार प्रस्तुत गर्नुपर्छ ।

सूचना प्रविधि पनि गाँस, बास र कपासजत्तिकै महत्वपूर्ण आधारभूत आवश्यकता, व्यवसाय, मुनाफा, कूटनीति, राजनीति सबैको अस्त्र भएको छ । समाजको अविभाज्य हिस्सा हुन पुगेको अवस्थामा पुँजीबजार प्रविधिबाट अछुतो रहने कुरै भएन । विश्व पुँजीबजारमा सहजता र सुरक्षित कारोबारको हिस्सा बनिसकेको प्रविधिले बजार सञ्चालन, व्यवस्थापन, नियमन, लगानीकर्तासँग सञ्चार र सूचना प्रवाहका लागि सहयोगी र विश्वनीय माध्यमका रूपमा प्रयोग हुँदै आएको छ, तर प्रविधिलाई भर्खरै आत्मसात् गर्दै अगाडि बढेको नेपाली पुँजी (धितोपत्र) बजारमा आमलगानीकर्ताका लागि भने नयाँ प्रविधिहरू लागत, पहुँच र ज्ञानको कारण ‘…दिनभरिको सिकार’ जस्तो भएको छ ।

पुँजीबजारमा प्रविधि
नवीनतम सूचना प्रविधिको उपयोग सन्दर्भमा नेपाली पुँजीबजारलाई शिशु/बाल अवस्था मान्न सकिन्छ । वि.सं. १९९४ मा नै सेयर जारी भए पनि २०४१ बाट मात्र सूचीकृत धितोपत्र खुला बोलकबोल (ओपन आउट क्राई) बाट कारोबार तथा कागजागतका आधारमा राफसाफ फछ्र्योट हुँदै आएकोमा २०६४ बाट बल्ल कम्प्युटरकृत स्वचालित कारोबार प्रणाली सुरु भयो । सोही वर्ष वाइड एरिया नेटवर्कमार्फत कारोबार सुरु गरी वेबसाइटमार्फत कारोबारको विवरण प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरियो । धितोपत्र अभौतीकरण र निक्षेपका लागि केन्द्रयी निक्षेप प्रणालीका सञ्चालन गर्न २०६७ मा नै सीडीएस एन्ड क्लियरिङ कम्पनीको स्थापना भए पनि २०७१ बाट धितोपत्रको अभौतीकरण र कारोबार सुरु भएसँगै पुँजीबजारमा प्रविधिको वास्तविक प्रयोग भएको देखिन्छ । २०७२ देखि भने पूर्ण अभौतिक धितोपत्रको मात्र कारोबार गर्दै विद्युतीय कारोबारमा प्रवेश गरेको हाम्रो पुँजीबजारमा २०७३ देखि एप्लिकेसन सपोर्टेड वाई ब्लक्ड एमाउन्ट (आस्बा) र २०७४ मा परिष्कृत सी–आस्बाको सुरुसँगै सार्वजनिक निष्कासन (आईपीओ), हकप्रद र थप सार्वजनिक निष्कासन (एफपीओ) मा प्रविधिले निकै सहजता प्रदान गरेको छ ।
सम्भवतः २०७५ मा नै अनलाइनबाटै कारोबार र राफसाफ गर्दै नवीनतम प्रविधिको प्रयोगमा थप फड्को मार्नेछ । यसका लागि नेपाल स्टक एक्सचेन्जले नयाँ सफ्टवेयरको विकास अन्तिम चरणमा पुगेको जनाएको छ भने अन्य प्राविधिक, मानवीय, भौतिक र कानुनी पूर्वाधारहरूको तयारी पनि सँगसँगै भइरहेको छ । यसरी हुँदा पनि विश्व पुँजीबजारमा प्रयोग भइरहेको स्तरको प्रविधि र सुविधाका लागि भने अझै थप लगानी र समय लाग्ने देखिन्छ ।

प्रविधिसगै बढ्दो लागत
विश्वको व्यावहारिक अनुभव हेर्ने हो भने वस्तु तथा सेवाको उत्पादन र वितरणका लागि समयसँगै लागत कम गर्ने माध्यम प्रविधि बनेका छन् । नेपालको पुँजीबजारका सन्दर्भमा प्रविधि सहज र छिटो कार्यसम्पन्न गर्ने माध्यम त बन्यो तर लागत मितव्ययी हुन नसकेको अनुभव लगानीकर्ताहरूले गर्न बाध्य छन् ।
अभौतिक सेयरको कारोबार गर्ने प्रविधिको उदयसँगै डिम्याट खाता खोल्न र वार्षिक नवीकरण शुल्क तिर्न बाध्य लगानीकर्ताहरू सेयरको नामसारीका लागि विगतको रु. ५ को सट्टा रु. २५ तिर्न बाध्य भए । डीपीमार्फत डिम्याट खातामा निःशुल्क अनलाइन पहुँच पाइरहेका लगानीकर्ताहरू सीडीएसले विकास गरेको सशुल्क ‘मेरो सेयर’को लगइन लिन बाध्य भएका छन् ।
यसका साथै अनिवार्य बैंक खाता, एकाउन्टपेयी चेकबाट मात्र भुक्तानी, बैंक खाताबाट मात्र लाभांशको भुक्तानीजस्ता प्रविधिगत सेवाको उदयसँगै लगानीकर्ताहरू बैंक खाता सञ्चालन र अनलाइन एक्सेस, चेक क्लियरिङ र आईपीएसका लागि थप शुल्क तिर्न बाध्य छन् । सरसर्ती हेर्दा एक जना लगानीकर्ताले (क) डिम्याट खाता खोल्दा रु. १ सय ५० सँगै वार्षिक नवीकरण शुल्क रु. १ सय, (ख) मेरो सेयरको लग–इनका लागि वार्षिक रु. ५०, (ग) शून्य मौज्दातको बैंकमा खाता खोल्दा पनि अनलाइन एक्सेस लिन वार्षिक रु. २ सय हाराहारी, (ग) रु. २ लाखभन्दा बढीको सेयर बिक्रीमा प्रत्येक चेक क्लियरिङ शुल्क रु. ३०, र (घ) लाभांश, सेयर नपरेको पैसा फिर्ता हुँदा आईपीएस शुल्क न्यूनतम रु. ५ भन्दा तिर्नुपरेको छ ।
हो, प्रविधिले गर्दा धितोपत्र/सेयरको आवेदन र लाभांश प्राप्ति सहज भएको छ, तर प्रविधिको नाममा अनेक शुल्क तिर्न बाध्य लगानीकर्ताहरूका लागि प्रविधि आर्थिक बोझ त बनेकै छ, ‘नखाउँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहार’ सावित हुँदैछ । यसले ‘अगुल्टोले हानेको कुकुर बिजुलीबाट पनि तर्सिन्छ’ भनेजस्तै लगानीकर्ताहरू आउने अनलाइनका नाममा थप केकति लागत बेहोर्न बाध्य हुने भन्नेमा सशंकित भएका छन् । पक्कै पनि प्रविधिले लगानीकर्तासँगै बजार सञ्चालक, डिपोजिटरी र क्लियरिङ, सेयर दलाल, डीपी सेवाप्रदायक र नियामक सबैलाई सहज भएको छ, तर यसको सम्पूर्ण आर्थिक भार आफूमा सारिएको अनुभूति लगानीकर्ताहरूले गरिरहेका छन् ।

डिजिटल डिभाइड
विश्वमा प्रविधिको विकास र प्रयोग समग्र मानवीय हितमा गर्ने भनिए पनि अधिकतम लाभ भने विकासकर्ता/उत्पादक, निर्यातक हुँदै पहुँच र लगानी क्षमता भएकाहरूले आफ्नो स्वार्थ अनुकूल व्यक्तिगत, व्यवसायिक, राष्ट्रिय स्वार्थमा उपयोग भइरहेको देखिन्छ । प्रविधिकै नाममा ज्ञान, सीप र पहुँच नभएका मानिसहरू आर्थिक र भौतिक सेवासुविधाबाट बहिष्करणमा परेका वा पारिएको मात्र होइनन्, आर्थिक क्रियाकलापबाट विमुख हुँदै कठिन जीवनयापन गर्न बाध्य हुनुपरेको तितो यथार्थ पनि हाम्रो सामु छ ।
नेपाली पुँजीबजार पनि प्रविधिमैत्री बन्दै गर्दा प्रविधिको ज्ञान र सीप भएका व्यक्तिलाई स्वभाविक रूपमा लगानी र कारोबारमा सहज पहुँच र अवसर हुनेछ, तर लगानी र कारोबारको क्षमता भई सूचना प्रविधि र कम्प्युटरसम्बन्धी सीप र पहुँच नभएका लगानीकर्ताहरू (क) बजारमा आफ्नो पहुँच र नियन्त्रण गुमाउन, (ख) बजारबाट बाहिरिन, (ग) आफ्नो सम्पत्तिमा अर्को व्यक्तिलाई पहुँच दिएर थप जोखिम मोल्न बाध्य हुने सम्भावना रहन्छ ।
विगतमा दलालमार्फत वा निष्कासनकर्ता संस्थामा गएर सहजै धितोपत्र खरिद गर्दै आएका केही लगानीकर्ता अहिले पनि इमेल एकाउन्ट नभएर वा डिम्याट खाताको ज्ञान वा विश्वास नभएर वा अन्य कारण डिम्याट खाता खोल्न नसकेर आफूसँग भएको सेयर प्रमाणपत्र सिरानी हालेर बस्न बाध्य छन् । प्रविधिमा आधारित डिम्याट खाता, मेरो सेयर, सी–आस्बा अनिवार्य हुँदा नै कारोबार र लगानीमा समस्या भोगिरहेका केही लगानीकर्ताहरू कम्प्युटर प्रविधिमार्फत अनलाइन कारोबारसँगै बजारबाट बाहिरन बाध्य हुने जोखिम उच्च देखिन्छ ।
तसर्थ, पुँजीबजारमा प्रविधि भित्र्याउँदै गर्दा पुँजीबजारका त्यस्ता लगानीकर्ताहरू बहिष्करणमा नपरून भन्ने चनाखो हुनैपर्छ । उनीहरूको क्षमता विकास, कारोबार तथा लगानीमा सहज पहुँचका लागि उपयुक्त विकल्पसहितविशेष व्यवस्था गरिनुपर्छ । निश्चित अवधि म्यानुअल र प्रविधिमा आधारित द्वैध बजार सञ्चालन विधि अपनाउन परे पनि तयार हुनुपर्छ ।

प्रविधिसँगै जोखिम
नेपालजस्तो प्रविधिको आयात र उपभोगमा सीमित मुलुकलाई प्रविधि वरदान मात्र होइन, जोखिम पनि हुन्छ । हार्डवेयर, सफ्टवेयर, सञ्चारमाध्यम र प्रविधि, स्याटेलाइट सबै अरूको भर पर्नुपर्ने अवस्थामा प्रविधिको माध्यमबाट सूचनामा अनधिकृत पहुँच र दुरुपयोगलाई नकार्न सकिँदैन । जतिसुकै सुरक्षित र त्रुटिरहित प्रविधि भए पनि व्यक्तिगत र व्यावसायिक स्वार्थका कारण प्रविधि जोखिमपूर्ण हुन्छ । अझ कम्प्युटर र सफ्टवेयरमा हुने न्यून लगानी, छलछाम र सुरक्षामा गरिने सम्झौताले थप जोखिम सिर्जना गरिरहेको हुन्छ ।
हुन त भर्खर प्रविधितर्फ बामे सर्दै गरेको नेपाल पुँजीबजारमा प्रविधिगत क्षति र जोखिमका बारेमा खास प्रश्न उठेको वा उठाइएको छैन । सायद पुरानो प्रविधि र आवश्यक लगानी नहुँदा बजार अवधिमा वेबसाइटमा गडबडी, गलत विश्लेषण र सूचना प्रवाह, डिम्याट खाताको विवरणमा त्रुटिलाई लगानीकर्ताहरूले सामान्य रूपमा लिएका छन् । हुन त एसईई नतिजामा गडबडी र व्यक्तिगत सूचनामा अनधिकृत पहुँच कायम गरी व्यावसायिक लाभका लागि प्रयोगलाई सहजै लिने नेपाली समाजका हामी लगानीकर्ताहरूले प्राविधिक त्रुटि भन्दै प्रविधिगत गडबडीलाई सहजै स्विकार्दै आएका छौैं ।
तर अनलाइनमा गएसँगै कारोबार र राफसाफमा प्रविधिको अधिकतम प्रयोग हुने अवस्थामा प्रविधिगत जोखिमको दायरा बढ्ने हुँदा लगानीकर्ताहरूले व्यक्तिगत सूचनाम अनधिकृत पहुँच र दुरुपयोग हुन सक्नेमा आशंका गर्नु स्वभाविक मान्नुपर्ने हुन्छ । नेप्से, सीडीएससी, दलाल र लगानीकर्ताहरूको विद्यमान प्राविधिक सीप र क्षमता, भौतिक पूर्वाधार, सुरक्षित सूचना प्रवाह र भण्डारण (डाटा सेन्टर) तथा सूचनामा पहुँचजस्ता कारण प्रविधिगत जोखिम बढ्ने पो हो कि भन्ने आशंकलाई (क) प्रस्तावित एउटै अनलाइन प्रणालीको विभिन्न मोड्युल र भागहरूको निर्माणमा फरक–फरक पक्षहरूको संलग्नता, (ख) सेयर दलालहरूको विद्यमान व्यवसायको आकार, पुँजी, मानव संसाधन आदिका कारण ट्रेड म्यानेजमेन्ट सिस्टमको विकास, तथ्यांक भण्डार र प्रणाली सञ्चालनमा उदासिनता, (ग) सरोकारवालाहरूबीचको विद्युतीय सञ्चार र कारोबारसम्बन्धी तथ्यांकको सुरक्षित भण्डारणका लागि विद्यमान संस्थाहरूसँग डाटा सेन्टर नहुनुले सघाएको छ । अझ पूर्ण प्राविधिक तयारीबिना अनलाइन कारोबार प्रणाली ल्याइएको अवस्थामा त्यसबाट सिर्जना हुने जोखिम एकले अर्कोलाई पन्छाउने र अन्ततः सबै जोखिम लगानीकर्ताहरूले बेहोर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले विद्यमान वा प्रस्तावित प्रविधिमा प्रश्न उठ्न नदिन जिम्मेवार पक्षले लगानीकर्ताहरूलाई सुरक्षित कारोबार र तथ्यांकमा अनधिकृत पहुँच र सूचनाको दुरुपयोग नहुने विश्वसनीय आधार प्रस्तुत गर्नुपर्छ । जतिसुकै नवीनतम प्रविधि भए पनि त्यसमा मानवीय संलग्नताका कारण विश्वसनीयता मुख्य मुद्दा हुने बिर्सनु हुन्न ।
अन्त्यमा, पुँजीबजारलाई प्रविधिमैत्री बनाउँदै गर्दा (क) लागतको सन्तुलित बाँडफाँड, (ख) बजारमा सबै प्रकारका लगानीकर्ताको सहज पहुँचको सुनिश्चितता, (ग) नयाँ प्रविधिमा पहुँच, ज्ञान र सीप नभएका लगानीकर्ताहरूको क्षमता विकाससँगै उपयुक्त विकल्प, (घ) सुरक्षित कारोबारसँगै तथ्यांकमा अनधिकृत पहुँच र दुरुपयोग नहुने सुनिश्चितता गरिनुपर्छ ।
(लेखक सेयरबजार जानकार हुन् ।)

प्रतिक्रिया दिनुहोस्