तनहुँ हाइड्रो र प्राधिकरणबीच पीपीए «

तनहुँ हाइड्रो र प्राधिकरणबीच पीपीए

दमौली-नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर भएको छ ।
प्राधिकरणका तर्फका कार्यकारी निर्देशक कुलमान घिसिङले र आयोजनाको प्रवद्र्धक कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रदिपकुमार थिकेले शुक्रबार जलाशययुक्त आयोजनाको पहिलो पीपीएको रूपमा आयोजनाको विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुने मितिदेखि ३० वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ । आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति ३० चैत २०८० (१२ अप्रिल २०२४) तोकिएको छ ।
प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)मा प्रतियुनिट क्रमश : १२.४० र ६.०८ रुपैयाँमा खरिद गर्नेछ । साथै उक्त दरमा कम्पनीले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्य वृद्धि पाउने व्यवस्थाअनुसार मूल्य वृद्धि पश्चात (९७ औं महिनादेखि) आयोजना अवधिभर खरिद दर प्रतियुनिट सुख्खायाममा १५.३८ र वर्षायाममा ७.५४ रुपैयाँ कायम हुनेछ ।
साथै व्यापारिक उत्पादन सुरु हुने मिति कायम भएको महिनाको अर्को वर्षमा वार्षिक रूपमा वर्षायाममा उपलब्ध गराइएको ऊर्जाको अनुपातमा ऊर्जाको खरिद दर समायोजन गरिने व्यवस्था गरिएको छ । आयोजनाको सुख्खा र वर्षायामको क्रमश ः १७ करोड ८९ लाख र ३२ करोड ३६ लाख युनिटलाई सम्झौता ऊर्जा कायम गरिएको छ ।
यदि कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुख्खायामको ऊर्जा कुल वार्षिक उपलब्ध गराइएको ऊर्र्जाको ३५% भन्दा कम भएमा उक्त वर्षका लागि आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध–जलाशययुक्त आयोजनाको लागि तोकिएको खरिद दर लागू हुने व्यवस्था छ । प्राधिकरणले अर्ध–जलाशययुक्त आयोजनाका लागि सुख्खा र वर्षायामका लागि प्रतियुनिट क्रमश : १०.५५ र ४.८० रुपैयाँ खरिद दर निर्धारण गरेको तनहुँ हाइड्रोपावर लिमिटेडका सञ्चारविज्ञ सचेन गौतमले जानकारी दिए ।
प्राधिकरणले व्यापारिक उत्पादन सुरु हुने मितिदेखि प्रत्येक महिना आयोजनाबाट उत्पादन हुने सम्झौता ऊर्जाको परिमाणसम्मको ऊर्जा खरिद गर्नुपर्नेछ । साथै अतिरिक्त ऊर्जाको हकमा प्राधिकरणले जारी गरी माथि तोकिएको खरिद दरको ५० प्रतिशत दरमा खरिद गर्नेछ ।
आयोजनाबाट उच्पादन हुने विद्युत् ऊर्जा दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित गरिने छ । आयोजनाको पूूर्वाधार निर्माण कार्यहरू सम्पन्न हुने अवस्थामा छन् भने मुख्य संरचना निर्माणको लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको मुख्य संरचनाको निर्माणकार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।
आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख प्रशारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन बेर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्