टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं-पूर्वसांसद रुक्मणी चौधरीले टीकापुर घटनाको बारेमा तयार पारिएका प्रतिवेदनहरु सार्वजनिक गर्न सरकारलाई आग्रह गरेकी छन् । रिपोर्टर्स क्लबमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन् ।
२०७२ भदौ ७ गते कैलाली जिल्लाको टीकापुरमा भएको घटना राजनीतिक भएको जिकिर गर्दै सभासद चौधरीले झुटा मुद्दा लगाएर २६ जनालाई कैदीबन्दी गरिएकोमा आपत्ति प्रकट गरिन् । उनले भनिन्, “नेपालका चौधरी गौतम बुद्धका सन्तती हौं, हामीलाई हिंसा गर्न आउँदैन । बुद्धको दर्शन र मार्गमा हामी हिँड्ने मानिस हौं, टीकापर घटना राज्यले घटाएको हो, त्यो घटना राजनीतिक थियो । राजनीतिक रुपमै त्यसको समाधान खोज्नुपर्छ ।”
टीकापुर घटनालाई थारु आन्दोलनलाई समाप्त पार्ने अस्त्रका रुपमा राज्यले लिएको बताउँदै पूर्वसभासद चौधरीले भनिन्, “यदि टीकापुर घटनालाई लिएर थारु समुदायलाई प्रभावित पार्ने र हत्यारा बनाईन्छ भने १७ हजार मान्छे मार्ने प्रचण्डलाई जेल हाल्नुपर्यो । झापा आन्दोलनको नाममा घाँटी काट्दै हिँड्ने प्रधानमन्त्री ओलीलाई जेल हाल्नुपर्यो ।”
रेशम चौधरीलाई सांसदको सपथग्रहण गराउन माग गर्दै पूर्व सभासद चौधरीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने जनताको कानुनी अधिकार भएको भन्दै निषेधित क्षेत्र घोषणा गरेर सरकारले कानुनको धज्जी उडाएको आरोप लगाइन् ।