रेल गुडाउने विषयलाई नउडाउन ओलीको आग्रह «

रेल गुडाउने विषयलाई नउडाउन ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका सांसदबीच प्रतिनिधि सभामा घोचपेच र ठट्यौली चलेको छ ।
खासगरी नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले रेललाई लिएर ठट्यौली पाराको प्रश्न सोधेपछि बजेटमाथिको सवालजवाफ घोचपेच र ठट्यौलीपूर्ण बनेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि छुट्याइएको बजेटमाथि सांसदहरुले राखेका धारणामा प्रधानमन्त्री ओलीले ४२ मिनेट लामो जवाफ दिनुभयो । तर प्रधानमन्त्री ओलीको जवाफ चित्त नबुझेपछि नेपाली कांग्रेसका सांसदहरुले प्रश्न सोध्न सुरु गरे । दिलेन्द्रप्रसाद बडु, रामबहादुर विष्ट र डाक्टर मिनेन्द्र रिजालले प्रधानमन्त्रीमाथि व्यंगसहित प्रश्न सोध्नुभयो । रिजालले ओलीलाई चीनमा गुडिरहेको रेल देखाएर नेपालमा रेल गुडाउने भाषणबाजी गरेको त होइन भनी प्रश्न सोधे ।
कांग्रेसका सांसद्हरुले प्रश्न सोध्ने क्रम सकिएपछि प्रधानमन्त्री ओलीले जवाफ दिन सुरु गरे । जवाफको सुरुमै प्रधानमन्त्री ओलीले रिजाललाई डाक्टर भनेको डाक्टर नै हो भन्दै बैठकमा हसाउँदै रिजालको विद्धतालाई सलाम गरे । तर उनले नेपालमा रेल गुडाएर देखाउनेमा निश्चिन्त हुन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले विकासको कुरा गर्दा जहिल्यै विरोध हुने गरेको भन्दै त्रिचन्द्र कलेज स्थापना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दाताकाको प्रसंग पनि निकाले । उनले मलेसियाको विकास प्रसंग समेत सुनाउँदै आफूले नेपाललाई समृद्ध बनाएर देखाउने थाहा हुँदा हुँदै कांग्रेसले बुझ पचाएर विरोध गरेको बताए ।
बैठकमा प्रधानमन्त्री ओलीलले जवाफ दिनुपहिले नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले समेत प्रश्न सोधेका थिए । सांसद सुवालले खासगरी राष्ट्रिय योजना आयोग, पुरातत्व विभाग लगायत केही सरकारी निकाय किन खारेज नगर्ने भनी प्रश्न सोधे ।
जवाफमा प्रधानमन्त्री ओलीले वडाध्यक्षले पुरातत्वविद्को काम गर्न नसक्ने भन्दै आवेश र उत्तेजनामा आएर प्रश्न नगर्न सांसद सुवालसँग आग्रह गरे । उनले सरकारले राम्रो काम गर्छु भनेको विषयमा खुशी हुनुको साटो ताली नबजाइ बसेकामा आफूलाई अचम्म लागेको बताए ।
प्रधानमन्त्री ओलीको आत्म प्रशंसामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले त पेट मिचेर रमाइलो माने नै, विपक्षी नेपाली कांग्रेसका सांसदले समेत हाँसो रोक्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्