५ लाख भूकम्प प्रभावितले निजी घर बनाउँदै «

५ लाख भूकम्प प्रभावितले निजी घर बनाउँदै

वि.सं २०७२ को भूकम्पपछि पुनर्निर्माण सुरु भएका निजी घरको संख्या पाँच लाख नाघेको छ ।
निजी आवासका लागि अनुदान सम्झौता गरेका कुल ७ लाख २० हजार ७४२ लाभग्राहीमध्ये ६९.४७ प्रतिशत अर्थात् ५ लाख ७३६ भूकम्प प्रभावितले घर निर्माणअघि बढाएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार, हालसम्म १ लाख ९४ हजार ७३१ घरको पुनर्निर्माण भइसकेको छ ।
सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ७३ हजार ४१९ घरको पुनर्निर्माण सुरु भएको छ । त्यसैगरी, नुवाकोटमा ६४ हजार १६१, धादिङमा ५९ हजार ३९८, गोरखामा ५२ हजार ४४८, दोलखामा ५२ हजार २३५, काभ्रेपलाञ्चोकमा ४३ हजार ८०२, रामेछापमा ३८ हजार ३४२ घरको पुनर्निर्माण कार्य सुरु भएको छ ।
अतिप्रभावित जिल्लाका अतिरिक्त कमप्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माणले गति लिएको छ । कमप्रभावित जिल्लामध्ये लमजुङमा सबैभन्दा धेरै ४ हजार ७४५ घरको पुनर्निर्माण सुरु भएको छ । त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्यामा पनि तीव्र बढोत्तरी भइरहेको छ । ४ लाख ५५ हजार ५८१ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् भने तेस्रो किस्ताका लागि २ लाख ६ हजार ८९२ लाभग्राही योग्य भइसकेका छन् ।
निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलबधताका साथै केही नीतिगत व्यवस्थामा गरिएका सुधारका कारण निजी आवास पुनर्निर्माणमा तीव्रता आएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए । पछिल्लो समय गुनासो सम्बोधनबाट लाभग्राहीको संख्या पनि थपिएको छ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार अहिलेसम्म गुनासो दर्ता गरेकामध्ये ३३ हजार ४३१ लाभग्राही थपिएका छन् । भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्तावापत १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्तावापत १ लाख रुपैयाँ पाउँछन् ।

  • पुनर्निर्माण भइरहेका घरको संख्याः ५,००,७३६
  • पुनर्निर्माण सम्पन्न भएका घरको संख्याः १,९४,७३१
  • लाभग्राही सूचीमा परेका कुल संख्याः ७,८१,७३३
  • प्रबलीकरण सूचीमा परेका लाभग्राही संख्याः २९,४९३
  • अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याः ७,२०,७४३
  • पहिलो किस्ता लिएका लाभग्राही संख्याः ७,१२,०१३
  • दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएकाः ४,५५,५८१
  • तेस्रो किस्ताका लागि प्रमाणीकरण गरिएकाः २,०६,८९२

 

प्रतिक्रिया दिनुहोस्