कृषि कर्जाको सिमा पाँच अर्ब «

कृषि कर्जाको सिमा पाँच अर्ब

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि तथा पशुपन्छी कर्जाको सिमा ५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले व्यावसायीक कृषि तथा पशुपन्छी कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि अनुसार गठन भएको केन्द्रीय समन्वय तथा अनुगमन समितिको बैठकले ३ अर्बको सिमालाई ५ अर्ब पुराएको केन्द्रीय बैंकले जनाएको छ ।
साथै कार्यविधिमा समेत संशोधन गरी योग्य कृषि व्यवसायमा प्राङ्गारिक मल तथा जैविक मल थप गरेको छ । कार्यविधिअनुसार गठित सो समन्वय समिति डेपुटी गभर्नरको संयोजकत्वमा गठन भएको हो । सो समितिमा बैंक वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, सहसचिव अर्थ मन्त्रालय, सहसचिव कृषि मन्त्रालय, सहसचिव पशु विकास मन्त्रालय, अध्यक्ष नेपाल बैंकर्स संघ र नेपाल राष्ट्र बैंकका बं.क तथा वित्तीय संस्था नियमन विभागका निर्देशक सदस्य छन् । समितिले सो कर्जाको सिमा बढाउने निर्णय गरेको हो ।
कार्यविधि अनुसार कृषि तथा पशुपन्छी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थावाट कृषि तथा पशु व्यवसायका लागि प्रवाहित कर्जामा नेपाल सरकाले ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार योग्य कृषि तथा पशुपन्छी व्यवसाय गर्ने व्यक्तिलाई सहुलीयत दरको ब्याजदरमा ७ करोडसम्मको कर्जा प्रदान गर्न सकिन्छ । ग्रामीण क्षेत्रमा स्थापना भइ सञ्चालनमा रहेका कृषि तथा पशुपन्छी व्यवसायका लागि प्रदान भएको कर्जामा बैंक वित्तीय संस्थाले अनुदान बाहेक ५ प्रतिशत भन्दा धेरै ब्याजदर लिन पाउँदैनन् । यस्तो कर्जामा बिमा शुल्क, कर्जा सूचनासम्बन्धी शुल्क मात्र लिन पाइनेछ । तर, प्रति ग्राहक ५ करोड रूपैयाँभन्दा बढीको हकमा केन्द्रीय समन्वय तथा अनुगमन समिति समक्ष स्विकृतीका लागि पेश गर्नुपर्छ ।
बैंक वित्तीय संस्था ब्याज अनुदान प्राप्त हुने गरी प्रवाह गर्ने कर्जाको सुरु सिमा ५ अर्ब रूपैयाँभन्दा बढी हुने कर्जा लगानी गर्नुपरेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप सीमाका लागि केन्द्रीय बैंकवाट अनुमति लिनुपर्छ । बैंक तथा वित्तीय संस्थाले यस कार्यविधि बमोजिम प्रवाहित कर्जाको सदुपयोगिता यकिन गरी ऋणीले त्रैमासिक भुक्तानी गर्नुपर्ने कर्जा रकम भुक्तानी गरेको प्रमाण सहित नेपाल राष्ट्र बैंकमा ब्याज अनुदानका दागि निवेदन दिनुपर्ने छ । नेपाल राष्ट्र बैंक व्याज अनुदान सोधभर्ना खाता खोली सुरुमा ५० करोड रूपैयाँ राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्