ए लेबल आकर्षण

काठमाडौं-एसईईको नतिजा सार्वजनिक पछि ए लेभल अध्ययन गर्न पाइँदैन कि भन्ने कतिपय विद्यार्थीमा भर्म छ । हुन त ए लेबलका लागि सबै कलेजले यसअघि नै भर्ना कार्यक्रम सुरु गरे । तर, अहिले भर्ना र कोर्स व्यवस्थापनमा नै रहेको कारण अधिकांश कलेजले पढाइ सुरु नगरेको जनाएका छन् ।
नामी कलेजका एडमिसन एन्ड मार्केटिङ प्रमुख रविन थापामगरले ए लेभलको भर्ना छिटो खुले पनि पढाइ जून र जुलाईको अन्त्यबाट मात्र हुने गरेको बताए । “हालै एसईई पूरा गरेका विद्यार्थीले भर्ना गरेर अध्ययन गर्न सक्ने गरी समय मिलाएको छ ।” उनले कारोबारसँग भने, “भर्ना प्रक्रिया लामो भएकाले यसअघि भर्ना भएका र अब भर्ना हुनेको कोर्स सुरुसँगै हुँदै छ ।”
ए लेभल क्याम्ब्रिज विश्वविद्यालयको विश्वभर अध्ययन हुने पाठ्यक्रममा आधारित भएर विद्यार्थीको ज्ञान र विषयगत दायरा फराकिलो गरी विश्व बजारको माग अनुसारका जनशक्ति तयार गर्ने गरी विकास गरिएको पछिल्लो कोर्स हो । क्याम्ब्रिजको एस र ए लेभलमा विश्वभरका १ सय ६० भन्दा बढी देशका १६ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीका लागि तयार गरिएको कोर्स हो ।
ए लेभल कोर्स विद्यार्थीले आपूm भविष्यमा के गर्ने वा बन्ने इच्छा छ, त्यहीअनुसार विषय छनोट गरी पढ्नुपर्छ । सरकारको ०७५ वैशाख २ गतेसम्मको तथ्यांकअनुसार नेपालमा काठमाडौं, पोखरा, विराटनगर, काभ्रे, धुलिखेललगायत क्षेत्रबाट ३ दर्जनभन्दा बढी कलेजले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट सम्बन्धन लिएर ए–लेभल सञ्चालन गरेका छन् । पछिल्लो समय विद्यार्थी र अभिभावक लागि आकर्षक बनिरहेको ए–लेभललाई बेलायतको क्याम्ब्रिज इन्टरनेसनल एक्ज्यामिनेसन्स (सीआईए) तथा क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिर्पिmकेट अफ एजुकेसन (जीसीई) कार्यक्रमअन्तर्गत नेपालमा ब्रिटिस काउन्सिलको सहयोगमा ए–लेभलको पढाइ हँुदै आएको छ । समय र प्रविधिसँगै परिवर्तन हुँदै गएका आधुनिक युवापुस्ता र शैक्षिक संस्थाको आवश्यकतालाई ध्यानमा राखेर ए–लेभलको पढाइ सुरु गरिएको हो ।
नेपाल सरकारले यो पाठ्यक्रमलाई प्रमाणपत्र वा प्लस टु सरहको मान्यता दिएको भएको भए पनि यसको स्तर अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो छ । विश्वमै प्रसिद्ध बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिर्फिकेट अफ एजुकेसन (जीसीई) कार्यक्रमअन्तर्गत सञ्चालन हुने एक शैक्षिक कार्यक्रम हो ए लेभल । यसलाई नेपालको शिक्षासँग तुलना गरियो भने १० जोड दुई सरह मान्न सकिन्छ । जसरी १० जोड दुईको कोर्ष २ वर्षको हुन्छ, ए लेभलको पनि त्यही नै हो ।
पाठ्यक्रम
ए लेभलको पाठ्यक्रमको उद्देश्य स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययन गर्नका लागि विभिन्न तहको अध्ययनका लागि अवसर सहज बनाउने हो । ए लेभलमा लिइने परीक्षाले विद्यार्थीलाई उच्च शिक्षाका लागि आकर्षक क्षेत्रमा जाने अवसर सहज बनाउँछ । उच्च शिक्षा अध्ययनका लागि विश्वका राम्रा विश्वविद्यालयमा अध्ययन अवसर पाउन क्याम्ब्रिजको एएस र ए लेभलको परीक्षा दिने गरेका छन् । नेपालको शिक्षा प्रणालीसँग तुलना गर्दा एस ११ र ए १२ बराबर रहेका कारण हालै एसईई दिएका विद्यार्थीको यसमा आर्कषण धेरै देखिएको छ । बेलायतका र अमेरिकाका अधिकांक्ष विश्वविद्यालयले क्याम्ब्रिजको ए लेभलको योग्यतालाई मान्यता दिन्छन ।
एएस र ए लेभल पास गरेका विद्यार्थीले उनीहरुको रुचिअनुसार विषय छनोट गर्न पाउने सुविधा छ । थुप्रै विषय मध्येबाट आफ्नो रुचिको विषय छान्दा विद्यार्थीमा विषय बुझ्ने सीपको विकास हुन्छ । ए लेभलमा लिखित परीक्षाद्वारा मूल्यांकन गरिन्छ । परीक्षाको प्रश्नपत्रमा निबन्ध, छनोटको आधारमा उत्तर लेख्ने विविधता हुन्छ । विज्ञान समूहका विषयको परीक्षा मौखिक र व्यावहारिक विधिबाट सिकाइ परीक्षण गरिन्छ ।
परीक्षा प्रणाली
ए लेभलको परीक्षा प्रणाली र ग्रेडिङ प्रणाली पनि विश्वमा एउटै मापदण्डको हुन्छ । प्रत्येक वर्ष मे र जुनमा तथा अक्टोबर र नोभेम्बरमा परीक्षा सञ्चालन भएर परिणाम अगष्ट र जनवरीमा आउने गरेको छ । पाठ्यक्रमदेखि पाठ्यसामग्रीहरू सबै विदेशबाट ल्याउनुपर्छ । परीक्षा शुल्क क्याम्ब्रिजले तोकेकै आधारमा हुन्छ । तोकिएको परीक्षा शुल्कका अतिरिक्त कलेजले आफ्नै किसिमले शुल्क लिन्छन् । कलेजले आफनो हौसियत अनुसार यसको शुल्क लिँदै आइरहेका छन् ।
ए लेभलका विशेषता
ए लेभलको राम्रो विशेषता भनेको ५ दर्जनभन्दा बढी विषय विद्यार्थीले आफ्नो रुचिअनुसार छनोट गरेर अध्ययन गर्ने विकल्प पाउँछन् । यसको पाठ्यक्रम, शिक्षण प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ प्रणाली आदि सबै क्याम्ब्रिज विश्वविद्यालयले तय गरेको हुन्छ । विश्वका जुनसुकै ठाउँमा पनि एउटै प्रणालीबाट यसको पठन–पाठन हुन्छ । विद्यार्थीले ५ दर्जन विषयमध्ये कुनै चारवटा विषयमा परीक्षा उत्तीर्ण गरेपछि ए लेभल पूरा गरेको मानिन्छ । ए लेभल पढाइको मान्यता लिन ब्रिटिस काउन्सिलमा कलेज दर्ता गरेर नेपाल सरकार शिक्षा मन्त्रालयको अनुमति प्रदान भएपछि मात्र ए लेभलको कक्षा सञ्चालन गर्न पाइन्छ । हालै मात्र सरकारले ३६ वटा कलेजलाई ए लेबलको अध्ययन अनुमति दिएको छ । ए लेभलको कोर्स सेमिनार, छलफल, प्रयोगात्मक, समूह क्रियाकलाप, प्रोजेक्ट वर्क, अनुसन्धान र समसामयिक विषयको अध्ययन अध्यापनमा आधारित हुने गरेका कारण यसलाई व्यावहारिक मानिन्छ ।
नेपालमा ए लेभल
नेपालमा विद्यालय तहमा राम्रो अंक ल्याएका विद्यार्थीले वैदेशिक अध्ययनको लक्ष्य पूरा गर्न ए लेभलको अध्ययन गर्ने गरेका छन् । नेपाल विगत केही वर्षयता विद्यार्थी तथा अभिभावकमा यस प्रति आर्कषण बढ्नुको कारण ए लेभलको विश्व मान्यता पाठ्यक्रम, व्यावहारिक तथा प्रयोगमुखी शिक्षा र राम्रा विद्यार्थीका कारण नतिजा आउनु नै हो । नेपालमा ए लेभल अध्ययन गरी राम्रो ग्रेड प्राप्त गरेका विद्यार्थीलाई क्याम्ब्रिज युर्निर्भसीटीले सम्मानसमेत गर्ने गरेको छ ।
ए लेभल बेलायती शिक्षा प्रणालीमा आधारित भएका कारण यो तह पढेका विद्यार्थीहरुले बेलायत, अमेरिका, क्यानाडा र युरोपभरिका सबै मुलुकका विश्व अध्ययनको राम्रो अवसर पाउने गरेका छन् । मेडिकल क्षेत्रमा जानका लागि फिजिक्स, केमेस्टी, बायोलोजी विषय छनोट गर्नुपर्ने बताउँछन् । इन्जिनियरिङ क्षेत्रमा जाने भए फिजिक्स, केमेस्टी र गणित पढ्नुपर्ने उनको सुझाव छ । त्यसैगरि भविष्यमा व्यवस्थापन संकाय पढ्न चाहने विद्यार्थीले अर्थशास्त्र, एकाउन्ट, विजनेस स्टडि पढ्नुपर्छ । ए–लेभल पढ्नका लागि विषयको कुनै किसिमको बाध्यात्मक व्यवस्था नभएकाले आफूलाई अनुकूल हुने गरी विषय रोज्न पाइन्छ ।
शैक्षिक प्रणाली नै व्यावहारिक र विश्व प्रतिस्पर्धी भएका कारण ए लेभलले विद्यार्थीलाई आत्मविश्वासी, जिम्मेवारी र प्रतिस्पर्दी बनाउने गरेको कलेजको दाबी छ । ए लेभल सकेपछि विद्यार्थीले आफ्नो विषयगत अध्ययनका आधारमा चिकित्सा शास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी जुनसुकै विषयमा पनि अध्ययन गर्न विश्वका जुनसुकै विश्वविद्यालयमा पाउँछन् ।
नेपालमा ए लेभल पढेपछि इन्जिनियर पढ्न पाइँदैन भन्ने भ्रम पनि कतिपयमा छ, तर त्यो सत्य होइन । ए लेभल पढेर धेरै विद्यार्थीले डाक्टर, इन्जिनियर, नर्सलगायतका प्राविधिक विषय अध्ययन गरेको पाइन्छ । लेखा, बजार शास्त्र, र अर्थशास्त्र पढ्नेले बीबीए पढ्न पाउँछ । नेपालमा धेरै विद्यार्थीले ए लेभल सकेर स्नातक तहमा आफूले चाहेको संकायमा पढिरहेका छन् । ए लेभल पढेका विद्यार्थीहरुले बेलायत, अमेरिका, क्यानाडा र युरोपका सबै मुलुकका विश्व विद्यालयको ४ वर्षे कोर्समा ३ वर्ष मात्र पढे पुग्छ । त्यसैले ए लेभल अब नेपाली विद्यार्थीका लागि विश्वमा प्रतिस्पर्धा गर्नका लागि ढोका खोलेर आएको छ ।
हालसम्म ३६ वटा कलेजले ए लेभलको अध्ययानका लागि शिक्षा मन्त्रालयबाट अनुमति लिएका छन । ए लेभल कार्यक्रम संचालन गर्ने कलेजहरुमध्ये केही कलेजहरु
- नामी कलेज
- ब्रटिस कलेज
- पाटन कलेज
- जेभियर कलेज
- क्याम्पियन कलेज
- आरियन्ट कलेज
- काठमाडौं युनिर्भसीटी हाई स्कुल
- मल्पी इन्टरनेसनल कलेज
- ट्रिनिटी इन्टरनेसनल कलेज
ए लेबलको ग्रेड निर्धारण | |
लेबल | ग्रेड |
ए | ८० देखि ८९ |
बी | ७० देखि ७९ |
सी | ६० देखि ६९ |
डी | ५० देखि ५९ |
ई | ४० देखि ४९ |
यू | अनुत्तीर्ण |